काठमाडौँ- धनुषाको वीरेन्द्र बजारमा शनिबार साँझ यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा चारजनाको मृत्यु भएको छ। घटनामा दुईजना गम्भीर घाइते भएका छन्।
विराटनगरबाट धनगढीतर्फ गुडिरहेको सु.प्र.०१-००१ ख ३२८८ नम्बरको यात्रुवाहक बसले विपरीत दिशामा गुडिरहेको प्र.२-०१-००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिएको थियो।
दुर्घटनामा जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका-१ बस्ने अन्दाजी ४० वर्षीय धनबहादुर पूर्वछाने मगर, उनकी श्रीमती ३५ वर्षीया निशा मगर, सोही ठाउँका ३५ वर्षीय शम्भु पूर्वछाने मगर र ४० वर्षीय डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
घाइते हुनेमा धनबहादुरका १४ वर्षीया छोरी सशीतल मगर र सोही ठाउँका रमेश मगरका नौ वर्षीय छोरा रोशन मगर छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनापछि घाइतेलाई उपचारका लागि जनकपुरस्थित अस्पताल पुर्याइएको थियो। चिकित्सकले चारजनालाई मृत घोषणा गरेका थिए। घाइते दुई जनाको उपचार जारी छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।



