एनपीएलमा आजको पहिलो खेल : सोमपाल नेतृत्वको कर्णाली र कुशल नेतृत्वको चितवन भिड्दै

हिमाल प्रेस २ मंसिर २०८२ ७:२४
10
SHARES
एनपीएलमा आजको पहिलो खेल : सोमपाल नेतृत्वको कर्णाली र कुशल नेतृत्वको चितवन भिड्दै

काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। मंगलबारको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन्। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रने छ भने कर्णालीको कप्तान सोमपाल कामी छन्।

पहिलो सिजनमा कर्णालीसँग दुई पटकको निर्मम हार भोगेको चितवन यसपालि बदला लिने मुडमा हुनेछ। अघिल्लो सिजनको दुवै भेटमा पराजित चितवनले यो पटक आफ्नो खेल सुधार गर्दै सकारात्मक सुरुवात गर्ने रणनीति बनाएको छ। पहिलो सिजनको लिग चरणको खेलमा कर्णालीले चितवनलाई एक बल बाँकी रहँदा ६ विकेटले रोमाञ्चक जित निकालेको थियो।

त्यसपछि एलिमिनेटर खेलमा पनि कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको थियो। यी हारले चितवनलाई प्लेअफबाट अघि बढ्न बाधा पुर्‍याएको थियो। गत सिजनमा दुवै टोलीले लिग चरणका सात खेलमध्ये चार खेलमा जित र तीन खेलमा हार भोग्दै समान आठ अंक बटुलेका थिए। नेट रनरेटको आधारमा कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेका थिए।

यो सिजन कर्णालीले सुरुवातबाटै बलियो प्रदर्शन गर्दै शीर्ष स्थानमा पुग्ने लक्ष्य राखेको छ। अनुभवी सोमपाल कामीको कप्तानीमा मैदान उत्रने कर्णालीले आफ्नो सन्तुलित टोली संरचना र अनुभवको फाइदा उठाउने योजना बनाएको छ।

चितवनले यस पटक आफ्नो टोलीमा बलियो विदेशी खेलाडी अनुबन्ध गरेको छ। इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपारा, पाकिस्तानका सोहेल तनविर, बेलायत सैफ जैव, इंग्ल्यान्डका डाविड मलान र दक्षिण अफ्रिकाका अल्पेश रमजानी चितवनका मुख्य विदेशी खेलाडी हुन्।

कुशल मल्लको कप्तानीमा मैदान उत्रने चितवनले यी अनुभवी विदेशी खेलाडीबाट निर्णायक योगदान आउने विश्वास राखेको छ। टोलीले ब्याटिङ र बलिङ दुवै विभागमा गहिराइ ल्याउने प्रयास गरेको देखिन्छ।

अर्कोतर्फ, गत सिजन भारतका अनुभवी ओपनर शिखर धवनलाई भित्र्याएर चर्चा बटुलेको कर्णालीले यस पटक पनि प्रभावशाली विदेशी खेलाडी अनुबन्ध गरेको छ। अष्ट्रेलियाका विलियम बसिस्टो, स्कटल्यान्डका मार्क वाट, आयरल्यान्डका म्याक्स ओ डाउड, अफगानिस्तानका नजिबुल्लाह जड्रान, भारतका प्रियांक पञ्चाल र दक्षिण अफ्रिकाका जयकिशन कोल्सावाला कर्णालीका प्रमुख विदेशी खेलाडी हुन्।

कर्णाली याक्स सोमपाल कामीको नेतृत्व र अनुभवले टोलीलाई दबाबमा पनि राम्रो निर्णय लिन मद्दत गर्नेछ। विविध विदेशी खेलाडीको उपस्थितिले टोलीलाई सन्तुलन प्रदान गरेको छ। विशेष गरी बलिङमा बलियो देखिएको कर्णालीले मैदानको परिस्थिति अनुसार आफ्नो रणनीति बनाउन सक्ने देखिन्छ।

चितवन राइनोज कुशल मल्लको युवा नेतृत्व र अनुभवी विदेशी खेलाडीको संयोजनले चितवनलाई आक्रामक क्रिकेट खेल्न मद्दत गर्नेछ। बोपारा र मलानको अनुभवले टोलीको ब्याटिङलाई बलियो बनाएको छ। यदि सुरुवाती खेलाडीले राम्रो सुरुवात दिए चितवनले ठूलो स्कोर खडा गर्न सक्छ।

आजै हुने दोस्रो खेलमा भने विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्। विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो भने पोखाराका कप्तान कुशल भुर्तेल हुन्। यो खेल दिउँसो ४ बजे सुरु हुनेछ। सोमबार भएको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको छ।

एनपीएल मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदैछन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्रकाशित: २ मंसिर २०८२ ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast