फाइल तस्बिर।
रुपन्देही- हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता र संघर्ष छ। गहुँको बीउ छर्न मल अभावले किसान चिन्तित छन्। अर्कोतर्फ बेमौसमी वर्षाका कारण पानीमा डुबेर नष्ट भएको धानबाली निकाल्नै कठिन छ। कृषि पेसामा आत्मनिर्भर बन्ने सपना बोकेका किसानको दैनिकी भागदौड, चिन्ता र निराशाले भरिएको छ।
अहिले धानबाली भित्र्याउने बेला हिउँदे बाली लगाउन किसान चटारोमा छन्। कोही मल नपाएर बीउ खेतमा छर्न सकिरहेका छैनन् भने कोही धानबाली नै निकाल्न नसकेर चिन्तित छन्। कृषि कर्मको प्राण नै मलबीउ भएको ठान्ने किसानका लागि यतिबेला सबैभन्दा ठूलो चुनौती मलबीउ नै भइरहेको छ।
रुपन्देहीको मर्चवारी गाउँपालिका-२ का सुमेर यादव यतिबेला गहुँ र दलहनको खेती तयारीमै व्यस्त छन्। तर, मलबीउ ल्याउन नपाए खेतीपाती नै अधुरो हुने उनलाई चिन्ता छ। यादव भन्छन्,‘सरकारले समयमा पर्याप्त मलबीउ उपलब्ध गराउन सकेको छैन। मलका लागि छिमेकी मुलुक भारतकै भर पर्नुपर्छ। कहिले मल सहजै ल्याउन पाइन्छ। तर, बेलाबखत सुरक्षाकर्मीको गाली खानुपर्छ। किसान भएकै कारण हामीलाई धेरै पीडा सहनुपरेको छ।’
कोटहीमाई गाउँपालिका-७ का दिनेश लोधको समस्या पनि उस्तै छ। सहकारी संस्थामा मल आएको खबर सुन्नासाथ बिहान सबेरै दौडनु, लाइनमा बस्नु र नपाए फर्केर फेरि भारतीय बजार धाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘सहकारीमा बिहानै लाइन बसिएन भने मल पाइँदैन। त्यहाँ नपाए सीमावर्ती भारतीय बजार धाउनुपर्छ’, उनले भने, ‘मल बिना खेती गर्न सकिन्न।’
सम्मरीमाई गाउँपालिका-७ का साहुल हरिजनको पीडा भने भिन्न छ। बेमौसमी वर्षाले डुबानमा परेको खेतबाट धानबाली निकाल्न चुनौती रहेको उनी बताउँछन्। हरिजनका अनुसार पानीको उचित निकास नहुँदा धेरैजसो धानबाली खेतमै नष्ट भइसकेको छ। बचेका बोटबिरुवा उठाएर सुकाउने काममै उनी व्यस्त छन्। ‘हाम्रो खेतमा बर्सेनि पानी जमेर बाली नष्ट हुन्छ। कुलोनाला व्यवस्था भए हामी जोगिन सक्थ्यौँ। किसानको पीडा बुझ्ने समय कहिले आउँला?’ उनले प्रश्न गरे।
यी समस्या केवल रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको मात्र होइनन्, तराईमधेशका किसान बर्सेनि मलबीउको अभाव, उचित बजार मूल्य नपाउनु, मल पाउन सास्ती र बेमौसमी वर्षाबाट धानबालीमा क्षतिलगायतका समस्या झेलिरहेका छन्।
खेतमा पसिनै बगाएर आफ्नो र परिवारको गुजारा चलाउने आफूहरुको पीडा कसैले गम्भीर रूपमा नलिएसम्म कृषिबाट समृद्धिको सपना केवल कागजमै सीमित हुने किसान बताउँछन्। कोटहीमाई गाउँपालिकामा रहेका १८ सहकारीमार्फत मल वितरण भइरहे पनि किसानले आफ्नो आवश्यकताअनुसार भने पाउन सकेका छैनन्।
रुपन्देहीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रादेशिक कार्यालय भैरहवामार्फत मल वितरण भइरहेका छ। तर मागअनुसार र समयमा मल नपाउँदा किसान मर्कामा पर्दै आएका छन्।


