प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूले भने – चुनावका लागि भयमुक्त वातावरण बनाउनुस्

हिमाल प्रेस १६ कार्तिक २०८२ २०:३४
52
SHARES
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूले भने – चुनावका लागि भयमुक्त वातावरण बनाउनुस्

काठमाडौँ- मुख्यमन्त्रीहरूले चुनावका लागि भयमुक्त वातावरण बनाउन प्रधामन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री कार्कीको आह्वानमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मुख्यमन्त्रीहरूले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्री कार्कीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक बसेको हो।

मुख्यमन्त्रीहरूले निर्वाचनको प्रमुख चुनौती शान्ति सुरक्षाको विषय रहेकाले यसमा गम्भीरताका साथ लागेर भयमुक्त वातावरण बनाउनुपर्ने उल्लेख गरेका थिए। संघ, प्रदेश र स्थानीय सरकारले सहकार्य तथा समन्वय गरे समयमै चुनाव गर्न सकिने उनीहरूको भनाइ छ।

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आफूहरूले चुनावका लागि भयमुक्त वातावरण बनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको बताए।

‘समसामयिक राजनीतिक सन्दर्भ, आसन्न निर्वाचनलगायतका विषयमा छलफल केन्द्रित रह्यो,’ सोनलले हिमालप्रेससँग भने,‘चुनावका लागि शान्ति सुरक्षा दुरुस्त पारेर भयमुक्त वातावरण बनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छौँ।’

प्रधानमन्त्री कार्कीले राजनीतिक दलका साथै सरोकारवालाहरूसँग संवाद अघि बढाएकोले चुनावका लागि यो कदम फलदायी हुने मुख्यमन्त्रीहरूले विश्वास व्यक्त गरेको सोनालको भनाइ छ।

सोनलले छलफलका क्रममा आफूले प्रदेश सरकारलाई सरकार सरह व्यवहार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गरे। ‘केन्द्रजस्तै प्रदेश र स्थानीय तहहरू पनि सरकार हुन्। उनीहरूसँग भेदभाव गर्नु भएन, सरकार सरह व्यवहार गर्नुपर्‍यो भनेको छु,’ उनले भने।

मुख्यमन्त्री सोनलले खडेरी र अतिवृष्टिका कारण किसानहरू प्रभावित भएकाले मधेशमा किसानका लागि विशेष प्याकेजको घोषणा गर्न आग्रह गरे। मुख्यमन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणका लागि संघ सरकारले प्याकेज घोषणा गर्नुपर्ने बताएका थिए।

त्यस्तै उनीहरूले प्रदेशले प्राप्त गरिरहेको चार प्रकारका अनुदानवापतको रमक कटौती नगर्न प्रधानमन्त्री कार्कीलाई सुझाव दिएका छन्। संविधानअनुसार प्राप्त हुने अनुदान कटौती गर्न नहुने उनीहरूको भनाइ छ।

प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेर दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएकी थिइन्।

प्रकाशित: १६ कार्तिक २०८२ २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast