काठमाडौँ- मंसिर १ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ। एनपीएलमा नेपाली समर्थकको खचाखच उपस्थिति देखिन्छ। त्यसमा युवा पुस्ता बढी छ। क्रिकेटप्रेमी नेपालीहरूले विगत वर्षझैँ क्रिकेट हेर्न यसपटक रूखको टुप्पोसम्म पुग्नुपरेको छैन। यसपल्ट मैदानमा व्यवस्थित रूपमा सिटको व्यवस्था छ। त्यहीअनुसार टिकट काटेर समर्थकले खेलाडीलाई हौसला प्रदान गरिरहेका छन्।
क्रिकेट हेर्न चर्चित कलाकार, पत्रकार, व्यावसायीहरूको उपस्थिति देखिएको छ। उनीहरू त्रिवि मैदानमा पुगेर खेलाडीलाई समर्थन गरिरहेका छन्। साथै सामाजिक सञ्जालमा पनि उनीहरू आफ्ना समर्थक टिमको भिडियो र तस्बिर सेयर गरिरहेको देखिन्छ। फिल्म, गीतमा देखिएका चर्चित अनुहारलाई त्रिवि मैदानमा देख्दा दर्शक उत्साहित भएका छन्। यसले खेलाडीलाई थप हौसला मिलेको अनुमान गर्न सकिन्छ।
गत वर्षको तुलनामा थुप्रै कलाकर्मी त्रिवि मैदानमा पुगेका छन्। कोही अझ जाने क्रममै छन्। आफूले समर्थन गरेको टिमको खेल हुँदा कलाकारहरूले खुलेरै समर्थन गरिरहेका देखिन्छन्। रंगशालामा कोही कलाकार जर्सीमा देखिन्छन् भने कोही आफ्नो टिमको झण्डा फहराइरहेको फोटो, भिडियो, फेसबुक रिल्स तथा टिकटक छ्यापछ्याप्ती भेटिन्छ।
वरिष्ठ अभिनेता हरिवंश आचार्य खेलको पहिलो दिन त्रिविमैदान पुगेका थिए। उनले फेसबुकमा नेपाली क्रिकेट विकासको महत्त्वपूर्ण लिग भन्दै पत्नीसहितको फोटो सार्वजनिक गरेका थिए। उनले आफ्नो समर्थन टिम नखुलाए पनि उनले एनपीएललाई नेपाली क्रिकेटको महत्त्वपूर्ण लिगका रूपमा लिएको उल्लेख गरेका छन्।
गायिका रचना रिमाल एनपीएल सुरु भएदेखि निकै उत्साहित र सक्रिय छिन्। झापा स्थायी घर भएकी रिमालले विराटनगर किंग्सको समर्थन गरिरहेकी छन्। उनी उक्त टिमकी ‘फेस अफ विराटनगर किङ्स’ हुन्। रिमाल विराटनगर किंग्सको खेल हुने समयमा मैदानमै उपस्थित भएर खेलाडीलाई हौसला दिइरहेकी छन्। सामाजिक सञ्जालमा पनि एनपीएलबारे उनको स्टाटस पोस्ट गरिरहन्छिन्। उनी अहिलेकी अत्यन्त व्यस्त गायिका हुन्। एनपीएल मात्र नभएर अन्य खेलप्रति पनि उनले सामाजिक सञ्जालबाट रुचिका साथ समर्थन जनाइरहेको देखिन्छ।
अभिनेता दयाहाङ राईले सम्पूर्ण खेलाडीलाई सफलताको शुभकामना दिँदै आफू विराटनगर किंग्सको समर्थन गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनी विराटनगर किंग्सको गुडविल एम्बेसडर हुन्। फिल्म छायांकनमा व्यस्त भएका कारण उनले फेसबुक स्टाटसमार्फत टिमलाई समर्थन गरिरहेको देख्न सकिन्छ। उनी अहिलेका व्यस्त अभिनेता हुन्।
अभिनेत्री ऋचा शर्मा सुदूरपश्चिम रोयल्स टिमको समर्थक हुन्। गृह प्रदेश सुदूरपश्चिमकी उनी पनि एनपीएल हेर्न त्रिवि मैदान पुग्छिन्। उनले त्रिवि मैदानमा पुगेर बनाएको एक फेसबुक रिल्समा क्रिकेट रंगशालाको प्रशंसा गरेकी छन्। उनले भनेकी छन्, ‘यो विदेश होइन्, नेपाल हो। यहाँ (त्रिवि मैदान) उभिएर हेर्दा लाग्छ, हामी नेपालीले यस्ता स्टेडियम विदेशका मात्र देख्यौँ र सोच्यौँ हाम्रो देशमा पनि यस्तो स्टेडियम भए हुन्थ्यो। तर आज यो अगाडिको स्टेडियमले गर्व महसुस गराएको छ। ऊर्जा थपेको छ।’
यस्ता कार्यक्रमले मनोरञ्जनमात्र नभएर नेपाली क्रिकेटमा आत्मविश्वास बढाउने धारणासमेत राखेकी छन्। साथै उनले क्रिकेटका लागि स्टेडियममा देखिएका परिवार, बच्चासँगै डाइहार्ट फ्यान सबै आएर एउटै मुटुको धडकन भएको देख्दा नेपाली क्रिकेटको भविष्य ठूलो रहेको अनुमान गर्न सकिने बताएकी छन्।
भिडियोमा उनीसँगै साथमा कलाकार दिव्यदेव पन्त, आकांक्षा कार्की पनि देखिएका छन्। सुदूरपश्चिमकै समर्थनमा टिकटकर कुल ब्वाई अर्थात् पारस बम, कलाकर हेना नगरकोटी, मोडल तथा होस्ट नम्रता श्रेष्ठ पनि स्टेडियम पुगेका छन्।
गायक प्रताप दास गायिका एलिनासँगै त्रिवि मैदानमा देखिएका थिए। त्यस्तै गायिका एञ्जिला रेग्मी क्रिकेटप्रमी हुन्। उनले क्रिकेटको स्टेडियम अगाडि उभिएर ‘लुम्बिनी जता तिमी उतै म झुम्मिनी’ बोलको गीतमा रिल्स बनाएर पोस्ट गरेकी छन्। यसर्थ उनी लुम्बिनी लायन्सको समर्थनमा छिन्। लुम्बिनीकै समर्थनमा हास्य कलाकार कर्म लामा पनि त्रिवि मैदान पुगेका छन्। यही टिमको समर्थनमा हास्य कलाकार सुमन कार्कीले फेसबुकमा भिडियोहरू पोस्ट गरिरहेका छन्।
अभिनेता दीपकराज गिरी कर्णाली याक्सको समर्थनमा खेल हेर्न स्टेडियम पुगेका छन्। एक वार्तामा उनले खेलको अन्तिम चरणमा बनेको स्टेडियमको खुलेरै तारिफ गरेका छन्। उनले भनेका छन्, ‘अन्तिम समयमा तदारुकताका साथ बनेको स्टेडियम राम्रो देखिएको छ। यो क्रिकेटको विकासका लागि जरुरी थियो।’ साथै उनले आफूलाई क्रिकेट निकै मन पर्ने खेल रहेको बताएका छन्। एनपीएलजस्तो खेलले राष्ट्रिय टिमलाई सहयोग हुने भएकोले यस्ता खेल भइरहनुपर्ने उनको धारणा छ।
गायक बद्री पंगेनी, कमेडी नाइट्स विथ च्यान्पयन्सका निर्देशक विशाल भण्डारी, कमेडी दरबारकी कार्यक्रम सञ्चालक माेडल सजिना खनाल र गायक तथा मोडल दुर्गेश थापाले पनि आफू क्रिकेट हेर्न त्रिवि गएकाे फाेटाे सामाजिक सञ्जालमा पाेस्ट गरेका छन्।
कलाकार कुमार कट्टेल ‘जिग्री’ भने पहेँलो रङको जर्सी र ब्याटिङ हान्दै गरेको एक फोटो फेसबुकमा पोस्ट्याएका छन्। सँगैको स्टाटासमा उनले एनपीएलमा यसपालि तपाईं कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ? भनेर सोधेका थिए।
अभिनेता राजेश हमालले फेसबुक स्टाटसमार्फत एनपीएलप्रति समर्थन जनाएका छन्। नेपाली फिल्म क्षेत्रमा अभिनेताका रूपमा कुनै समय एकछत्र राज गरेका हमाललाई महानायक मानिन्छ। हमाल अहिले कृषिमा आधारित रियालिटी सो ‘रिभोलुस्नरी एग्रिकल्चर वार’ रअको महाहोस्टका रूपमा कार्यरत छन्। हमाललाई गत वर्ष लुम्बिनी लायन्स टिमले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको थियो।
अभिनेत्री स्वस्तिमा खड्कालाई गत वर्ष टिम कर्णाली याक्सले ‘फेस अफ कर्णाली याक्स’ बनाएको थियो।
हास्य कलाकार सन्दीप क्षेत्रीले फेसबुकमा खेलको पहिलो दिन पोखरा एभेन्जर्सको गीत सेयर गरेका छन्। उनले फेसबुकमा वी आर ‘पोखरा एभेन्जर्स’ उनले लेखेका छन्। उनलाई गत वर्ष टिमले टिमले ब्रान्ड एम्बासडर बनाएको थियो। क्षेत्री टेलिभिजन कार्यक्रम ‘ह्वाट त फ्लप’ बाट चर्चामा आएका हुन्।
दर्शकलाई खेलप्रति आकर्षित गर्न भनेर गत वर्ष केही टिमले अग्रजदेखि चर्चित कलाकारलाई ब्रान्ड एम्बेसडर, फेस अफ किङ, भ्वाइस अफ टिमको उपाधि दिएका छन्। मंसिर २७ सम्म चल्ने एनपीएल नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो।
एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल गरी सात प्रदेशका आठ टिम सहभागी छन्। जारी एनपीएलमा लिग चरणको १४ खेल भइसकेको छ। एनपीएलमा लिग चरण, तीनओटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछ।
क्रिकेटप्रति धेरै कलाकारको लगाव देखिनुलाई अभिनेता दयाहाङ राई खेलप्रति उनीहरूको समर्थन भन्न रुचाउँछन्। उनी यसबाट देशको प्रचारसँगै संस्कार र संस्कृतिको प्रचार भइरहेको बताउँछन्। उनले एनपीएललाई देशको गौरवका विषयका रूपमा लिएका छन्।
‘क्रिकेटप्रति कलाकारको लगाव हुनु मिठो संयोजन हो। एनपीएल भनेको देशकै गौरवको विषय हो। यसले नजानिँदो तरिकाले हाम्रो देश, खेलसँगै हाम्रो संस्कार र संस्कृतिलाई पनि प्रचार गरिरहेको छ। त्यसमाथि एसोसिएटेड राष्ट्रका लागि झनै ठूलो प्रचार भइरहेको छ,’ उनले भने। पहिलेको तुलनामा दोस्रो एनपीएलमा धेरै परिवर्तन भएको भन्दै अभिनेता राईले यसले नेपालीहरूको आँट र कल्पनाको परिणाम देखाएको धारणा राखे।
‘क्रिकेटमा देखिएको परिवर्तन हामीले परिकल्पनासँगै आँट गर्यौँ भने सफल भइदोरहेछ, सम्भावना छ है, भन्ने प्रमाण हो। एक वर्षभित्रमा धेरै परिवर्तन हामीले देख्न पायौँ,’ उनले भने, ‘फ्लड लाइट राखेर रातको समयमा खेल चलिरहेको छ। गत वर्ष क्रिकेटप्रति यतिधेरै दर्शक आकर्षित होलान् भन्ने कल्पना थिएन। पछि विश्व नै चकित पार्ने दृश्य देखियो। यसले नेपालीहरूको क्रिकेटप्रति क्रेज विश्वभर फैलियो। यसले पनि यस वर्ष धेरै मानिस समर्थनमा रंगशाला पुग्नुभएको जस्तो लाग्छ।’
केही दिनसम्म फिल्म छायांकनका क्रममा व्यस्त भएका राईले काठमाडौँ फर्किएपछि मिलाएर रंगशाला गइरहेको जानकारी दिए।



