माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क

हिमाल प्रेस ३ मंसिर २०८२ ८:१९ | Wednesday, November 19, 2025
10
SHARES
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क
मुस्ताङ- नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए। उनले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी उक्त निर्णय गरिएको बताए।
उक्त निर्णयसँगै उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकले अब १० दिनको पदयात्रा अनुमतिका लागि एकमुष्ट ५०० अमेरिकी डलर बुझाउने पर्ने बाध्यता हटेको छ। अब मुस्ताङ भ्रमण गर्ने विदेशीले माथिल्लो मुस्ताङमा जतिदिन बस्छन् त्यति दिनको मात्रै पैसा तिरे पुग्नेछ।
यसअघि माथिल्लो मुस्ताङ प्रस्थान गर्ने विदेशी पर्यटकले कम्तीमा १० दिनका लागि ५०० अमेरिकी डलर पदयात्रा शुल्क बुझाउनुपर्ने व्यवस्था थियो। माथिल्लो मुस्ताङमा १० दिनको एकमुष्ट पदयात्रा शुल्क तिरेर गएका विदेशी नागरिकहरुले १० दिन कटेपछि प्रतिदिन प्रतिव्यक्ति ५० डलर शुल्क बुझाउँदै आएका थिए।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले आफूहरुको माग माथिल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीबाटै हटाउनुपर्ने माग रहेपनि सरकारको उक्त निर्णयले आशिंक रुपमा भए पनि माग सम्बोधन भएको बताए। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले पनि सरकारको उक्त निर्णय सकारात्मक भएको बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गतको उपल्लो मुस्ताङ क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ। त्यहाँ जाने विदेशी पर्यटकका लागि पदयात्रा शुल्क महँगो भएकाले अधिकांश विदेशी पर्यटकहरु कागबेनी र मुक्तिनाथबाट फर्किने गरेका थिए। बर्सेनि झण्डै डेढ लाख विदेशी पर्यटक मुस्ताङ भित्रिदा करिब तीन वा चार प्रतिशत मात्रै विदेशी पर्यटक माथिल्लो मुस्ताङ जाने गरेका थिए। रासस
प्रकाशित: ३ मंसिर २०८२ ८:१९ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast