यात्रा संस्मरण

रेलमार्गबाट देखिएको कोलोराडो

विमल अधिकारी १५ कार्तिक २०८२ ९:३०
10
SHARES
रेलमार्गबाट देखिएको कोलोराडो

२०२१ अक्टोबर १७ आइतबारका लागि भ्रमणको कार्यक्रम बनाएछन् हाम्रा शुभचिन्तकहरूले। दुईचार घण्टामा निर्णय दिनुपर्ने भनेर मेरी उनीबाट फोन आयो। म स्टोरको काममा थिएँ। कामका बेला फोनमा बोल्नु कम्पनी नियमविपरीत भए पनि घरबाट फोन आएपछि उठाएँ। वास्तविक कुरा सुनेँ। साहिँलीको जिद्दी बुझेर युरोप भ्रमणमा गएकी स्टोर म्यानेजरलाई फोनमार्फत मेसेज पठाएँ। स्टोर जिम्मा लिएकाहरूलाई पनि फोन लगाएँ तर प्रायः सहकर्मीहरू वार्षिक छुट्टी मनाउन कोलोराडोबाहिर गएका रहेछन्। मार्केटिङ म्यानेजरलाई फोन गरेँ। फोन लागेन। जे परे पर्छ भन्दै ‘१७ तारिख आइतबारका लागि बुक गरिदिनू, म्यानेजर आएपछि मिलाउँछु नि! करिब दुई हप्ताअघि नै जानकारी दिएको थिएँ’, मैले साहिँलीसँग भनेँ।

जुलाई ९/१० (शुक्रबार/शनिबार) सन् २०२१ का क्यापियन जाने योजना भनी छुट्टी लिएको थिएँ। क्यापियन जान अनुकूल मिलेन। तीजका पार्टीमा अनिवार्य जानुपर्ने भएकाले ती कार्यक्रममा छुट्टी सकिएको थियो। सन् २०२१ मा भ्रमण गरिएको थिएन।

क्याम्पियन जाने भन्दा महत्त्ववपूर्ण कार्यक्रम हाम्रा लागि जुरेको थियो नयाँ वासस्थान। तत्काल कोलोराडोमा घर किन्ने योजना थिएन। कोभिड-१९ ले त्राहिमाम थियो विश्वजगत्। हामी पनि डेरा अर्थात् अपार्टमेन्टमा थियौँ। मेरो मुलतबी अपेक्षामा घर थिएन। घर किन्ने कुरामा म उदास थिएँ। घरपायक काम थियो हिँडेरै जान सकिने (२० मिनेट दूरी)। साँझको काममा गाडी लिएर जान्थेँ। रिले दौडजस्तो थियो जीवन। सँगालोमा कार चलाउँथ्यौँ हामी। टाढाको काममा जाँदा बस र रेल चढ्थेँ म।

इस्ट एभान्सस्थित ग्यास स्टेसनको जागिर कोभिडको त्रासले छोडेको थिएँ। घरनजिक एक भारतीयले चलाएको 7 Eleven स्टोरमा काम थालेको थिएँ। कोरोनाका बेला ‘व्यापार नही हैं, वाद में बोलाएङ्गे’ भन्दै कार्यतालिकाबाट दुई महिनापछि हटाइदियो पटेल साहुले। उसको नीति एकदुई महिना राख्ने/हटाउने जस्तो लाग्यो। ग्रिनकार्ड होल्डर भए पनि बिनाकारण आंशिक जागिरबाट हात धुनुपर्‍यो। गुनासो गर्ने निकाय भए पनि उसले कोरोनाका कारण व्यापार छैन भन्थ्यो होला। कम्पनी भए पो, व्यक्तिगत स्टोर थियो उसको। यो कुरा पार्करस्थित Every Day Gas Station का नेपाली म्यानेजरले थाहा पाएछन्। आइतबार एक नेपाली रोजगारदाताले दिक्क लगाएकाले मलाई बोलाएर काम दिए। फेब्रुअरी २३ सन् २०२० बाट इस्ट एभान्सस्थित ग्यास स्टेसनको काम छोडेको थिएँ।

सन् २०२० जुनदेखि पार्करस्थित उक्त ग्यास स्टेसनमा आइतबारको बिहानी सत्रको काम थालेँ। त्यहाँ गाडी लिएर जान्थेँ। आइतबार दिनभरि गाडी घरैमा हुने भएकाले समस्या थिएन। २० मिनेटको यात्रा थियो पार्कर। दुःखको कुरा उनी सन् २०२० को दसैँको पूर्वसन्ध्यामा दिवङ्गत भए। लामो समयदेखि आमाशयको क्यान्सरसँग जुधिरहेका थिए। एक भलादमी युवा नेपालीको निधनमा कोलोराडो नेपाली समुदाय मर्माहत बन्यो। मृत्यु सत्य हो, ढिलोचाँडो मात्र जो पनि जानुपर्छ भनेर चित्त बुझाइयो। एक तस्बिर कैद नगर्दाको पछुतो जीवनपर्यन्त रहिरहने भो मलाई।

सन् २०१९/०२० मा घर किनबेच गर्नेवाला दुई नेपाली ‘ब्रोकर’ सम्पर्कमा आए। हामीलाई अनुकूल पर्ने घर फेला पार्न सकेनन्। फेरि हाम्रो हैसियतले नभ्याउने घर देखाए उनीहरूले। तर पनि लोन पास (ऋण पारित) गर्न नसक्ने बताए। कारण थियो- लगातार काम नगरेको विवरण। प्रत्येक स्टोरमा लगातार काम गर्नुपर्ने रहेछ। मुलतबी अपेक्षामा घर नभएकाले मचाहिँ उदासीन बनिरहेँ।

सन् २०२० मा अपार्टमेन्टमै बस्ने इलामका एक नेपालीले घर किनेर सरेको जानकारी दिए। कामपायकको घर मिलेछ ४ लाख ३० हजार डलरमा। त्यसपछि मेरो घैँटोमा घाम लाग्यो। मनमा चस्स पस्नु स्वाभाविक थियो। बागबजार, काठमाडौँका एक रैथाने नरेश छेत्रीमार्फत हामी पनि एकतले बेसमेन्टसहितको सुविधासम्पन्न तीन बेड रुमको घर किन्न सफल भयौँ ४ लाख ९० हजार डलरमा, डाउन पेमेन्ट १५ हजार।

महिनाको २४ सय डलर अनिवार्य तिर्ने हिसाबको हामीले किनेको घर कामपायक थियो। आफन्तपायक थियो। जुलाई ९ शुक्रबारका दिन क्लोजिङ (घरजग्गा पास गर्ने वकिल राखेर लेन्डरको अफिसमा), १० मा साँचो हस्तान्तरण, ११ तारिखमा सामान सार्ने, १२ तारिखमा सर्ने योजना बनेका कारण हामीले सन् २०२१ को क्यापियन रद्द गरेका थियौँ। त्यस वर्ष गर्मीयाममा यात्रा गरेनौँ हामीले। यात्रा नगरे पनि पूरै वर्ष गइसकेको थिएन। वकिल राखेर घरजग्गा पास गर्ने, मालपोत कार्यालय नचाहिने, १५० पृष्ठसम्मको कागजमा दम्पतीले सही गर्नुपर्ने र वकिलको पनि नवीकरणसहित स्ट्याम्प हुने आदि परिवेशले मलाई नौलो अनुभूति भएको थियो।

वर्षभरि गोरु जसरी जोतिनुपर्छ। बेलाबेला निद्रा माया मार्नुपर्छ। त्यसकारण पुनर्ताजगी हुनुपर्छ। अतः त्यो मौकाको खोजीमा थियौँ हामी। अक्टोबर १७ मा मेरो बिदा नभए पनि पन्जाबी म्यानेजरले अर्को मान्छे राखेर मलाई बेतलबी बिदा उपलब्ध गराएकी थिइन्। हप्तामा पाउने ४० घण्टालाई बाधा नपारी प्रबन्ध गरेकी थिइन् उनले। छुट्टी पाएपछिको उत्साह बेग्लै थियो।

हाम्रो भ्रमणको केन्द्र थियो रोयल गर्ज रेलरोड, क्यानन सिटी कोलोराडो। हाम्रा टोली अगुवा थियो- सिरहाका रेग्मी परिवार। उक्त टोलीमा दाङका गौतम, सर्लाहीका अधिकारी र गौरका भट्टराई परिवार। सबैको आआफ्नो कार भए पनि अधिकारी टोलीले भट्टराई परिवारको कारमा लिफ्ट लिएको थियो।

हामी बिहान ८ बजे भ्रमण तयारीमा थियौँ। बेलुकाका लागि खानाको जोहो गरिएको थियो घरमा। फर्कनेबित्तिकै राइसकुकर अन गर्ने हिसाबले तयार गरेकी थिइन् साहिँलीले। रौतहट र सर्लाहीको टोलीलाई बेलुकाको खानाको प्रबन्ध निज निवासमा थियो। ९ बजे यात्रा सुरु भनिए पनि केही विलम्ब भयो तस्बिर खिच्न व्यस्त हुँदा।

टोली ९ः१५ बजे दिदी अर्थात् जेठीसासूको घरमा जम्मा भयो खाजापानीसहित। अनि हामी E 470 टोल वेबाट दक्षिणतर्फ लाग्यौँ। राजमार्गको यात्रा। मोबाइलमा गुगल भन्छ- कोलोराडो स्प्रिङ कटिसकेपछि क्यानन सिटी आउँछ। त्यही George Rail Road छ। उक्त स्थानमा ११ः३० मा पुगिन्छ।

यात्राका क्रममा जेठीसासूको चार पारिवारिक सङ्ख्या भए पनि एकजना नगएकाले तीन र मेरा तीन सदस्य थियौँ। उहाँका जेठो सामूहिक भ्रमणमा जान छोडिसकेकाले सँगै यात्रामा सामेल भएन। गाडीमा हामी छ जना छौँ। दाङको टोलीको पाँच सदस्य यात्रामा छन्। पानबारी (पूर्वी नेपाल, तराई) तीनजना आमा, छोराबुहारी (दुई नाति कलेज पढ्ने भएकाले टोलीमा सामेल छैनन्) तीन टोलीको गन्तव्य रोलरोड, क्यानन सिटी कोलोराडो छ। सबैको आआफ्नो हिसाबको ड्राइभिङ भए गन्तव्य रेलरोड नै छ। यात्राका क्रममा पुरानै समस्या ममाथि तेर्सिन्छ- ड्राइभिङ। परफेक्ट ड्राइभिङ हुतिहारा परदेशमा परनिर्भर राम्रो मानिँदैन। मेरो कमजोरी मेरो निरीहपन।

पाँच वर्ष हुन लागिसक्यो। आफैँ ड्राइभ गरेर सपरिवार भ्रमणमा निस्कने कहिले? जेठीसासूले सदासयताले र साढुदाइले अभिप्रेरित गर्ने हिसाबले भने पनि मनमा चस्स बिझ्छ। जे होस्, जसरीतसरी चलेकै छ भन्ने भाव प्रकट गर्छु। काम गरेकै छु भनी आफ्नो कमजोरी लुकाउन खोज्छु। पर्फेक्ट  ड्राइभिङ उकाली-ओराली, हाई वे, टोल वे चारैतिर जान सक्छु भन्ने हिम्मतै आउँदैन। फेरि बहस गर्नु बेकार ठानेर भ्रमणको रहर पूरा गर्ने, पहाडको पर्यटकीय रेलयात्रा गर्ने उद्देश्यले निरीह बन्छु। आफैँ ड्राइभमा जानुपर्ने दृढ सोच मनमा राख्छु। उहाँहरूले पनि मेरै भलाइका लागि भनेको हो भनी मनमनै धन्यवाद भन्छु।

कोलोराडो स्प्रिङका सुख्खा पतझर कोणधारी जङ्गल, खुल्ला मैदान पार गरिसकेपछि बाटोमा दोस्रो विश्वयुद्धका सङ्ग्रहालय देखिन्छ। यात्रा उराठलाग्दो छ। मौसम उदासीन बनेकोमा दिक्क लाग्छ। लक्ष्य पहाडमा अवस्थित ‘रोयल गर्ज रुट रेलरोड’ छ। हामी ११ः३० तिर पुग्छौँ उक्त स्थानमा। दाङको टोली १२ः३० भित्र आइपुग्छ। रेलको टिकट १२ः३० को छ अर्थात् दोस्रो सिफ्टको। टोली प्रमुखको नाउँमा टिकट बुक थियो। हामीले नगदै बुझाएका थियौँ टोली प्रमुखलाई। एक व्यक्ति होस् या टोलीकै होस् प्रतिव्यक्ति ७४ डलर जस्तो लाग्छ।

रेलरोडको मुख्य स्टेसन पुगिसकेपछि हामी बाथरुम गई फ्रेस हुन्छौँ। जहीँतहीँ बाथरुम सेवा स्तरीय र निःशुल्क हुने गर्छ अमेरिकामा। टिकट घरभित्रै बाथरुम रहेछ। बाहिर टी-सर्ट, ज्याकेट र सेभिनियर पसल। त्यहाँ एक से एक तस्बिर कैद गर्छु। अनि सोच्छु- नेपालमा विकास किन हुन नसकेको होला? शौचालय जान लामबद्ध अनुशासित थिए सेवाग्राही। दाङको टोली आएपछि हामी खाजापानी खाएर १२ः३० मा रेल चढ्छौँ।

हाम्रो टोली गेट नं. ३ लेखिएको स्थानमा प्रवेश गर्छ। टोलीका कुल सदस्य १४ छन्। सुरक्षा गार्डलाई टिकट देखाएपछि पाल टाँगेको ठाउँबाट प्रवेश गर्नुपर्ने रहेछ। समूहसमूहको तस्बिर लिइँदो रहेछ। तस्बिर खिच्ने या पेनड्राइभमध्ये ३०-६० डलरको विकल्प दिइँदो रहेछ। मन नलागे नलिँदा पनि करकाप नहुने। साहिँलीले ३० या ६० केही पनि खर्च गर्न मानिनन्।

गोरखाको मनकामना मन्दिरकै याद दिलायो मलाई। टोली अगुवा रेग्मी दाइले चाहिँ ३० डलर तिरी १४ जना समेटिएको सामूहिक तस्बिरको पेनड्राइभ बोक्नुभो। मैलेचाहिँ आफ्नो पारिवारिक तस्बिर लिएर पेनड्राइभमा लिने सोच बनाए पनि सबै तितरबितर भएपछि यो सपना अधुरै रह्यो।

आफ्नो मोबाइलमा कोइलाबाट चल्ने सुन्तले रङको तस्बिर कैद गरेँ, सेल्फी पनि हानेँ। म फोटोको सौखिन भए पनि अरूले झर्को मानेझैँ लाग्थ्यो मलाई। रेल चढिसकेपछि मलाई नौलो अनुभूति भयो। पहिलो पटक मैले त्यस्तो अनौठो अनुभव गरेँ।

रेलभित्र सम्पूर्ण सुविधा छ। काठे रेस्टुरेन्ट मेरा लागि अनौठो थियो। रेस्टुरेन्टमै बसेजस्तो रेलको यात्रा। काठैकाठको सिट, रेस्टुरेन्टकै टेबुलजस्तो। रेस्टुरेन्टको काउन्टर सर्भिस। खाजा, कफी र जुस निकै महँगा थिए। तर पनि खरिद गर्नेको कमी थिएन। पर्यटकहरू पैसाको मतलब नराखी सेवासुविधा हेर्छन्। मैले केही मगाइनँ। बच्चाहरूका लागि जुसका साथै चिकेन स्टिक मगाइएको रहेछ। अमेरिकी ढाँचामा एकएक समूहले मगाएर खालान् भन्ने लागे पनि त्यहाँ त्यसो नगरेको पाएँ।

किशोर उमेरका नानीहरू सेल्फी खिच्न व्यस्त थिए। रेलभित्र पारिवारिक फोटो र दृश्यावलोकनमा पर्यटक व्यस्त देखिन्थे। चियाखाजा खाइसकेपछि हाम्रो टोली रेलको बार्दलीमा चढेर दृश्यावलोकन गर्दै मनोरम पहाड यात्रामा रमायो। फोटोमा रमायो। रेलको डब्बाभित्र खानेकुरा लिएर जान नपाइने रहेछ। त्यहीँ किन्नुपर्ने रहेछ। स्वास्थ्यका कारण मैले पानी मात्र खरिद गरेको थिएँ।

अमेरिकामा सेल्फ पे सिस्टम हुने गर्छ। नेपाली टोलीमा पनि देखिन्थ्यो। हामी सेल्फी र सामूहिक तस्बिरमा रमायौँ। बच्चाहरूको टोली जुस र चिकेन फ्राईमा रमाएको थियो। रेलको डब्बापछाडि बार्दली रहेछ। बार्दलीमा ड्राइभरसिटी अनुहार देखिन्थ्यो। एसियाली मूलका र मेक्सिकाली मूलका देखिन्थे। चिनियाँ, कोरियाली, जापानी मूलका पर्यटकले लामालामा लेन्स भएका क्यामरा तेर्साउँदै परिवेशको कैद गरिएको दृश्य रोचक लाग्थ्यो। रेलका कर्मचारीले ठाउँठाउँको ऐतिहासिकता बताए पनि मैले बुझ्नै सकिनँ। बाटोघाटो र ऐतिहासिकता बताएको अनुमान लगाएको थिएँ मैले।

चट्टाने पहाडको कान्लामा गोरेटो बाटो देखेपछि नेपालको दुर्गम पहाडको झल्को दिन्थ्यो। चट्टाने पहाडमा रेल कुदेको छ। दिउँसो साढे २ बजे रेल स्टेसनमा फर्किन्छ। रेलको गन्तव्य सीमित रहेछ। पर्यटकीय मनोरञ्जनका लागि मात्र रेल सञ्चालित रहेछ। रेलबाटै चर्चित ब्रिज देखियो। डाँडामा अवस्थित झोलुङे्ग पुल पर्यटकको आकर्षक गन्तव्य हो। समय अभावका कारण पुलतर्फ जान सकिएन। जीवनमा पहिलो पटक कोलोराडो आएर रेल चढ्ने सौभाग्य मिलेको थियो। कोइलाबाट चल्ने पर्यटकीय रेलको पनि अनौठो अनुभव गरियो।

२ः३० पछि हाम्रो टिमले सल्लाह गर्‍यो नेपालीले चलाएको पसलमा गएर मम खाने। त्यही उद्देश्यका साथ हामी एक घण्टाको ड्राइभ गरी कोलोराडो स्प्रिङस्थित पुरानो सहर पुग्यौँ। मम पसलको नाम रहेछ Indian Causine । प्रायः नेपाली रेस्टुरेन्टमा इन्डियन शब्द झुन्डिएको हुन्छ। सबैले गाडी पार्किङ गर्छन् पसलमा। सूचना टाँसिएको थियो- नेपालीहरूको महान् चाड दसैँका कारण सोमबार अर्थात् १८ तारिखबाट खुल्नेछ। दसैँका कारण दुईचार दिन पसल बन्द गरिएको रहेछ। हामी भोकको सुरमा थियौँ। हिस्स पर्‍यौँ। बच्चाहरू मम खान नपाएकोमा मन अमिलो पार्दै रिसाए। अमेरिकाको नेपाली रेस्टुरेन्टमा पहिलो पटक मम खाने योजना जुरेको रहेनछ।

जेठीसासूले टिमलाई भन्नुभयो- ‘यिनीहरू (हामी) ले ब्रिज देखेका छैनन् ल्यान्ड अफ द गड्स पनि देखेका छैनन्। मौका मिलेमा केही सङ्ग्रहालय पनि देखाइदिउँला। पहिलो ब्रिज जाऊँ, त्यसपछि सोचौँला।’ हाम्रो टोली ब्रिजतर्फ अघि बढ्छ। आधा घण्टाको ड्राइभपछि ब्रिज पुग्छौँ। चैते हुरी चलेको छ, स्याँठ हानेको छ। हामी मात्र काउन्टर पुग्छौँ। मौसम प्रतिकूल भएकाले जिपलाइन र केबलकारको मौका जुर्दैन हामीलाई। फोटो खिचेर चित्त बुझाउँछौँ।

हाम्रो गन्तव्य ल्यान्ड अफ द गडतर्फ मोडियो। एक घण्टाको ड्राइभपछि हामी त्यहाँ पुग्यौँ। बाटो भुलिनु स्वाभाविक रहेछ। हामी त अरूको लिफ्टमा यात्रानुभूत गरिरहेका थियौँ। कोलोराडोको पुरानो बस्तीनजिक रहेछ उक्त पर्यटकीय स्थल। हाइकिङ एरिया जस्तो रहेछ – ‘ल्यान्ड अफ द गड’। पार्किङ तिर्नुनपर्ने अनि भ्रमण गरेको दस्तुर नलाग्ने रहेछ। पार्किङ एरिया पुगेपछि अन्य नेपाली पनि देखिए। भर्खर बिहे गरेका नवदम्पतीहरू पाइन्ट र टिर्सटको भेषमा देखिन्थे। सिन्दूरपोते एवं सौभाग्यले आफ्नो पहिचानचाहिँ दिएका रहेछन्। यात्राका कारण टाउको दुखिसकेको थियो। सार्वजनिक शौचालयमा पुगी मूत्रत्याग गरेपछि मात्र फ्रेस भइयो। व्यवस्थित एवं निःशुल्क शौचालयलाई मनमनै धन्यवाद भन्दै मुख्य पर्यटकीय क्षेत्रतर्फ लाग्यौँ हामी।

साँझको ५-७ सम्म उक्त क्षेत्रमा रहन्छ हाम्रो टोली। म एक से एक तस्बिर कैद गर्छु। गुफा, शिलालेख आदि देख्दा ऐतिहासिक स्थान रहेको सहजै अनुमान लगाउँछु। रेलको डिब्बामा सँगै यात्रा गरिरहेका केही पर्यटक पनि त्यहाँ देखिन्थे। ७० वर्षीया रेग्मी आमा पनि हामीसँगै हाइकिङ गरेको देख्दा अचम्म मानेको थिएँ। पानबारी (सिरहा) का रेग्मी आमाको दीर्घायुको कामना गरेँ मैले। घाम डुबिसकेको छ। ७ः०० बजेतिर पार्किङ लट जान लाग्छौँ हामी। त्यस क्रममा थुम्का, पोथ्रा, झाडी, जङ्गलका दृश्य कैद गर्दै अघि बढ्छौँ। बाटामा कालो हरिणतर्फ आँखा पर्छ। क्यामरामा कैद गर्ने प्रयास गर्छु तर सम्भव हुन्न। जीवनमा पहिलो पटक त्यस्तो प्रजातिको हरिण देख्दा आनन्दित हुन्छु। थकाइले लखतरान भएकाले घरकै गन्तव्यतर्फ अघि बढिन्छ।

कोलोराडो स्पिङ एरियामा अवस्थित ‘ल्यान्ड अफ द गड’को भ्रमण पूरा गरिसकेपछि टोली घर आइपुग्छ। हाई वे ६५/७० को स्पिड र पहाड एरियामा ४५ स्पिड हुने रहेछ। टोली ८ः३० मा निवास पुग्छ। घरमा भोजनभान्सा गर्छौँ। बिहानै इन्तिजाम गरेर राखिएकाले खाना पाक्न छिटो भएको थियो। ९ः१५ बजे जेठीसासूको परिवारलाई बिदा गर्छौँ। भ्रमणको मौका जुराई सहयोग गरिदिएकोमा धन्यवाद भन्दै बाई बाई गर्छौँ। रात्रिको समय छ। भोलि काममा जानुपर्ने भएकाले ओछ्यानमा पल्टिहाल्छौँ।

भ्रमणका बेला पाँच वर्ष पूरा गरिसक्दा पनि ड्राइभ गर्ने हिम्मतै नआएको कुराले मलाई हीनताबोध र ग्लानि भएको थियो। अमेरिकामा पुरुष या महिला जो पनि सक्षम र आत्मनिर्भर हुनुपर्छ भन्ने पाठ सिकेर पनि निरीहजस्तो बनियो। समयले एक दिन हाई वे, पहाड, टाकुरा, ड्राइभ गराउला भन्ने आस छ। सामान्य ड्राइभिङले काम मात्र चल्छ तर यायवरीय बन्दै भूगोल, जनजीवन बुझ्न परफेक्ट ड्राइभ अनिवार्य हुने रहेछ।

यो मेरा लागि कोलोराडोको दोस्रो भ्रमण थियो। रेलरोड पर्यटकीय गन्तव्य रहेछ। दक्षिणी पहाडतिर पर्ने उक्त स्थान आम्दानीको स्रोत रहेछ। रेल, डिब्बा, रेलको रेस्टुरेन्ट मेरा लागि नौला-अनौठा थिए। रेलरोड, क्यानन सिटीको भ्रमणले पहाडी जीवन, परिवेश, पुरानो सहर, पर्यटकीय स्थालहरूको जानकारी दियो। भूगोल देखायो। सुधार केन्द्र (जेल) रेल स्टेसनअघि रहेछ। उक्त स्थानको परैबाट अवलोकन गर्दा अनौठो लाग्यो। उब्जनी नहुने ठाउँ रहेछ ती स्थानहरू। त्यो बेला नेपाल सम्झेँ। बोट (डुङ्गा) चलाएर पर्यटक आकर्षण गरेको चुरे पहाड एवं महाभारत खाले पहाडले पनि नेपालको झल्को दिन्थ्यो। आगामी भ्रमणचाहिँ न्युयोर्क गई त्यहाँको परिवेश र भूगोल बुझ्ने रहर छ। स्वतन्त्रताकी प्रतिमूर्तिलाई पृष्ठभूमिमा राखेर एक तस्बिर भित्तामा सजाउने रहर छ। भ्रमणले जनजीवन र भूगोलको मात्र अध्ययन गराउँदैन, मान्छेलाई पुनर्ताजगी गराउँछ।

कोलोराडो, अमेरिका

प्रकाशित: १५ कार्तिक २०८२ ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast