निर्वाचनबारे पूर्वपदाधिकारीसँग आयोगको परामर्श

हिमाल प्रेस २४ कार्तिक २०८२ १५:०६ | Monday, November 10, 2025
8
SHARES
निर्वाचनबारे पूर्वपदाधिकारीसँग आयोगको परामर्श निर्वाचन आयोगका पूर्वपदाधिकारीसँग सोमबार आयोगमा भएको छलफलका सहभागी। तस्बिर : रासस

काठमाडौँ– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ।

आयोगको केन्द्रीय कार्यालयमा सोमबार आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहीत र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले आयोगले पूर्वपदाधिकारीहरूसँग परामर्श गरेको हो।

जेनजी आन्दोलनको भावनाअनुरूप चुनावी अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। यस्तै १९ सदस्य पदका लागि आगामी माघ ११ राष्ट्रियसभाको निर्वाचन हुँदैछ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको परामर्शमा आयुक्तद्वय सगुनशम्शेर जबरा र डा. जानकी तुलाधर, पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङलगायत र आयोगका पूर्वसचिवहरू मधु रेग्मी, भरतमणि सुवेदी, सुरेश अधिकारी, रविराज पन्तलगायत सहभागी थिए।

बैठकमा आयोगका सचिव महादेव पन्थले यसअघिका निर्वाचन व्यवस्थापनमा भएका अनुभव तथा आइपरेका समस्या र चुनौती समाधानमा खेलिएको भूमिकासम्बन्धी अनुभव आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताए।

तोकिएको निर्वाचन समयमा नै सम्पन्न गर्न मुलुकभर रहेका आयोगका कार्यालयहरूमा रिक्त पदमा पदपूर्ति गरिसकिएको जानकारी दिँदै उनले निर्वाचन सुरक्षाका लागि सुरक्षा संगठनको बैठक बसेको बताए।

आयोगमा हालसम्म १२५ दल दर्ता भएका छन्। केही दल दर्ताका प्रक्रियामा रहेको आयोगले जनाएको छ। चालु आवमा नयाँ तीन दल दर्ता भएका सचिव पन्थले जानकारी दिए।

प्रतिनिधिसभाको निर्वाचनका लागि अनुकूल वातावरण निर्माणका लागि आयोगले खेल्नुपर्ने भूमिका र ध्यान दिनुपर्ने विषय, निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनका लागि चाल्नुपर्ने कदम विषयमा छलफलबाट महत्त्वपूर्ण सुझाव प्राप्त हुने उनले बताए।

प्रकाशित: २४ कार्तिक २०८२ १५:०६ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast