कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्काबाट कार्यवाहक सभापति पद तत्काल फिर्ता नलिने संकेत गरेका छन्। कांग्रेस नेताहरूसँग शनिबार भएको भेटमा सभापति देउवा कार्यवाहक सभापति खड्कालाई तत्काल फिर्ता गर्ने पक्षमा नदेखिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
महतले हिमालप्रेससँग भने, ‘सभापतिज्यूले केही समय आराम गर्न चाहनुभएको देखिन्छ। उहाँले पार्टीमा तत्काल सक्रिय नहुने बताउनुभयो। कावा सभापति खड्कालाई फिर्ता गर्ने कुरा पनि उहाँले गर्नुभएन।’ प्रवक्ता महतले पार्टीमा भइरहेको विवाद कार्यवाहक सभापति खड्काको समन्वयमा मिलेर समाधान गर्न निर्देशन दिएको जानकारी दिए।
‘महाधिवेशनलगायतका विषयलाई सकेसम्म सहमतिमा टुंगो लगाउनुपर्ने सुझाव उहाँको छ’, महतले भने।
कांग्रेसमा यति बेला पार्टीको १५ औँ महाधिवेशन चुनावअगाडि गर्ने कि चुनावपछाडि गर्ने भन्ने विषयमा विवाद भइरहेको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते निवासमै आक्रमणमा परेको सभापति देउवा केही समय सैनिक अस्पतालमा उपचार गरेपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेर थप उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए। देउवाले असोज २८ गते सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गर्दै उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।
उपचारपछि शुक्रबार स्वदेश फर्किएका देउवालाई शनिबार प्रवक्ता महत, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायतले भेटेका थिए। आफूहरूले सभापति देउवालाई समसामयिक विषयमा जानकारी गराएको प्रवक्ता महतले बताए।
प्रवक्ता महतलगायतका नेताहरूले आफूहरू निर्वाचनअगाडि नै क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्ने पक्षमा रहेको बताएका थिए।
भदौ २७ गते प्रतिनिधिसभा विघटन भई फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रिया टुंगोमा पुर्याउन लागेको छ। असोज २८ यता पटकपटक बैठक बसे पनि कांग्रेसले महाधिवेशनका बारेमा केही टुंगो लगाउन सकेको छैन। कतिपयले कार्यवाहक सभापति खड्काको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन थालेका छन्।


