विवादित मुख्यमन्त्री यादव भन्छन् – बाध्य भएर पद सम्हाल्नुपर्‍यो

हिमाल प्रेस २४ कार्तिक २०८२ १७:३७
14
SHARES
विवादित मुख्यमन्त्री यादव भन्छन् – बाध्य भएर पद सम्हाल्नुपर्‍यो मधेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादव

काठमाडौँ- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले आफू रहरले नभएर संवैधानिक बाध्यताअनुसार मुख्यमन्त्री बन्नुपरेको बताएका छन्। नियुक्तिसँगै विवादमा परेका यादवले सोमबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेश प्रमुखले आफूलाई संविधानतः नियुक्त गरेको दाबी गर्छन्। प्रदेश प्रमुख भण्डारीले कानुनी परामर्श गरेर आइतबार राति ११ बजे आफूलाई मुख्यमन्त्री नियुक्त गरेको उनको भनाइ छ।

‘सोनलजीले प्रदेशसभा बैठकमा विश्वासको मत मागिसक्नुभएको थियो। सभामुखले मत विभाजन प्रक्रिया पनि अगाडि बढाइसक्नुभएको थियो,’ यादवले भने, ‘मत विभाजन प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखेपछि उहाँले राजीनामा घोषणा गर्नुभयो। मत विभाजन प्रक्रिया अगाडि बढिसकेकाले उपधारा २ बमोजिम सरकार बन्न नसक्ने अवस्था अन्त्य भएपछि कानुनी परामर्श गरेर प्रदेश प्रमुखले मलाई उपधारा ३ बमोजिम नियुक्त गर्नुभएको हो।’

जनमतका तर्फबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले मत विभाजन प्रक्रियामा जानुअगावै राजीनामा घोषणा गरेकाले सोनल संविधानको धारा १६८ (२) बमोजिम नै मुख्यमन्त्री बनेको उनको तर्क छ।

‘सतिश सिंहजी मत विभाजन प्रक्रियामा जानु भएन, अगावै राजीनामा गर्नुभयो,’ उनी भन्छन्, ‘सोनलजीले त रोस्ट्रमबाटै विश्वासको मत मागिसक्नुभएको थियो, मत विभाजन प्रक्रिया पनि सुरु भइसकेको थियो। विश्वासको मत पाउन नसक्ने देखेपछि उहाँले राजीनामा घोषणा गर्नुभयो। दुवै परिस्थिति फरक छ।’

आफूलाई मुख्यमन्त्री बन्ने रहर नरहेको बताउँदै उनले संवैधानिक बाध्यताका कारण यो पद सम्हाल्नुपरेको जिकिर गरे। ‘१६८ (३) मा प्रदेशसभाको ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ। त्यहीअनुसार म मुख्यमन्त्री भएको हो। मलाई मुख्यमन्त्री बन्न रहर छैन,’ उनले भने।

प्रदेश प्रमुख काठमाडौँ जान लागेकोले बर्दिवासको होटलमा सपथग्रहण गर्नुपरेको उनको भनाइ छ। यादवले अहिले दलहरू असन्तुष्ट देखिए पनि चाँडै सबैथोक साम्य हुने दाबी गरे।

‘अहिले साथीहरू आक्रोशित हुनुहुन्छ। कांग्रेस र जनमतसँग कुरा पनि भएको छ,’ उनले भने, ‘सहयोग गर्ने आश्वासन दिनुभएको छ। उहाँहरू काठमाडौँ जानुभएको छ। फर्किएपछि कुराकानी हुन्छ।’
यादवले एक दुई दिनभित्रै पदभार ग्रहण गर्ने बताए। मुख्यमन्त्री कार्यालयमा तोडफोड भएकाले एक दुई दिनपछि पदभार ग्रहण गर्ने उनको भनाइ छ।

प्रकाशित: २४ कार्तिक २०८२ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast