अठारौँ पटक विज्ञापन, पाइएन गणित विषय शिक्षक

हिमाल प्रेस २३ कार्तिक २०८२ १३:१९ | Sunday, November 9, 2025
42
SHARES
अठारौँ पटक विज्ञापन, पाइएन गणित विषय शिक्षक

कालिकोट- नरहरिनाथ गाउँपालिका-५ उच्छव माल्कोटस्थित रुपादेवी माध्यमिक विद्यालयले गणित विषय शिक्षकको लागि अठारौँ पटक विज्ञापन गरेको छ। विद्यालयले संघीय अनुदान कोटाअन्तर्गत एक जना गणित शिक्षक आवश्यक रहेको जनाएको हो।

विद्यालय व्यवस्थापन समितिको यही कात्तिक २१ गतेको निर्णय र नरहरिनाथ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुमति अनुसार शिक्षक माग गरिएको हो। विद्यालयले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई विज्ञापन प्रकाशित भएको मितिदेखि सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

विज्ञापनअनुसार उम्मेदवारले गणित विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। उम्मेदवारको उमेर आवेदन दिने मितिसम्ममा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्छ। आवेदन शुल्क दुई हजार रुपैयाँ तोकिएको छ।

विद्यालयले लिखित, मौखिक वा प्रयोगात्मक परीक्षा माध्यमबाट छनोट प्रक्रिया गर्ने जनाएको छ। अन्तिम आवेदन दिने मिति कात्तिक २७ गते कार्यालय समयभित्र तोकिएको छ।

आवेदनका साथ नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र अध्यापन अनुमतिपत्रको प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्नेछ। चयन भएका शिक्षकले नेपाल सरकारको नियमअनुसार तलब पाउने विद्यालयले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०८२ १३:१९ | Sunday, November 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast