काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालका वामपन्थी दलहरू अझै पनि निरर्थक वादविवाद र शब्दजालमा फसेको टिप्पणी गरेका छन्। उनले युवा पुस्ताले ‘मोटो श कि पातलो स’ भन्ने विवादमा बिताएको समय सम्झँदै अब नयाँ पुस्ता पनि ‘अ’ र ‘ई’ कारको विवादमा फस्ने खतरा देखाएको सामाजिक सञ्जालमा लेखेका छन्।
उनका अनुसार लाखौं बेरोजगार नेपाली युवा विदेशिने क्रम रोक्ने, श्रम-निर्यात र वस्तु-आयातको परनिर्भरता तोड्ने प्रयास भने कमजोर नै रहेको छ। ‘यो बहसलाई तिनले ‘वे’ कार नभनून्,’ भट्टराईले व्यङ्ग्यात्मक शैलीमा भनेका छन्।
भट्टराईले यस्तो निरर्थक बहसमा अल्झिनु वा अरूलाई अल्झाउनुको सट्टा मार्क्सको द्वन्द्वात्मक भौतिकवादी चिन्तन र पछिल्लो वैज्ञानिक विकासमा आधारित भएर सोच्न आग्रह गरेका छन्।
उनले चौथो औद्योगिक क्रान्तिको (डिजिटल, जेनेटिक, नानो-प्रविधि, कृत्रिम बुद्धिमत्ता आदि) प्रभाव, नेपालको औद्योगिक यात्राको सुरुवाती अवस्था, गत शताब्दीका समाजवादी प्रयोगका सफलता-असफलता र हालको ‘जेनजी’ पुस्ताको विद्रोहको गहन विश्लेषण गर्नुपर्ने बताएका छन्।
‘देशकाल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, संगठन र नेतृत्वको विकल्प तयार गर्नुपर्ने बेला आएको छ,’ उनले लेखेका छन्।



