एलन मस्कको स्टारलिंकले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

हिमाल प्रेस २० कार्तिक २०८२ १७:२९
8
SHARES
एलन मस्कको स्टारलिंकले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

काठमाडौँ- विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिंक इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ। वित्तीय राजधानी मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले घोषणा गरेका छन्।

स्टारलिंकले कम–कक्षीय उपग्रहहरू (लो–अर्थ अर्बिट स्याटेलाइट्स) मार्फत दुर्गम तथा पहुँचविहीन क्षेत्रमा उच्च–गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। यो प्रक्षेपणले भारतमा मूल्य प्रतिस्पर्धा, स्पेक्ट्रम वितरण र बजार नीतिहरू सम्बन्धी गम्भीर बहसलाई पुनः ताजा बनाएको छ।

भारतमा यस वर्षको अन्त्यसम्म ९० करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता हुने अनुमान छ। यही पृष्ठभूमिमा सरकारले जुन महिनामा स्टारलिंकलाई देशमा सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरेको थियो।

‘महाराष्ट्र स्टारलिंकसँग औपचारिक रूपमा सहकार्य गर्ने पहिलो भारतीय राज्य बन्ने तयारीमा छ,’ महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नाविसले मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘यो सहकार्यले भारतलाई स्याटेलाइट–सक्षम डिजिटल पूर्वाधारमा अग्रणी बनाउनेछ।’

यसअघि भारतका सबैभन्दा ठूला दूरसञ्चार कम्पनीहरू जियो प्लेटफर्म्स र यसको प्रतिस्पर्धी भारती एयरटेलले समेत आफ्ना ग्राहकहरूलाई स्टारलिंक इन्टरनेट उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गर्ने योजना सार्वजनिक गरेका थिए।

स्टारलिंककी व्यापार सञ्चालन उपाध्यक्ष लरेन ड्रेयरले भारतको डिजिटल दृष्टिकोणलाई समर्थन गर्न पाउँदा आफू ‘अत्यन्त उत्साहित’ भएको बताउँदै भनिन्, ‘स्टारलिंकले अन्तिम स्वीकृति प्राप्त गरेपछि हामी भारतका सबैभन्दा दुर्गम तथा असम्बन्धित क्षेत्रहरूमा विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक सेवाहरूलाई इन्टरनेटसँग जोड्नेछौँ।’

अहिले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतमा प्रमुख प्रविधि कम्पनीहरू तीव्र रूपमा आफ्नो व्यवसाय विस्तार गर्नतिर लागिरहेका छन्। अक्टोबर महिनामा गुगलले आगामी पाँच वर्षभित्र भारतमा १५ अर्ब डलर लगानी गरी देशकै सबैभन्दा ठूलो एआई हब र डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको थियो।

त्यस्तै, अमेरिकी प्रविधि कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले भारतमा आफ्ना कार्यालय खोल्ने तयारी गरिरहेका छन् भने पप्लेर्क्सिटीले जुलाईमा भारतीय दूरसञ्चार कम्पनी एयरटेलसँग ठूलो रणनीतिक साझेदारीको घोषणा गरेको थियो।

भारतको डिजिटल रूपान्तरणमा अब स्टारलि‌ंकको प्रवेशले ग्रामीण र दुर्गम क्षेत्रका लाखौँ नागरिकलाई इन्टरनेट पहुँच दिलाउने नयाँ अध्याय सुरू गर्ने अपेक्षा गरिएको छ।-रासस/एएफपी

प्रकाशित: २० कार्तिक २०८२ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast