चुनावमा भाग लिने कांग्रेसको निर्णय

हिमाल प्रेस ६ मंसिर २०८२ १५:२२ | Saturday, November 22, 2025
14
SHARES
चुनावमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौँ-नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने निर्णय गरेको छ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले चुनावमा भाग लिने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले बैठकले फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय भएको उनले बताए।

प्रवक्ता महतले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि बताए। यस्तै महाधिवेशनका विषयमा छिटै निर्णय हुने उनले बताए।

निर्वाचन मार्फत् नै संविधानको रक्षा तथा जेन–जेड प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने पार्टीको दृढ विश्वास रहेको महतले जानकारी दिए।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ। निर्वाचनका लागि भयरहीत वातावरण अपरिहार्य रहे पनि हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलहरूले निर्वाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउने परिस्थिति गम्भीर रहेको कांग्रेसको निष्कर्ष छ।

बैठकले निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहीत बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्वद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न माग गरेको छ। त्यस्तै बैठकले तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न माग गरेको प्रवक्ता महतले बताए।

बैठकले विश्वास र समझदारी आवश्यक भएकोले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवाद मार्फत समाधान खोज्न आह्वान समेत गरेको उनले बताए। प्रवक्ता महतले पार्टीको महाधिवेशनका विषयमा पार्टीलाई एकताबद्ध गरेर सर्वसम्मत निर्णय गर्ने जानकारी दिए।

त्यस्तै बैठकले जेनजीले उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता जस्ता प्रमुख विषयहरू स्वाभाविक, वैध र आम नागरिकको आवाज भएकाले माग पूरा गराउने प्रतिवद्धता व्यक्त गरेको छ। कार्यसमितिको बैठक मंसिर ११ गते बिहीबार बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित: ६ मंसिर २०८२ १५:२२ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast