कांग्रेसमा द्वन्द्व, चेपुवामा पूर्णबहादुर

धैर्यकान्त दत्त १७ कार्तिक २०८२ २१:३९
28
SHARES
कांग्रेसमा द्वन्द्व, चेपुवामा पूर्णबहादुर

काठमाडौँ- नेपाली कांग्रेसभित्र महाधिवेशनको कार्यतालिकालाई लिएर तीव्र मतभेद बढेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको प्रस्तावले संस्थापन पक्षसँगको द्वन्द्व चर्किँदै जाँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्का दुवै पक्षको चेपुवामा परेका हुन्।

जेनजी आन्दोलनलगत्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस अगाडि बढाएका थिए। यसका लागि महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। विशेष महाधिवेशनकै लागि भनेर महामन्त्रीद्वयले देशभर हस्ताक्षर अभियानसमेत सञ्चालन गरे। दुई हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर पार्टी कार्यालयमा दर्ता भइसकेको छ।

कांग्रेस भने विशेष कि नियमित महाधिवेशनकै झमेलामा फसेको छ। सभापति शेरबहादुर देउवानिकट पदाधिकारी एवं पूर्वपदाधिकारी तथा महामन्त्रीद्वय थापा र शर्माले राखेको आआफ्ना अडानका कारण कांग्रेस विभाजन हुनसक्ने धेरैको बुझाइ छ।

नेताहरू भने महाधिवेशन कहिले गर्ने भन्ने विषयकै लागि पार्टी विभाजन नहुने दाबी गर्छन्। महाधिवेशनका सन्दर्भमा अहिले देखिएको विवाद सहमतिमै टुंगिने उनीहरूको भनाइ छ। महामन्त्रीद्वय थापा र शर्मा पार्टीको नयाँ नेतृत्वका साथ फागुन २१ गते हुने भनिएको चुनावमा जान चाहेका छन्। यसका लागि उनीहरू मंसिरभित्रै वा बढीमा पुसभित्र महाधिवेशन गर्नुपर्ने दबाब नेतृत्वभित्र बढाइरहेका छन्। दुवै महामन्त्रीले आफूहरूले भनेअनुसारको महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामाथि दबाब बढाइरहेका छन्।

कार्यवाहक सभापति खड्का महामन्त्रीहरूले भनेअनुसार निर्णय लिन तयार देखिएका छैनन्। मंसिर अथवा पुसभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन खड्काले सभापति शेरबहादुर देउवाका साथै संस्थापननिकट अन्य शीर्ष नेताहरूको साथ खोजेका छन्। सभापति देउवा उपचारका लागि सिंगापुरमा छन् भने उनीनिकट भनिएका ‘छ भाइ’ नेताहरू (प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा। शशांक कोइराला, विजय गच्छदार, कृष्ण सिटौला र डा। प्रकाशशरण महत) ले चुनावअघि महाधिवेशन गर्ने गरी कार्यतालिका नल्याउन खड्कामाथि दबाब बढाएका छन्। नियमित महाधिवेशनको कार्यतालिका रोकेर विशेष महाधिवेशनमा जाँदा फाइदा हुने निष्कर्ष उनीहरूको रहेको एक नेताले जानकारी दिए।

संस्थापननिकट नेताका साथै महामन्त्रीद्वयको चेपुवामा परेका खड्का निर्णय गर्न सक्ने अवस्थाबाहिर पुगेको कांग्रेस नेताहरूको भनाइ छ। कार्यवाहक सभापति खड्काले कार्यतालिका नल्याउने भएपछि शुक्रबार महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकमा सहभागी नहुने अडान राखे। त्यसपछि आइतबारसम्म स्थगित बैठक अब मंगलबार बोलाइएको छ। महाधिवेशनका विषयमा सहमति खोज्न भन्दै केन्द्रीय समिति बैठक स्थगित गरिएको हो। नेताहरूका अनुसार सहमतिको सम्भावना भने न्यून देखिएको छ।

महामन्त्री थापानिकट कांग्रेसका एकजना केन्द्रीय सदस्य मंसिर/पुसमा महाधिवेशन टार्ने उद्देश्यले विवाद झिकिएको बताउँछन्। ती नेताका अनुसार कार्यवाहक सभापति खड्कालाई संस्थापननिकट नेताहरूले नै ‘बलिको बोका’ बनाइदिएका छन्।

‘कार्यवाहक सभापति ‘बलिको बोका’ बन्नुभएको छ। उहाँ निर्णय लिनसक्ने अवस्थामै देखिनुभएको छैन। आफ्नै समूहका नेताहरूको चेपुवामा पर्नुभएको छ,’ ती केन्द्रीय सदस्यले भने,‘पछिले ‘छ भाइ’ छँदै थिए, अब दुईजना सहमहामन्त्री पनि थपिनुभएको छ।’

कांग्रेसमा ‘छ भाइ’ का रूपमा चिनिएका साथै सहमहामन्त्रीद्वय महेन्द्र यादव र उमाकान्त चौधरी फागुनअघि महाधिवेशन गर्ने गरी कुनै पनि हालतमा कार्यतालिका नल्याउन कार्यवाहक सभापति खड्कामाथि दबाब बढाएको उनको भनाइ छ।

महामन्त्रीद्वय थापा र शर्मा अहिले जारी केन्द्रीय समिति बैठकमै मंसिर/पुसमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएर अघि बढ्ने तयारी गरेका छन्। आफूहरूले ल्याएको कार्यतालिका बैठकबाट सर्वसम्मत ढंगबाट पास गराउन चाहेका छन्, उनीहरू। महामन्त्रीद्वयले यसो गरे सहमहमान्त्रीद्वय यादव र चौधरीले समानान्तर प्रस्ताव ल्याउने चेतावनी दिएका छन्।

सहमति जुटाउन भन्दै शनिबार बसेको पदाधिकारी बैठकमा चुनावअघि महाधिवेशन हुने गरी कार्यतालिका आए आफूहरूले छुट्टै प्रस्ताव पेस गर्ने सहमहामन्त्री यादव र चौधरीले बताएको एक नेताले बताए।
पदाधिकारी बैठकमा महामन्त्री शर्माले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेका थिए। संस्थापन पक्षका तर्फबाट भने वैशाखको २८-३० सम्म महाधिवेशन आयोजना गर्ने प्रस्ताव पेस भएको थियो।

‘महामन्त्रीले चुनावअघिको कार्यतालिका ल्याए सहमहामन्त्रीहरू महेन्द्र यादव र उमाकान्त चौधरीले समानान्तर प्रस्ताव ल्याउने भन्नुभएको छ,’ महामन्त्री थापानिकट ती केन्द्रीय सदस्य भन्छन्, ‘आफ्नो छुट्टै प्रस्ताव ल्याएर बहुमतका आधारमा पारित गराउने रनणीति उहाँहरूको छ।’

चुनावअघि महाधिवेशन गर्नुपर्ने बहुमत कार्यकर्ताको भावनाविपरित संस्थापनपक्ष अगाडि बढ्न खोजेको बताउँदै उनले भने पार्टीलाई अप्ठ्यारोमा पार्ने काम भइरहेको जिकिर गरे।

महामन्त्रीद्वयलगायतका नेताहरू मंसिर/पुसमै महाधिवेशन गर्नुपर्ने अडान लिइरहँदा संस्थापन पक्षका नेताहरू भने चुनाव घोषणा भइसकेकोले यो सम्भव नरहेको तर्क गरिरहेका छन्। चुनाव र पार्टी महाधिवेशनमा एकै साथ जान नसकिने भनाइ उनीहरूको छ। सकभर सहमतिको प्रयास गर्ने, सहमति नभए केन्द्रीय समिति बैठकबाट निर्णय गरेर अघि बढ्ने भनाइ संस्थापननिकट नेताहरूको छ।

सहमहामन्त्री यादव महाधिवेशनका सन्दर्भमा अहिले देखिएको विवाद साम्य पार्न सहमतिको प्रयास भइरहेको बताउँछन्। उनले सहमति नजुटे केन्द्रीय समितिबाट निर्णय गरेर अघि बढ्ने बताए। ‘सहमतिका लागि प्रयास भइरहेको छ,’ उनले भने, ‘सहमति भए ठीकै छ, सहमति नभए निर्वाचनपछि महाधिवेशन गर्नेगरी केन्द्रीय समितिबाट निर्णय गरेर अघि बढ्छौँ।’

यही मंसिरमा वर्तमान कार्यसमितिको कार्यकाल पूरा हुने भएकाले अब विशेष महाधिवेशन नभई नियमित महाधिवेशन हुने यादवको भनाइ छ। उनी भन्छन्, ‘अब विशेष वा नियमितको कुरा नै रहेन। यो टन्टा सकिएको छ। अहिलेको विवाद भनेको चुनावअघि वा चुनावपछिको मात्रै हो।’

सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरिसकेकाले त्यसअघि महाधिवेशनमा जानु पार्टीका लागि घातक निर्णय हुने उनको तर्क छ। ‘चुनाव घोषणा भइसकेको छ। कांग्रेस चुनाव हुनुपर्छ भन्ने पक्षमा छ,’ उनले भने, ‘चुनाव र महाधिवेशन एकसाथ गर्नु हुँदैन। अहिले चुनावका लागि एक ढिक्का भएर बढ्नुपर्ने समय हो। चुनावपछि मात्रै महाधिवेशनमा जाँदा उपयुक्त हुन्छ।’

महामन्त्री थापानिकट नेताहरू भने संस्थापन पक्षले अप्ठ्यारो बनाउँदै गए विशेष महाविधेशन सुनिश्चित हुने दाबी गर्छन्। ‘उहाँहरूले अप्ठ्यारो बनाउन खोज्नुभएको छ। अप्ठ्यारो बनाउँदै जाँदा विशेष महाधिवेशन झनै सुनिश्चित हुन्छ,’ इतरपक्षका एक पदाधिकारी भन्छन्, ‘नियमित महाधिवेशन रोक्दै जाँदा विशेष महाधिवेशनको बाटो खुल्दै जान्छ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि चुनावअघि महाधिवेशनमा जान नहुने पक्षमा देखिएका छन्। महाधिवेशन र निर्वाचनमा सँगै जान नहुने उनी बताउँछन्। ‘निर्वाचन भए तलैदेखि केन्द्रित हुनुपर्छ, पार्टीलाई एक ढिक्का बनाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘निर्वाचनपछि महाधिवेशनमा जाँदा उपयुक्त हुन्छ।’

महतले अहिले महाधिवेशनसम्बन्धमा देखिएको विवाद साम्य पार्न मध्यमार्गी प्रस्ताव अघि सारेका छन्। चुनाव नभए मंसिर÷पुस र चुनाव भएको अवस्थामा वैशाखामा महाधिवेशन गर्नुपर्ने मध्यमार्गी प्रस्ताव महतले अघि सारेका हुन्। ‘चुनाव हुने नहुने दुवै अवस्थाका लागि कार्यतालिका ल्याएर राखौँ,’ आफ्नो मध्यमार्गी प्रस्तावबारे उनले भने, ‘फागुनमा चुनाव हुने अवस्था नदेखिए पुसमा र चुनाव भए त्यसपछि महाधिवेशन गर्ने गरी अघि बढ्नुपर्छ भन्ने मेरो प्रस्ताव छ।’

चुनावअघि नयाँ नेतृत्व आउनुपर्ने भन्दै महाधिवेशनका सन्दर्भमा विवाद झिकिएको उनको भनाइ छ। ‘चुनावअघि नयाँ नेतृत्व आउनुपर्छ भन्ने उहाँहरूको भनाइ छ,’ महत भन्छन्, ‘शेरबहादुर देउवा त अब नेतृत्वमा आउने होइन। नेतृत्वमा उहाँहरू नै हुनुहुन्छ।’

कांग्रेसको सबै महाधिवेशनमा पेचिलो विषय भनेको क्रियाशील सदस्यताको टुंगो हो। महाधिवेशनअघि क्रियाशील सदस्यता हरेकपटक विवादको विषय बन्दै आएको छ। क्रियाशील सदस्यबाटै महाधिवेशन प्रतिनिधि छानिने भएकाले पनि यसमा हरेकपटक रस्साकस्सी देखिन्छ। क्रियाशील सदस्यता नै नटुंगिएको कारण महामन्त्रीद्वयले भनिरहे जस्तो मंसिर÷पुसमा महाधिवेशन सम्भव नभएको तर्क संस्थापनपक्षको भनाइ छ।

‘क्रियाशील सदस्यता टुंगिएको छैन। यो महामन्त्रीको जिम्मेवारीभित्र पर्ने विषय हो, उहाँहरूले नै ढिलाइ गर्नुभएको हो। किन समयमै टुंग्याउनु भएन?,’ प्रवक्ता महत भन्छन्,‘समयमै क्रियाशील सदस्यता नटुंग्याउने अनि अहिले मंसिरमै महाविधेशन गर्छ भन्ने, यो सम्भव छैन।’

विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरेका नेताहरू पनि यतिबेला नियमति महाधिवेशनतिर अग्रसर हुन थालेका छन्। पार्टीको नयाँ नेतृत्वका साथ अब आउने चुनावमा भाग लिनुपर्ने अडान उनीहरूले राखेका छन्।

विशेष महाधिवेशनको मागसहित हस्ताक्षर संकलन अभियानमा संलग्न नेता गुरुराज घिमिरेले चुनावअघि वा पछि महाधिवेशन गर्ने विषयमा रस्साकस्सी देखिएको बताउँछन्। अहिलेको नेतृत्वलाई लिएर निर्वाचनमा जाँदा पार्टीलाई मुश्किल पर्ने उनको भनाइ छ।

‘निर्वाचनपछि कि निर्वाचनअघि रस्साकस्सीको विषय भएको छ। अरु पार्टीहरूले घोषणा गरिसकेकोले लोकतान्त्रिक पार्टी भएकोले कांग्रेस पछि पर्नु हुँदैन भन्ने हाम्रो भनाइ हो,’ घिमिरे भन्छन्, ‘निर्वाचनपछि महाधिवेशनमा जाँदा निर्वाचनमा सामना गर्न हामीलाई कठिनाइपर्छ। चार वर्ष कार्यकाल गुजारेको नेतृत्व, टेस्टेट नेतृत्व लिएर जाँदा हामीलाई गाह्रोपर्छ। नवीकृत भएर हामी आमचुनाव सामना गर्न चाहन्छौँ।’

उनले कार्यवाहक सभापतिले पार्टी विधानबमोजिम नै १५ औँ महाधिवेशन वा विशेष महाधिवेशन गर्ने आश्वासन दिएको बताए। विवादहरू साँघुरिँदै गएको कार्यवाहक सभापतिको भनाइ रहेको घिमिरेले उल्लेख गरे। महामन्त्रीहरूले पुस १६ मा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन लागेको भन्दै त्यसमा सर्वसम्मति हुनुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘महामन्त्रीहरूले पुस १६ गते महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने सुनेका छौँ। यसमा सबैको साझा धारणा बन्नुपर्छ, त्यो भएन भने विशेष महाधिवेशनमा जानुको विकल्प छैन।’

विशेष महाविधेशनको माग राख्नेहरूले नियमित नै होस् भनेर सदाशयता देखाएको घिमिरेले बताए। चार वर्षे समयसीमामा म्याद थप नगरी चुनावअघि नै महाधिवेशन हुनुपर्ने आफूहरूको अडान रहेको उनले सुनाए।

विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको घिमिरेलगायतका नेताहरूले सोमबार नेता डा.शेखर कोइरालासँग समेत भेट गरेका छन्। भेटका क्रममा उनीहरूले कोइरालालाई विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेका छन्।

पुसमा महाविधेशन गर्ने गरी आएको विषयलाई पार्टीबाट निर्णय गराउनतर्फ आफू लागिपरेको कोइरालाले बताएका थिए। ‘पुस १६ मा महाधिवेशन गर्ने जुन कुरा आएको छ, त्यसलाई पार्टी बैठकमा लगेर निर्णय गराउने प्रयासमा लागेको छु,’ कोइरालाको भनाइ उद्धृत गर्दै नेता घिमिरेले भने, ‘यो सम्भव भएन भने विशेष महाधिवेशन नै विकल्प हो। र, विशेष महाधिवेशन केन्द्रीय समिति नै बोलाइदिनुपर्‍यो।’

दुईवटा कार्यतालिका आउने सुनिएको भन्दै उनले कार्यतालिका एउटामात्रै आउनुपर्ने जिकिर गरे। चुनावपछि आउने महाधिवेशनको कार्यतालिका आफूहरूलाई मान्य नहुने घिमिरेले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast