काठमाडौँ- निर्वाचन आयोगले सरकारले तोकेको समयमा प्रतिनिधिसभा निर्वाचन गर्न तयार रहेको जनाएको छ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको शान्ति सुरक्षाको प्रतिवद्धता सरकारले जनाएपछि आयोगले निर्वाचनको तयारी तीव्र रुपमा गरिरहेको जानकारी दिए।
अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएकाले यसमा दुविधा राख्न जरुरी नरहेको उनले बताए। उनले निर्वाचनका सम्बन्धमा दलहरुसँग छलफल गर्दा सबै दलहरु निर्वाचनमा जान तयार रहेको प्रतिवद्धता प्राप्त भएको तर दलहरुको सरोकार शान्ति सुरक्षामा रहेको उल्लेख गरे।
उनले अहिलेको ऐनमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको व्यवस्था नरहेको भन्दै सरकारले कानुन बनाएर दिए कार्यान्वयन गर्न आयोग तयार रहेको बताए।
माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनको तयारी पनि अघि बढेको उनले बताए।
बैठकमा समिति सदस्यहरुले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले गरेको तयारीका बारेमा चासो व्यक्त गरेका थिए।



