पहिले राष्ट्रिय निर्वाचन, अनि महाधिवेशन : महत

हिमाल प्रेस २१ कार्तिक २०८२ १८:२१
8
SHARES
पहिले राष्ट्रिय निर्वाचन, अनि महाधिवेशन : महत प्रकाशशरण महत / फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन्।

केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ।’

महतले महासमितिको बैठकमा आफूहरूको सम्पूर्ण बहस ८४ को निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा केन्द्रीत भयो अहिले केन्द्रीय समितिको छलफल विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्नेमै सीमित भएको बताए।

‘राष्ट्रिय मुद्दामा छलफल नै भएन, यो दुर्भाग्यपूर्ण हो,’ उनले भने। उनले संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको बताए।

उनले भने, ‘नवपुस्ताले गत भदौ २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेको आन्दोलन प्रति हामी सहमत छौँ। तर २४ गते भएका विध्वंशका घटनाहरुलाई उपलब्धि मान्न सकिँदैन।सिंहदरबार, सर्वोच्च, संसद, राष्ट्रपति भवनसम्म आक्रमण हुने घटना युवापुस्ताको स्वतः स्फूर्त आवेग होइन, उनीहरू केवल माध्यम मात्र थिए,’ उनले भने।

आफूमाथि पार्टीभित्रैबाट चरित्रहत्या भएको उल्लेख गर्दै महतले भने, ‘प्रतिस्पर्धा विपक्षीसँग हुनुपर्ने हो, तर हामी आफ्नैभित्र कसलाई कमजोर पार्ने, हटाउने भन्ने खेलमा लागेका छौँ।’

उनले नुवाकोटको राजनीतिक यात्राको उदाहरण दिँदै आफूलाई सामाजिक सञ्जालहरुमा विभिन्न उपमा दिएर गाली गलौज गर्नु गलत भाष्य भएको जिकिर गरे। ‘टिकट जसले पनि पाउँछ, जित्ने भए टिकटकै भरमा सबै जित्थे। चुनौतीपूर्ण क्षेत्रमा मैले मैदान बनाएको हुँ,’ उनले भने।

बीपी कोइरालालाई उद्धृत गर्दै उनले भने, ‘जब सत्यको मुख बन्द हुन्छ, झुटको थुतुनो चल्छ। आज पार्टीमा सत्य बोल्नेको मुख बन्द छ, तर झुट र आक्रमण आफ्नै विरुद्ध चर्को छ। सुशासनमा ‘जिरो टोलरेन्स’ अब नारामा होइन, व्यवहारमै लागू गर्नुपर्छ, नेपाल कुनै शक्तिराष्ट्र विरुद्ध प्रयोग हुने भूमि बन्दैन भन्न सकेनौँ, त्यो कमजोरी सच्याउनु पर्छ।’

महाधिवेशन र विशेष अधिवेशनको बहसभन्दा पार्टीको ध्यान अब राष्ट्रिय निर्वाचनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। ‘अधिवेशन अहिले कि पछि भन्ने बहसभन्दा पहिले देशलाई चुनौतिबाट निकाल्ने नेतृत्व दिनुपर्छ,’ महतले भने, ‘फागुनमा चुनाव भयो भने कांग्रेस एकढिक्का भएर जानुपर्छ भएन भने महाधिवेशनको वैकल्पिक समय–सीमा तय गरौँ।’

उनले क्रियाशील सदस्यता समयमै टुंग्याउन, वडा तहसम्म कार्यतालिका बनाउन र निर्वाचनपछि मात्रै पूर्ण महाधिवेशन गर्न सुझाव दिए।

उनले भने, ‘को सभापति बन्छ, को नेतृत्वमा आउँछ भन्ने बहसभन्दा माथि उठौँ। संकटमा पार्टी फुटाउने होइन, जोड्ने हो। विवाद सहज समयमा गर्न सकिन्छ, संकटमा होइन। कांग्रेस एक भयो भने देशलाई पनि जोगाउन सक्छ, लोकतन्त्रलाई पनि बलियो बनाउन सक्छ,’ उनले भने।

अहिले देश संकटमा भएको बेला बीपी कोइरालाले त्यो बेला भनेको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले फेरी सान्दर्भिक भएको उनले बताए।

प्रकाशित: २१ कार्तिक २०८२ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast