काठमाडौँ– जेनजी आन्दोलनपछि सत्ता गुमाएका र जनमतमा धक्का खाएका वामपन्थी दलहरू आन्तरिक असन्तोष र विभाजनको संघारमा पुगेका छन्। एकता प्रक्रिया अघि बढाउँदै गरेका वाम दलभित्र असहमतिका स्वर चर्किंदै गएको छ। सोही कारण प्रमुख कम्युनिस्ट पार्टीहरूमा पुनर्संरचना र पुनर्विभाजनको संकेत देखिएको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भित्र असन्तुष्टि सतहमा आएको छ भने यसको छाया नेकपा (एमाले) सम्म पुग्ने निश्चित छ।
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच वाम एकताको तयारी भइरहेका बेला माओवादीका उपमहासचिव जनार्दन शर्माले असहमति प्रकट गर्दै बैठक नै बहिष्कार गरेपछि आन्तरिक विवाद सतहमा आएको हो। माओवादी उपमहासचिव जनार्दन शर्मा निकट समूह नेकपा एकीकृत समाजवादीसँग एकता गर्न नहुने पक्षमा छ। शर्माले पार्टी बैठकमा एकताको निर्णय घातक हुने बताएका छन्। पार्टीमा माओवादी नाम छाड्न नहुने अडान उनको छ। माओवादी नामबाटै गरिएको आन्दोलनका कारण २०५२ सालयता राजनीतिक उपलब्धि हासिल भएकाले पार्टीको पहिचान गुमाउन नहुने उनको धारणा छ।
माओवादी र एकीकृत समाजवादीले भने माओवादी नाम नराखीकन नयाँ दल दर्ता गर्ने भएका छन्। एकीकृत समाजवादीका नेता ताज मोहम्मद मियाका अनुसार नयाँ पार्टीको नाम नेकपा समाजवादी हुनेछ। चुनाव चिह्न तारा रहने विषयमा सहमति भएको उनले बताए। एकतापछि पार्टीको अध्यक्ष (संयोजक) प्रचण्ड र सहअध्यक्ष माधवकुमार नेपाल बन्ने नेताहरू बताउँछन्। ‘सचिवालय सानो बन्छ। सबै पार्टी मिलाएर बनाउने प्रयत्न गरिनेछ’, समाजवादीका अर्का एक नेताले भने।
उपमहासचिव शर्मा माओवादी-समाजवादी एकतामा असन्तुष्ट छन्। उनले एकतामा आफू संलग्न नहुने बताएका छन्। उनी निकट एक नेताका अनुसार समाजवादीसँग एकता भए जनार्दन छुट्टै पार्टी बनाउने तयारीमा छन्।
माओवादी महाधिवेशन छिट्टै हुनुपर्ने उनको माग छ। माओवादीले मंसिर अन्त्यमा महाधिवेशन गर्ने भनेर पार्टीका सबै कमिटी भंग गरी महाधिवेशन आयोजक समिति गठन गरेको छ। अब एकतापछि तत्काल महाधिवेशनको सम्भावना छैन। माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अब मंसिरमा महाधिवेशन नहुने संकेत गरे। उनले भने, ‘एकता नहुँदा मंसिर अन्त्यमा हुने भनिएको थियो। अब नयाँ मिति तय हुन्छ।’
उपमहासचिव शर्मा अन्य दलसँग एकता गर्न नहुने पक्षमा छन्। एकता भएमा महाधिवेशन धकेलिने र अध्यक्षमा प्रतिस्पर्धा गर्ने आफ्नो आकांक्षा तत्काल पूरा नहुने चिन्ता उनको छ। शर्माले शनिबार बैठकपछि भने, ‘एकता प्रक्रिया तत्काल स्थगित गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अगाडि बढ्न सबै कमरेडलाई गम्भीरतापूर्वक आह्वान गर्छु।’ शर्माको गतिविधिप्रति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट छन्।
शनिबारको बैठकमा आफ्ना धारणा राखेपछि शर्मा बीचमै हिँडेका थिए। त्यसप्रति संयोजक प्रचण्डले आपत्ति जनाएका छन्। प्रचण्डले शनिबारको बैठकपछि भने, ‘उहाँले आफ्नो विचार राख्नुभयो र त्यसपछि उठेर हिँड्नुभयो। त्यो राम्रो शैली होइन, कसैलाई मन पर्ने शैली पनि होइन। बसेर छलफल गर्नुपर्छ।’ पार्टीले माओवाद छोड्दैछ र महाधिवेशन टार्न खोज्दैछ भन्ने आरोपलाई संयोजक प्रचण्डले अराजक र निराधार भन्दै खारेज गरेका छन्।
शर्माको प्रस्तावले पार्टी विभाजन नहुने प्रचण्डको जिकिर छ। आफ्नो प्रस्तावविपरीत एकता भएमा शर्मा पार्टी पुनर्गठनको तयारीमा लाग्न सक्ने माओवादीका नेताहरूले बताएका छन्।
नेताहरूका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विद्रोह गरेको चिरण सीसँग समूहबीच एकताको तयारी छ।
एकताको विषयले सबैभन्दा बढी संकटमा छ एकीकृत समाजवादी। माओवादीसँग एकताको कुराले समाजवादी चिराचिरा पर्ने सम्भावना छ। माधव नेपाल माओवादीसँग एकता गर्ने पक्षमा उभिएका छन्।
यसअघिको समाजवादीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य थपेर नेपालले आफ्नो पक्षमा बहुमत जुटाउँदै एकताको पक्षमा उभिए। समाजवादीले एकताको निर्णय गर्यो। सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल माओवादीसँग पार्टी एकता गर्न नहुने पक्षमा छन्। खनाल-भुसाल समूह नयाँ रणनीति बनाउने क्रममा छ।
यी दुई नेताबीच आगामी बाटो एक हुने देखिँदैन। खनाल एमालेप्रति लचक देखिन्छन्। खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘घर फर्क’ आग्रहलाई सकारात्मक कदम भनेका छन्। एमाले स्रोतका अनुसार पनि केही नेता पार्टीमा फर्कने चरणमा छन्।
समाजवादीका महासचिव भुसाल छुट्टै कम्युनिस्ट पार्टी बनाउने तयारीमा छन्। ‘हामी पार्टी पुनर्गठन गर्न, बृहत् ध्रुवीकरण गर्न लागेका छौँ’, भुसाल निकट नेता दामोदर अर्यालले भने, ‘हामी पार्टीलाई नयाँ तरिकाले अघि बढाउँछौँ।’
माओवादी केन्द्रसँग एकताको कुरा गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ एकतामा नआउने भएपछि उनीनिकट एक समूह माओवादीमा मिसिने भएको छ। उनीनिकट नेकपाबाट विद्रोह गरेको चिरण सीलगायतका केन्द्रीय सदस्यहरू माओवादीसहितको एकीकृत पार्टीमा जान तयार भएका हुन्।
विप्लव भने ‘कम्युनिस्ट पार्टी नेपाल’ दर्ता गराएर चुनावमा जाने भएका छन्। उनले निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिइसकेका छन्। विप्लव पनि यसअघि एकताका लागि सघन छलफलमा थिए। उनी निकट एक नेताका अनुसार विप्लवले एकीकृत पार्टीमा पुराना नेताहरूले नेतृत्व लिन नहुने अडान राखेका थिए। ती नेताका अनुसार एकीकृत पार्टीमा विप्लवलाई महासचिव दिने तयारी थियो। विप्लवले नेतृत्व नै लिने भनेपछि एकता रोकिएको हो।
माओवादी प्रवक्ता अग्नि सापकोटाले एकताका लागि पार्टीहरूबीच सैद्धान्तिक र वैचारिक विषय मिलिसकेका बताए। ‘वडा तहबाट सम्मेलन गर्दै आएर एकता महाधिवेशन गर्ने सहमति भएको छ। नेतृत्व संयोजक र सहसंयोजक रहने सहमति छ’, उनले भने, ‘केन्द्रदेखि तल्लो कमिटीसम्म त्यसरी समायोजन हुनेछ।’
सापकोटाले एकता ६०/४० प्रतिशतले गर्नेगरी गृहकार्य भइरहेको पनि बताए। ‘दुई पार्टीबाहेक एकतामा आउने अन्य पार्टी पनि भएकाले केही प्रतिशत तलमाथि हुन सक्छ’, उनले भने, ‘संगठनात्मक र प्राविधिक कुरा मात्र टुंग्याउन बाँकी छ।’
एकीकृत पार्टीका तर्फबाट कात्तिक २१ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी छ। निर्वाचन आयोगले आगामी कात्तिक ३० सम्ममा निर्वाचनका लागि दल दर्ता गर्न म्याद दिएको छ। त्यही कारण पनि हतारमा एकता गर्न लागेको नेताहरू बताउँछन्।
एमालेमा पनि असन्तुष्टि
एमालेमा पनि असन्तुष्टि बढ्दो छ। जेनजी आन्दोलनपछि सरकार गुमाएको एमालेमा नेतृत्व छाड्नुपर्ने दबाब छ। अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा हुनु उपयुक्त हुने दोस्रो स्तरका नेताहरूको माग छ। ओली भने महाधिवेशनसम्म आफ्नै नेतृत्वमा पार्टीलाई लैजाने र त्यसपछि प्रतिनिधिमार्फत चुनिएर फेरि आउने गृहकार्यमा छन्।
एमालेको महाधिवेशन मंसिर २७ देखि काठमाडौँमा हुने कार्यतालिका छ। एमालेमा एकपक्ष अहिले पनि विद्या भण्डारीलाई सदस्यता दिनुपर्ने र अर्को कार्यकालमा नेतृत्व विद्यालाई दिनुपर्ने पक्षमा छ। उनीहरूले जेनजी आन्दोलनपछि ओलीको सान्दर्भिकता सकिएको निष्कर्षसहित अब नयाँ नेतृत्वसहित एमाले चुनावमा जानुपर्ने बताएका छन्।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे एमालेको नेतृत्व चुन्ने काम महाधिवेशन प्रतिनिधिको भएकाले महाधिवेशनसम्म जानुपर्ने बताउँछन्। ‘अहिले नै नेतृत्वबारे भन्न सकिन्न। तर पार्टीमा कसैलाई निषेध गर्न मिल्दैन’, पाण्डे भन्छन्, ‘एमाले बन्न चाहने सबैलाई सदस्यता दिन सक्नुपर्छ।’




