ओलीको आलोचना गर्दा निसानामा परे द्वारिकालाल

‘सत्य कुरा तितो हुन्छ, नेतृत्वकै हितमा कुरा गरे पनि नबुझेजस्तो गरिन्छ’

विवेक विवश रेग्मी ४ मंसिर २०८२ २१:४४
30
SHARES
ओलीको आलोचना गर्दा निसानामा परे द्वारिकालाल

इटहरी- नेकपा (एमाले) कोशी प्रदेश कमिटीबाट अनुशासन उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरीले आफू निर्णायक तहको निर्णयप्रति आशावादी रहेको बताएका छन्। कारबाहीपछि प्रतिक्रिया दिँदै चौधरीले पार्टीभित्र गुटबन्धन र दुराग्रहका कारण आफूलाई निसाना बनाइएको गुनासो गरे।

उनले भने, ‘मैले केपी ओलीको कार्यशैलीको आलोचना गर्दै आएको थिएँ। पार्टीभित्र गुटबन्दी छ, त्यो छर्लंग छ। महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि छान्ने, नेतृत्व छान्ने अधिकार कैद गर्न ममाथि दुराग्रह राखियो।’

पार्टी कोशी प्रदेश कमिटीको नवौँ पूर्ण बैठकले चौधरीलाई ६ महिनाका लागि पार्टी सदस्यता निलम्बन गर्दै जिम्मेवारीबाटसमेत मुक्त गरेको थियो। यसअघि चौधरीले सामाजिक सञ्जाल र मिडियामा ओलीविरूद्ध टिप्पणी गरेका थिए। कारबाही प्रक्रियालाई नियोजित देखिने बताउँदै चौधरीले हिमालप्रेससँग भने, ‘यत्रो समयसम्म कारबाही नगर्ने, तर महाधिवेशनको पूर्वसन्ध्यामा कारबाही गरिनुले महाधिवेशनमा वञ्चित गर्न खोजेको स्पष्ट छ। महाधिवेशन प्रक्रियामा सामेल हुनै नदिने माहोल बनाइयो, तिथिमिति तोकिसकिएको अवस्थामा यस्तो गर्नु ठीक भएन।’

चौधरीले आफूले कहिलेकाहीँ राम्रो सल्लाह दिन खोज्दा पनि त्यसलाई गलत अर्थ्याइने  गरेको गुनासो गरे। ‘सत्य कुरा तितो हुन्छ। पार्टी नेतृत्वकै हितमा कुरा गरे पनि नबुझेजस्तो गरिन्छ,’ उनले भने।

प्रदेश कमिटीले कारबाही गरे पनि केन्द्रीय कमिटीको अनुशासन समितिले सिफारिस नगरिएकाले कारबाही फिर्ता हुने उनको विश्वास छ। ‘मलाई विश्वास छ, नेतृत्वले कारबाही फिर्ता लिन्छ। यस्तो निर्णय माथिल्लो कमिटीको पनि अनुशासन समितिले अनुमोदन गर्नुपर्छ, त्यसैले अन्तिममा न्याय हुने अपेक्षा छ,’ उनले भने।

आफूमाथि पूर्वाग्रह राखिएको र केही सीमित व्यक्तिको स्वार्थसिद्ध आफूले काम नगरेकोमा कारबाहीको डन्डा सोझ्याइएकोमा उनको आपत्ति छ। ‘मैले केपी ओलीको कार्यशैलीको आलोचना गर्दै आएको थिएँ। अब महाधिवेशन आयो, प्रतिनिधि छान्ने, केन्द्रीय कमिटी छान्ने अधिकार राख्छ भनेर दुराग्रह राखियो,’ चौधरीले भने।

एमालेबाट मेयर निर्वाचित भएपछि विवादकै घेरामा सीमित

०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित चौधरीको कार्यकाल विवादकै घेरामा सीमित भयो। मेयर भएकाल बेला उनले पत्रकारलाई पटकपटक दुर्व्यवहार गर्ने, सेवाग्राहीलाई कार्यकक्षमै थुन्ने, कार्यकक्षमै महिलामाथि अभद्र बोल्ने, निजी जग्गा प्लटिङ गर्न उपमहानगरको जेसीबी प्रयोग गर्ने, अरूकै निजी जग्गा हडपेको जस्ता आरोप खेपे।

मिडियामार्फत चर्चामा पुगेका उनको चर्चा धेरैबेर टिकिरहेन। उनी कहिले आफ्नै बोलीका कारण त कहिले सामाजिक सञ्जालमा ‘तुच्छ शब्द’ प्रयोग गर्दै स्टाटस लेखेका कारण विवादित बने। विवादको घेराबन्दीमै कार्यकाल सकाएका चौधरी २०७९ को चुनावमा पनि उपमहानगरको मेयरमा उम्मेदवार बन्न चाहन्थे।  एमालेले यामकुमार सुब्बालाई टिकट दिएपछि उनी एमाले नेतृत्वसँग असन्तुष्ट थिए।

एमाले सुनसरीको अध्यक्षसमेत भइसकेका चौधरी यसअघि रेवतीरमण भण्डारीसँग अध्यक्षमै प्रतिस्पर्धा गरेका थिए। पराजित बनेपछि उनी भण्डारी समूहसँग दूरी बढाउँदै एमालेबाटै अलग भए। त्यसपछि उनी माओवादी केन्द्र प्रवेश गर्दै ०७९ सालको प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. २ (क) बाट उम्मेदवार बने। माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनलाई कांग्रेसको पनि साथ (गठबन्धनका कारण) थियो।

