सिकागोस्थित ओहेर अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनलतर्फ गइरहेको अमेरिकी एयरलाइन्सको विमान। तस्बिर : एपी/रासस
काठमाडौँ- अमेरिकाका ठूला तीनवटा विमान कम्पनीहरूले सयौँ उडान रद्द गरेका छन्। संघीय विमान नियामक निकायले सरकारी बन्द (गभर्मेन्ट सटडाउन) का कारण कर्मचारी अभाव भएपछि देशका दर्जनौँ विमानस्थलमा उडान कटौती गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युनाइटेड एयरलाइन्सले शुक्रबार, शनिबार र आइतबार मिलाएर करिब ४ प्रतिशत उडान रद्द गर्नेछ। शुक्रबारका लागि करिब २०० भन्दा कम उडान पर्ने एयरलाइन्सले जनाएको छ।
अमेरिकन एयरलाइन्सले पनि शुक्रबारदेखि सोमबारसम्म दैनिक करिब २२० उडान रद्द गर्ने जनाएको छ। यो उसको कुल उडानको झण्डै ४ प्रतिशत हो।
डेल्टा एयरलाइन्सले शुक्रबार करिब १७० उडान रद्द गरेको छ। अमेरिकाको पाँचौँ ठूलो विमान सेवा प्रदायक अलास्का एयरले शुक्रबारदेखि सीमित संख्यामा उडान रद्द गर्न थालेको जनाएको छ।
अमेरिकी नियामक निकायले न्युयोर्क, लस एन्जेलस, वासिङ्टन, डलास/फोर्ट वर्थ, मियामी र सियाटलजस्ता सहरका विमानस्थलमा क्षमताको सीमा तोक्ने घोषणा गर्यो, ताकि एयर ट्राफिक कन्ट्रोलरहरूको कामको बोझ घटाउन सकियोस्।
संघीय विमान प्रशासन (एफएए) का अनुसार अन्तर्राष्ट्रिय उडान भने कटौतीबाट प्रभावित हुने छैनन्। यसको असर घरेलु हवाई यात्रामा पर्नेछ।
उडान कटौती चरणबद्ध रूपमा लागू हुनेछ एफएएले उल्लेख गरेको छ। पहिलो चरणमा नोभेम्बर ७ देखि ४ प्रतिशत कटौती हुनेछ र नोभेम्बर १४ सम्म पुग्दा १० प्रतिशतमा पुर्याइनेछ।
यी कटौतीलाई सरकारी बन्दको प्रत्यक्ष प्रभावले विमान सेवामा ल्याएको पहिलो ठूलो व्यवधान मानिएको छ।
परिवहन सचिव सीन डफीले सरकारी बन्द हुनुअघि नै एयर ट्राफिक कन्ट्रोल उद्योगमा करिब दुई हजार जना कर्मचारी अभाव थियो। अक्टोबरको सुरुदेखि सुरु भएको इतिहासकै लामो सरकारी बन्दका कारण हजारौँ संघीय कर्मचारीहरू नोकरीबाट बर्खास्त भएका छन्।
डफीका अनुसार केही एयर ट्राफिक कन्ट्रोलरहरू काममा उपस्थित हुन छोडेका छन्। उनीहरू घरायसी खर्च चलाउन अतिरिक्त काम गरिरहेका छन्। सरकारी बन्द थ्याङ्क्सगिभिङ् बिदा र यात्राको चापसम्म लम्बियो भने विमान कम्पनीमा वित्तीय असर झनै बढ्ने चेतावनी दिइएको छ।



