महाधिवेशनको मिति तोक्न कांग्रेसमा रस्साकस्सी, पेस भयो विशेष महाधिवेशनको प्रस्ताव

हिमाल प्रेस २१ कार्तिक २०८२ १९:१५
56
SHARES
महाधिवेशनको मिति तोक्न कांग्रेसमा रस्साकस्सी, पेस भयो विशेष महाधिवेशनको प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई रस्साकस्सी चलिरहेको बेला जारी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन गर्न माग गर्दै प्रस्ताव पेस भएको छ।१५ औँ महाधिवेशन चुनावअघि वा चुनावपछि गर्ने भन्ने विषयमा नेताहरू बाँडिएका बेला शुक्रबारको बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले मिति तोकेरै विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन्।

आचार्यले मंसिर २४ गते विशेष महाधिवेशन गर्ने गरी प्रस्ताव पेस गरेका छन्। उनले छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव पेस गरेको जिकिर गरे। आचार्यसँगै कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा १५ औँ महाधिवेशनका सन्दर्भमा तीनवटा प्रस्ताव पेस भइसकेका छन्।

यसअघि महामन्त्री गगन थापाले मंगलबार बसेको बैठकमा पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए। त्यही दिनको बैठकमा सहमहामन्त्री महेन्द्र यादवले महमान्त्री थापालाई ‘काउन्टर’ दिँदै अर्को प्रस्ताव पेस गरे। यादवले वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्नेगरी बैठकमा कार्यतालिका पेस गरेका थिए।

महाधिवेशनको सन्दर्भमा महामन्त्री थापा र सहमहामन्त्री यादवको फरक प्रस्ताव पेस भएपछि नेताहरू मध्यमार्गी बाटो निकाल्न जुटेका बेला शुक्रबारको बैठकमा विशेष महाधिवेशन माग गर्दै तेस्रो प्रस्ताव आएको हो।

केन्द्रीय सदस्य आचार्यले सहमहामन्त्री यादवले महामन्त्रीलाई ‘काउन्टर’ दिन महाधिवेशन कार्यतालिका ल्याएकोले आफूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको बताए।

थापासहित संस्थापन इतर नेताहरूले फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन सम्पन्न गर्न माग गर्दै आएका छन्।

विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष हस्ताक्षर बुझाएका छन्। विशेष अधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरेको इतर समूहले असोज २९ गते खड्कालाई हस्ताक्षर बुझाएका थिए। कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको अवस्थामा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ।

यही व्यवस्थालाई टेकेर विशेष महाधिवेशन गर्न सकिने इतर समूहको दाबी छ। आसन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ नेतृत्वका साथ कांग्रेस जानुपर्ने भन्दै इतर समूहले त्यसअघि महाधिवेशन गर्न माग गरिरहेको छ।

संस्थापन पक्ष भने चुनावअघि महाधिवेशनमा जान नसकिने अडान लिएको छ। फागुनअघि महाधिवेशनमा जाँदा चुनावमा अन्तर्घात हुनसक्ने तर्क संस्थापन पक्षको छ। महाधिवेशन पार्टीको आन्तरिक विषय भएकाले जहिले पनि गर्न सकिने भन्दै एकढिक्का भएर सबै नेता कार्यकर्ता चुनावमा केन्द्रित हुनुपर्ने भनाइ संस्थापनको छ।

विशेष महाधिवेशनको विषयमा ओझेलमा परिसकेको भन्दै अब चुनावअघि वा चुनावपछिको विवाद रहेको नेताहरूले बताएका छन्।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा विशेष महाधिवेशनको विषय अहिले आएर ओझेलमा परिसकेको बताउँछन्। चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने विषयमा रस्साकस्सी चलिरहेको बताउँदै उनले सहमतिमा चाँडै निर्णय हुने जिकिर गरे।

महाधिवेशनका सन्दर्भमा विवाद चर्किन थालेपछि कतिपय नेताहरूले समाधानका लागि मध्यमार्गी प्रस्ताव गरेका छन्। प्रचार विभाग प्रमुख विश्वकर्मा, केन्द्रीय सदस्य एनपी साउदलगायतका नेताहरू फागुन २१ मै चुनाव हुने भए महाधिवेशन त्यसपछि र चुनाव हुन नहुने भए बढीमा पुसभित्र महाधिवेशन गर्न मध्यमार्गी प्रस्ताव पेस गरेका छन्। यद्यपि जारी केन्द्रीय समिति बैठकमा कुनै पनि प्रस्तावहरूमा सहमति जुट्न सकेको छैन।

प्रकाशित: २१ कार्तिक २०८२ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast