काठमाडौँ- दुर्गम जिल्लाका चार छात्रालाई नइ कपिल विद्या पदक प्रदान गरिएको छ। डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सुमित्रा बुढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही ३० हजार रूपैयाँसहित ‘नइ कपिल विद्यापदक’ प्रदान गरिएको हो।
२०८२ सालका लागि सर्वोत्कृष्ट घोषित भएका चारै जना छात्रालाई अनलाइनबाट पुरस्कार राशि प्रदान गरिएको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए। उनका अनुसार चार जिल्लाका सरकारी स्कुलबाट कक्षा १२ का छात्रामध्ये सर्वोत्कृष्टलाई ‘नइ कपिल विद्या पदक’ प्रदान हुँदै आएको छ।
छात्राहरू डोल्पाको आदर्श स्कुल, हुम्लाको मानसरोवर स्कुल, बाजुराको जनप्रकाश स्कुल र दार्चुलाको लटीनाथ स्कुलका हुन्। नइ एकेडेमीले २०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा.कपिलदेव उपाध्यायका सम्मानमा बर्सेनि ‘नइ कपिल विद्यापदक’ प्रदान गर्दै आएको छ।





