नेकपा एमालेका महासचिव शंकर पोखरेल
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता भएको आधारमा फागुन २१ गते नियोजित निर्वाचन सुनिश्चित भएको दाबी भ्रमपूर्ण भएको टिप्पणी गरेका छन्।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत वर्तमान सरकार र यस सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको बेला निर्वाचन सुनिश्चित भएको दाबी भ्रमपूर्ण भएको बताएका हुन् ।
‘राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गत असोजमा सम्पन्न केन्द्रीय कमिटी १०औँ बैठकको निर्णयअनुसार भएको हो।
अहिलेको सरकार र यस सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट छ, र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा हो’, उनले लेखेका छन् ।
‘लोकतन्त्रलाई जीवन पद्धति मान्ने पार्टी भएकाले हामी नियमित अद्यावधिकका प्रक्रियामा छौँ,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्।
वर्तमान सरकार न निर्वाचनतर्फ उन्मुख छ, न त आवश्यक वातावरण निर्माण गर्न इच्छुक देखिन्छ। बरु विघटनपछिका कदम र सरकारले अपनाउँदै आएको व्यवहारले दलगत क्रियाकलापलाई दबाउने र समाजमा भय, अस्थिरता र अराजकता फैलिने स्थिति बनाएको उनको आरोप छ।
महासचिव पोखरेलले प्रतिनिधि सभा विघटनका कारण संविधान ‘घाइते’ बनेको उल्लेख गर्दै ‘२३ र २४ गतेका विध्वंसात्मक घटनाले कमजोर बनाएको संविधानलाई पुनः सक्रिय बनाउन संसद् पुनः स्थापना अपरिहार्य’ भएको बताएका छन् । लोकतन्त्रलाई सही मार्गमा फर्काउने एक मात्र उपाय प्रतिनिधि सभाको पुनर्स्थापना भएको उनको दाबी छ ।


