काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। १५ औँ महाधिवेशनको मिति, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न जारी कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आगामी मंगलबार बिहान ११ः३० बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए।
यसअघि शनिबार आकस्मिक बैठक बसेको थियो। आकस्मिक बैठकले उपचारका क्रममा निधन भएका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहटका पूर्वजिल्ला सभापति आफताब आलमको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो।
आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर बैठक सकिएको मुख्यसचिव पौडेलले जानकारी दिए। ६३ वर्षीय आलमको गए राति काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा निधन भएको थियो।
२०३६ सालमा नेविसंघबाट राजनीति यात्रा प्रारम्भ गरेका उनी पटक–पटक मन्त्री भएका थिए। आलमले २०५३ को उपनिर्वाचन, २०५६ को आमनिर्वाचन, २०६४ को संविधानसभा निर्वाचन र २०७४ को आमनिर्वाचनमा रौतहटबाट निर्वाचि भएका थिए। त्यस्तै २०६७ सालमा सम्पन्न पार्टीको १२ औँ महाधिवेशनमा उनी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
रौतहट बमकाण्डमा रौतहट जिल्ला अदालतले आलमलाई दोषी ठहर गरेर उनलाई जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाई दिएपछि आलम केही महिनाअघि जेलबाट रिहा भएका थिए। जेलबाट रिहा भएसँगै अस्वस्थ्य बनेका उनी उपचारका लागि निरन्तर अस्पतालमा भर्ना थिए।
आलमको निधनप्रति कांग्रेसले शनिबारदेखि सोमबारसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको छ। त्यस्तै निधनको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने कांग्रेसको निर्णय छ।