एमालेका उम्मेदवार उनै भण्डारीसँग चौधरी पराजित बने। चौधरी समुदायको बलियो साथ रहे पनि उनी पराजित बनेपछि गुमनामजस्तै बने। ०७९ असोजमा माओवादी प्रवेश गरी मंसिरमा भएको निर्वाचनमा होमिएका उनले ओलीप्रति लक्षित गर्दै भनेका थिए, ‘ओलीजी एक डुब्न लागेका मनुवा हुन्, जब कोही तलाउमा डुब्न लाग्छन्, उसलाई त्यान्द्रोको पनि सहारा चाहिन्छ, ओलीजी त्यान्द्रो समातेर हामीसँग प्रतिस्पर्धामा आउँछन्।’

एमालेबाट अलग भएर माओवादी केन्द्रमा प्रवेश गरी चुनाव लडे पनि पराजित बनेयता उनी सार्वजनिक कार्यक्रम र मिडियामा देखिएका थिएनन्। उनको सामाजिक सञ्जाल सक्रियतासमेत शून्यजस्तै बनेको थियो।

करिब नौ महिनापछि उनी पुनः एमालेमै फर्किए। ०८० असोजमा पार्टी अध्यक्ष ओलीलाई भेट्न उनी बालकोट पुगेका थिए। त्यसबेला ओलीसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै आफू पुनः एमालेमै फर्किएको जानकारी दिएका थिए। चौधरी एमालेमा फर्किएपछि सुनसरी एमालेमा अर्थपूर्ण रुपमा हेरिएको थियो। त्यससँगै ०८१ भदौमा चौधरीसहित विभिन्न पार्टीबाट एमालेमा आएका १४ जनालाई एमाले कोशी प्रदेश सदस्य मनोनीत गरिएको थियो।

यस्तो छ चौधरीको राजनीतिक यात्रा

वि.सं. २०२४ मंसिर १४ गते जन्मिएका चौधरीले विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा होमिएका हुन्। वि.सं. २०४१ देखि ४३ सालसम्म हात्तीसार क्याम्पस धरानबाट अनेरास्ववियुमा आबद्ध उनी २०४५ देखि सक्रिय राजनीतिमा संलग्न भएका हुन्।

२०४७ सालमा तत्कालीन मालेबाट पार्टी सदस्यता लिएका उनी २०४९ सालमा तत्कालीन हाँसपोसा गाविसको अध्यक्षमा निर्वाचित भए। हाल हाँसपोसासहितका गाविस गाभिएर इटहरी उपमहानगरपालिका भएको हो।

यसैगरी २०५० मा पार्टीको इलाका कमिटीको सहसचिवमा निर्वाचित भएका चौधरी २०५४ मा पुनः हाँसपोसा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।

२०५४ मा पार्टीको जिल्ला कमिटी सदस्यमा निर्वाचित चौधरी २०६४ सालको संविधाससभा चुनावमा समानुपातिक उम्मेदवार थिए। २०६५ सालमा नेकपा एमाले जिल्ला कमिटीको सुनसरी ५औँ अधिवेशनबाट सचिवमा निर्वाचित चौधरी २०६९ सालमा नेकपा एमाले जिल्ला कमिटीको सुनसरी छैटौँ अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भए भने २०७३ सालमा जिल्ला परिषद्को भेलाबाट नेकपा एमाले जिल्ला कमिटी सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए।

चार दशकको राजनीतिक यात्रामा निरन्तर उतारचढाव भोगेका चौधरी हाल फेरि एकपटक पार्टी कारबाहीको केन्द्रमा परेका छन्। पेसागत धैर्य, संगठनभित्रको प्रभाव र जनसम्पर्क क्षमताका कारण उनी समयसमयमा उभिन सफल भए पनि विवादास्पद निर्णय, कठोर अभिव्यक्ति र व्यक्तिगत व्यवहारकै कारण उनी राजनीतिक रूपमा कमजोर बिन्दुसम्म पुगेको देखिन्छ।

एकातिर उनले कारबाहीलाई गुटगत स्वार्थ र दुराग्रहको परिणाम भनिरहेका छन् भने अर्कोतिर पार्टीभित्रकै केही नेताहरू उनलाई अस्थिर राजनीतिक चरित्रको रूपमा हेर्छन्। महाधिवेशन नजिकिँदै गर्दा आएको यो कदमले चौधरीको भविष्यको राजनीतिक भूमिका कता मोडिन्छ भन्ने प्रश्न उठेको छ।

नेतृत्वले कारबाही फिर्ता लिने आशा व्यक्त गरे पनि एमालेभित्रको शक्ति सन्तुलन, गुटगत समीकरण र चौधरीप्रतिको आन्तरिक धारणा हेर्दा उनी फेरि संगठनको निर्णय–निर्माण तहमा पुग्ने कि राजनीतिक रूपमा अझै किनारामै सीमित रहने भन्ने बहस अब पार्टीभित्र र बाहिर दुवैमा चर्किने सम्भावना रहेको जानकारहरू बताउँछन्।

प्रकाशित: ४ मंसिर २०८२ २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast