मेरो माटो असल कविको काव्य जस्तो भएमा!
मेरो पाटो अथक रविको साध्य जस्तो रहेमा!
मेरो हाँसो सकल छविको वाद्य जस्तो बजेमा!
मेरो नासो अमर गतिको चाल जस्तै बसेमा!!
!!१!!
बोल्दा हाम्रो जब हृदयमा चन्द्रको ज्योति खस्छ !
हेर्दा राम्रो तब अभयमा मन्त्रको भेटि बस्छ!!
खोल्दा गाथा मन नजरमा विश्वको ज्ञान पस्छ!
खोल्दा काव्य जग भुवनमा वेदका भाव बस्छ!!
!!२!!
शोभा राम्रो करुण रसको भाव जस्तो छ देश!
आभा हाम्रो सकल लयको खास राम्रो छ भेष!!
यो माटोमा मन सरल गरी ओत लागौँ सदैव!
यो पाटोमा तनमनधनले ज्ञान रोपौँ सदैव!!
!!३!!
आफ्नो प्यारो घर नगरमा, एक बाटो बनाऊँ!
रोपी राम्रो वरपिपल यो देश साँच्चै सजाऊँ!!
पौवा ,पाटी हर तरहका भेष खासै जगाऊँ!
हेर्दा राम्रा जगत भरिका देश घुम्दै रमाऊँ!!
!!४!!
राम्रो काया अब जगतको हेर हामी बनाऊँ!
हाम्रो मायाँ सब भुवनमा लौ न सारा फिजाऊँ !!
सानो ठूला सुख सयलमा बास पाई रमाऊँ!!
देख्दा सारा सब जगतका खास खाई जगाऊँ!!
!!५!!
हाम्रो धर्ती मलजल गरी लौ सजाऊँ मिलेर!
राम्रो पारी कलकल भई लौ फलाऊँ जुटेर!!
हेर्दा राम्रो प्रिय नयनमा घामको कान्ति जस्तो !!
देख्दा प्यारो प्रित वदनमा चन्द्रको शान्ति जस्तो
!!६!!




