महाधिवेशनको मिति तोक्न कांग्रेसमा विवाद कायमै

हिमाल प्रेस २६ कार्तिक २०८२ १९:०८
28
SHARES
महाधिवेशनको मिति तोक्न कांग्रेसमा विवाद कायमै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने विषयमा बहस जारी छ।

असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक विशेष महाधिवेशन, नियमित महाधिवेशनका साथै चुनावअघि वा चुनावपछि भन्नेमा केन्द्रित छ। पछिल्लो समय विशेष महाधिवेशन ओझेलमा पर्दै गए पनि चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने विषयमा कांग्रेसभित्र चर्को विवाद देखिएको छ।

महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्तुत गर्दा सहमहामन्त्री महेन्द्र यादवले बैठकमा ‘काउन्टर’ प्रस्ताव प्रस्तुत गरेका छन्। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा महाधिवेशन सम्पन्न गर्नुपर्ने कार्यतालिका सहमहामन्त्री यादवको छ।

संस्थापननिकट सहमहामन्त्री यादवले महामन्त्री थापालाई ‘काउन्टर’ दिने गरी प्रस्ताव ल्याएपछि कांग्रेसभित्र झनै विवाद चुलिएको छ। यी प्रस्तावमा नेताहरूबीच ध्रुवीकरण बढिरहँदा संस्थापन तथा इतर समूहकै नेताहरू विभिन्न समूहमा बाँडिएका छन्।

बुधबार बसेको बैठकमा संस्थापननिकट नेता विजय गच्छदार चुनावअघि महाधिवेशन सम्पन्न गर्नुपर्ने राय प्रस्तुत गरे। उनले पुस मसान्तसम्म नियमित महाधिवेशन गर्न सकिने उल्लेख गरे। कांग्रेसका ‘सात भाइ’ नेताहरूले चुनावअघि महाधिवेशन गर्न नहुने पक्षमा रहेको बेला त्यसमध्येका एक गच्छदार भने पुसमा नियमित महाधिवेशन गर्न सकिने उल्लेख गरेका छन्।

उनले विशेष महाधिवेशनतर्फ नगएर पुसमा नियमित महाधिवेशन गर्नुपर्ने विकल्प अघि सारेका छन्। उनले सहमतिमा महाधिवेशनको कार्यतालिका ल्याउन सुझाव दिए।

संस्थापनिकट कतिपय नेताहरू सहमहामन्त्री यादवको प्रस्तावप्रति समर्थन जनाउँदै प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशनमा जानुपर्ने पक्षमा जानुपर्ने धारणा राखेका छन्। चुनावको मिति घोषणा भइसकेकाले सम्पूर्ण कांग्रेस एकजुट भएर तयारीमा जुट्नुपर्ने संस्थापननिकट नेताहरूको भनाइ छ। मंसिरमै महाधिवेशन गर्नेगरी महामन्त्री थापाले प्रस्तुत गरेको प्रस्तावअनुसार अगाडि बढ्दा चुनावमा अन्तर्घात हुनसक्ने बुझाइ संस्थापननिकट नेताहरूको छ।

अर्कोतर्फ जेनजी आन्दोलनको भावनालाई समेट्नुपर्ने भन्दै इतरपक्ष नयाँ नेतृत्वका साथ चुनावमा जानु उपयुक्त भएको भन्दै मंसिरमै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ। महामन्त्रीलगायत इतर समूहको यो अडानलाई संस्थापन पक्षका कतिपय नेताले फागुनमा हुने चुनावमा टिकट बाँड्ने उद्देश्यको रुपमा अथ्र्याएका छन्।

महाधिवेशनको मिति तोक्ने विषयमा विवाद उत्पन्न भए पनि हालसम्म सहमतिको प्रयास नभएको नेताहरूको भनाइ छ। ‘केन्द्रीय सदस्यहरू बाँडिनु भएको छ। शीर्ष नेताहरूको पनि आ–आफ्नै तर्कहरू छन्। सहमतिमै महाधिवेशनको मिति तोक्न प्रयास भएको देखेको छैन,’ एक केन्द्रीय सदस्यले भने।

यद्यपि बैठकमा विवाद देखिए पनि मध्यमार्गी उपाय निकालेर भए पनि सहमतिमा महाधिवेशनको मिति तोक्नुपर्ने उनको भनाइ छ। महाधिवेशनको कार्यतालिका तोक्ने विवादमै अल्झिएको कांग्रेस राष्ट्रिय राजनीतिका साथै चुनावको माहोल बनाउनतर्फ चुकिरहेको कांग्रेस नेताहरूकै भनाइ छ। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा चुनावको मिति घोषणा भइसकेको अवस्थामा दलहरूसँग संवाद गर्न कांग्रेसले ढिलाइ गरिरहेको स्वीकार गर्छन्।

‘लोकतान्त्रिक पार्टी भएको नाताले चुनावको वातावरण बनाउन अन्य दलहरूसँग संवाद गर्न पक्कै पनि ढिलाइ भएको छ,’ उनी भन्छन्,‘चाँडै केन्द्रीय समिति बैठक टुंग्याएर कांग्रेस अब त्यसतर्फ केन्द्रित हुन्छ।’
बुधबारको बैठक पनि महाधिवेशन कार्यतालिकाकै विषयमा केन्द्रित रह्यो। बैठकम केन्द्रीय सदस्यहरूले महाधिवेशन कार्यतालिकाको विषयमा राय राखेको केन्द्रीय सदस्य मोहनबाहदु बस्नेतले जानकारी दिए।

उनले जेनजी आन्दोलनपछिको परिस्थिति, निर्वाचनको विषयका साथै नियमित वा विशेष महाधिवेशन भन्ने बिषयमा छलफल भएको उनले बताए।

उनले कांग्रेस लोकतान्त्रीक दल भएकाले सवै विषयमा सदस्यहरुले खुलस्त रुपमा चासो राखेको भन्दै देशको प्राथमिकताका आधारमा पार्टीले एकमत भएर निर्णय गर्ने दाबी गरे।
असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ ।

प्रकाशित: २६ कार्तिक २०८२ १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast