कांग्रेस बैठक : महाधिवेशन कार्यतालिकाबारे जुटेन सहमति

हिमाल प्रेस १५ कार्तिक २०८२ १४:४४
24
SHARES
कांग्रेस बैठक : महाधिवेशन कार्यतालिकाबारे जुटेन सहमति फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक विनानिष्कर्ष टुंगिएको छ। महाधिवेशनको कार्यतालिकामा सहमति जुटाउन भन्दै बसेको पदाधिकारी बैठक विनानिष्कर्ष टुंगिएको हो।

बैठक पार्टी कार्यालय सानेपामा बसेको थियो।

पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका नल्याएको भन्दै शुक्रबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए।

दुवै महामन्त्री उपस्थित नभएपछि पदाधिकारी बैठकबाट कार्यतालिकाबारे सहमति जुटाउने भन्दै खड्काले आइतबारसम्म केन्द्रीय समिति बैठक स्थगित गरेका थिए।

संस्थापनइतर समूह आगामी मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिइरहेको छ भने संस्थापन पक्ष फागुनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ।

शनिबारको बैठकमा महाधिवेशनको दुईवटा कार्यतालिका प्रस्तुत भएको बताइएको छ। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार महामन्त्री शर्माले आगामी पुस १६–१८ मा महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेका छन् भने संस्थापन पक्षले आगामी वैशाखको कार्यतालिका प्रस्तुत गरेको छ।

संस्थापन पक्षका तर्फबाट वैशाखको २८–३० मा महाधिवेशन आयोजना गर्ने प्रस्ताव पेस भएको ती पदाधिकारीले बताए।

महाधिवेशनको कार्यतालिकाबारे पदाधिकारी बैठकमा सहमति नजुटेपछि आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ। केन्द्रीय समिति बैठकअघि बस्ने कार्यसम्पादन समिति बैठकमा सहमति जुटाउने प्रयास हुने नेताहरूले बताएका छन्।

प्रकाशित: १५ कार्तिक २०८२ १४:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast