युद्धग्रस्त युक्रेनमा भ्रष्टाचार : नगदले भरिएका झोला र सुनको चर्पी

हिमाल प्रेस ३० कार्तिक २०८२ १२:४१
38
SHARES
युद्धग्रस्त युक्रेनमा भ्रष्टाचार : नगदले भरिएका झोला र सुनको चर्पी

कानुन कार्यान्वयन निकायहरूले किभका विलासी अपार्टमेन्टहरूमा छापा मारिरहेका छन्। एक अपार्टमेन्टमा त सुनको चर्पीसमेत भेटियो। नगदले भरिएका झोलाहरू बरामद भएका तस्बिर सार्वजनिक भएका छन्। अधिकारीहरूले अवैध धन शुद्धीकरण गर्ने योजनाबारे गरेको कुराकानीका अडियो रेकर्ड पनि बाहिर आएका छन्।

यी विवरणले गत साता युक्रेनीहरूलाई आश्चर्यमा पारेको छ। किनभने राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको प्रशासन उनले पदभार सम्हालेयताकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमा फसेको छ। सोही कारण युद्धको अत्यन्त संवेदनशील समयमा किभको नेतृत्वलाई अस्थिर बनाइदिएको छ।

जेलेन्स्की र उनका सहयोगीहरूले राष्ट्रपतिको घेरालाई लक्षित गरेको व्यापक अनुसन्धान अन्तिम चरणमा पुग्दै गर्दा स्वतन्त्र भ्रष्टाचारविरोधी एजेन्सीहरूलाई कमजोर पार्ने प्रयास गरेका थिए। देशभरि भएका विरोध प्रदर्शन र पश्चिमी साझेदारहरूको तीव्र आक्रोशपछि युक्रेनी राष्ट्रपति र उनका सहयोगीहरू त्यो प्रयास त्याग्न बाध्य भएका छन्।

तर उनीहरू पछि नहट्दै अनुसन्धानकर्ताहरूले यसै साता विस्तृत प्रमाणहरू सार्वजनिक गरे। तिनमा उच्च अधिकारीहरूले रूसका मिसाइल आक्रमणबाट ऊर्जा स्टेसन जोगाउन निर्माण गरिएका संरचनाका ठेक्कामा कमिसन खाइरहेको आरोपसमेत समावेश छ।

यी खुलासाले जनआक्रोशको ठूलो लहर पैदा गरेको छ। अन्ततः आफ्नो राष्ट्रपति पद जोगाउने प्रयासमा जेलेन्स्की शंका गरिएका व्यक्तिहरूविरुद्ध खुलेर उत्रिएका छन्। उनले बुधबार न्यायमन्त्री जर्मन गालुसचेंको र ऊर्जामन्त्री स्वित्लाना ह्रिन्चुकको राजीनामा मागेका छन्। प्रधानमन्त्री युलिया स्वाइरिडेन्कोले गालुसचेंकोको निलम्बन घोषणा गरेकी छन्। जुन निर्णयलाई नागरिक समाजका नेताहरूले अपर्याप्त भन्दै आलोचना गरेका छन्।

त्यसपछि युक्रेनी राष्ट्रपतिले दुवै मन्त्रीलाई बर्खास्त गर्न कदम उठाए। मिन्डिच र यस मामिलामा आरोपित अर्का व्यवसायीमाथि प्रतिबन्ध लगाए। स्वाइरिडेन्कोले बिहीबार ऊर्जा र सुरक्षा कम्पनीहरूको व्यापक अडिट आदेश दिएकी छिन्।  दुवैलाई राष्ट्रिय सुरक्षा परिषद्‌बाट हटाइएको छ।

जेलेन्स्कीले यस मामिलामा आरोपित आफ्ना मित्र तथा पूर्व व्यावसायिक साझेदार तिमुर मिन्डिचमाथि पनि प्रतिबन्ध लगाएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार मिन्डिच उक्त योजनाका सहआयोजक थिए र करिब १० करोड डलर अवैध रकम उनको कार्यालयमार्फत खर्च गरिएको थियो। ‘उनीहरू ‘लन्ड्री रुम’ को काम नियन्त्रण गर्थे, जहाँ अपराधबाट प्राप्त रकम सफा पारिन्थ्यो’, युक्रेनको राष्ट्रिय भ्रष्टाचारविरोधी ब्युरो (नाबु) ले भनेको छ।

जेलेन्स्कीको रणनीतिमा फेरबदल आए पनि उनको प्रतिक्रिया ढिलो र अस्थिर भएको भन्दै आलोचना भइरहेको छ। राजनीतिज्ञहरू भने आगामी दिन हुन सक्ने अनियमितताका थप खुलासाहरूले युक्रेनलाई रूससँगको क्रूर संघर्षमा नेतृत्व गरिरहेका व्यक्तिका नजिकका सहयोगीलाई अझ क्षति पुर्‍याउन सक्ने आशंकामा छन्।

युक्रेनी लगानी बैंकर्स र राजनीतिक टिप्पणीकार सेर्ही फुर्साले बुधबार लेखेका छन्, ‘हामी युद्धको बीचमा युक्रेनी राष्ट्रपति र सरकारले बाँकी रहेको वैधानिकता गुमाउन सक्दैनौँ। हामी पहिलो विश्वयुद्धको समयमा जस्तै देशलाई हराउने जोखिममा पर्न सक्छौँ।’

नाबुले यसै साता ऊर्जा क्षेत्रमा भ्रष्टाचार उजागर गर्न विशेष भ्रष्टाचारविरोधी अभियोजन कार्यालय (सापो)  सँग मिलेर एउटा ठूलो अभियानअन्तर्गत ७० भन्दा बढी छापा मारेर पाँचजनालाई पक्राउ गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार अधिकारीहरू र व्यवसायीहरूले देशको परमाणु ऊर्जा कम्पनी एनरगोएटमका आपूर्तिकर्ताहरूलाई प्रत्येक ठेक्काको मूल्यको १०-१५ प्रतिशत कमिसन तिर्न बाध्य पार्ने षड्यन्त्र गरेको पाइएको छ।

१५ महिनाको अनुसन्धानपछि नाबुले एक हजार घण्टाभन्दा बढी अडियो रेकर्ड संकलन गरेको बताएको थियो। यसपछि युक्रेनी जनतामा तीव्र आक्रोश उत्पन्न भएको छ। नाबुका अनुसार केही कमिसन रूसका ड्रोन र मिसाइल आक्रमणबाट सबस्टेसनहरू जोगाउन निर्माण गरिएका संरचनाका ठेकेदारहरूबाट उठाइएको पाइएको छ।

‘अब जेलेन्स्की भ्रष्टाचारमा संलग्न व्यक्तिहरूबाट दूरी कायम राख्दै छन्। विशेष गरी उनी मिन्डिचसँग बच्ने प्रयास गरिरहेका छन्,’ किभस्थित राजनीतिक विज्ञ भोलोडिमिर फेसेन्कोले फाइनान्सियल टाइम्ससँग भनेका छ्न्।

मिन्डिच क्वार्टल ९५ मनोरञ्जन कम्पनीका सहसञ्चालक हुन्। जेलेन्स्की पनि यसका संस्थापक हुन्। नाबुका प्रमुख गुप्तचर अधिकारी ओलेक्सान्ड्र अबाकुमोभका पूर्वसूचना दिइएकाले मिन्डिच अनुसन्धान सुरु हुनु केही घण्टाअघि युक्रेनबाट भागेका थिए।

जेलेन्स्कीका अर्का नजिकका मित्र एवम् सहयोगी पूर्वउपप्रधानमन्त्री ओलेक्सीय चेर्निसोभमाथि नाबुले १२ लाख डलर र एक लाख युरो नगद भ्रष्टचार गरेको आरोप लगाएको छ। यद्यपि उनले आरोप अस्वीकार गरेका छन्। यस प्रकरणमा ऊर्जामन्त्री ह्रिन्चुकलाई प्रत्यक्ष रूपमा संलग्न गरिएको छैन।

किभस्थित निगरानी संस्था एन्टी-करप्सन एक्सन सेन्टरकी कार्यकारी निर्देशक डारिया कालेनियुकले भनिन्, ‘जेलेन्स्कीले यस काण्डको व्यवस्थापन धेरै ढिलो र निकै कमजोर रूपमा गरेका छन्।’

जेलेन्स्कीले सोमबार साँझ आफ्नो सहयोगीविरुद्ध नयाँ आरोपबारे पहिलो टिप्पणी गर्दै अनुसन्धान प्रक्रियामा समर्थन व्यक्त गरे पनि अब के गर्ने भनेर कुनै प्रतिबद्धता जनाएनन्।

जेलेन्स्कीको ‘सर्भेन्ट अफ द पिपल’ पार्टीकी सांसद तथा संसद्को भ्रष्टाचार विरोधी समितिका प्रमुख अनास्तासिया रादिनाका अनुसार आयोगले सोमबार प्रमुख कानुन कार्यान्वयन निकायहरूसँग भ्रष्टाचार जोखिम हटाउन गरिएका प्रणालीगत कदमबारे प्रश्न गर्ने भएको छ।

नाबुले युद्धकालमा समेत वरिष्ठ सरकारी अधिकारीहरू र राष्ट्रपतिसँग प्रत्यक्ष सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरी ठूलो स्तरको अनुसन्धान गर्न सक्षम भएको भन्दै राष्ट्रपतिका सहयोगी र केही भ्रष्टाचारविरोधी अभियन्ताहरूले प्रशंसा गरेका छन्। ‘स्थिति स्पष्ट रूपमा युक्रेनको रूपान्तरणका पक्षमा छ’, राष्ट्रपति कार्यालय प्रमुखका सल्लाहकार माइखाइलो पोडोल्याकले एक्समा लेखे। किभस्थित युरोपेली युनियनकी राजदूत कटरिना मथेर्नोभाका अनुसार अनुसन्धान र अधिकारीहरूको प्रतिक्रियाले युक्रेनका स्वतन्त्र संस्थाहरू सक्रिय रहेको देखाउँछ।

‘यो अनुसन्धान सफलता कथा हो अनि सकारात्मक संकेत हो’, कालेनियुकले भनिन्। तर नाबु र सापोले भोग्नुपरेको दबाब असाध्यै ठूलो छ।

अभियन्ताहरूका अनुसार राष्ट्रपतिप्रति निष्ठावान् कानुन कार्यान्वयन निकायहरूले स्वतन्त्र भ्रष्टाचार विरोधी संस्थाहरूमाथि दबाब दिइरहेका छन्। जुलाईमा युक्रेनको सुरक्षा सेवा (एसबीयू) ले नाबुका एक जासुस रुसलान महामेद्रासुलोभलाई पक्राउ गरेको थियो। उनी अहिलेसम्म कारावासमा छन्। उनीमाथि रूसको दागेस्तान क्षेत्रमा लागू पदार्थ ओसारपसारमा सहयोग गरेको आरोप लगाइएको छ।

भ्रष्टाचारविरोधी अभियन्ताहरूले उनीमाथि लागेको उक्त आरोपलाई राजनीतिक प्रेरित भएको भन्दै खारेज गरिदिएका छन्।

संकट व्यवस्थापन युक्रेनको नागरिक समाज र विपक्षी दलहरूका लागि जोखिमपूर्ण छ। दुवैले २०२२ मा रूसको आक्रमणपछि प्रायः जेलेन्स्कीको आलोचना गरेका छैनन्।

पूर्वराष्ट्रपति र जेलेन्स्कीका पुराना प्रतिद्वन्द्वी पेट्रो पोरोसेन्को नेतृत्वको विपक्षी दल युरोपियन सोलिडारिटीले वर्तमान सरकारलाई प्रतिस्थापन गर्नुपर्ने माग दोहोर्‍याएको छ। उसले जेलेन्स्कीले राजीनामा दिनुपर्छ भने मागचाहिँ गरेको छैन। विश्लेषक र राजनीतिक जानकारहरूका अनुसार अनुसन्धानबाट आउने नयाँ खुलासाले राष्ट्रपतिको स्थिति अझ अस्थिर बनाउन सक्छ।

प्रकाशित: ३० कार्तिक २०८२ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast