ईसीडी शिक्षक। फाइल तस्बिर।
काठमाडौँ- दैलेखको भैरवी गाउँपालिकाले करार शिक्षक तथा विद्यालयका अन्य कर्मचारीलाई आज (मंसिर १ गते) देखि विद्यालयमा हाजिर नगराउन निर्देशन दिएको छ।
गाउँपालिकाले जारी गरेको पत्र अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ८० लाख रुपैयाँको बजेट साउनदेखि कात्तिक मसान्तसम्मकै खर्चमा सकिएको र त्यसपछि तलबभत्ता वितरणका लागि आवश्यक स्रोत सुनिश्चित नभएकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख छ।
गाउँपालिकाले अनुदानको बजेट सकिएको अवस्थामा करार शिक्षक, थप तलबभत्ता खाने कर्मचारी, लेखा सहायक तथा बालविकास सहयोगी कार्यकर्ता (ईसीडी शिक्षक) लाई विद्यालयले हाजिर गराएमा त्यसबाट उत्पन्न हुने आर्थिक दायित्व कार्यालयले बेहाेर्न नसक्ने चेतावनी समेत दिएको छ।
यस घटनापछि नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले कडा प्रतिक्रिया दिएका छन्। उनका अनुसार संघीय सरकारले स्थानीय तहलाई शिक्षा र स्वास्थ्य क्षेत्र सुदृढ बनाउन भनेर दिने समानिकरण बजेटलाई धेरै स्थानीय तहले नाला, कुला र सडक निर्माण जस्ता अन्य योजनामा खर्च गर्ने प्रवृत्तिले आज शिक्षा क्षेत्र संकटमा परेको हो।
तिवारीले भैरवी गाउँपालिकाको यो निर्णय केवल बजेट अभावको समस्या मात्र नभई प्राथमिकताको गलत व्यवस्थापनको परिणाम भएको बताए। तिवारीले यस्तो अवस्थाले शिक्षक तथा कर्मचारीहरूलाई आन्दोलनमा जान बाध्य बनाएको उल्लेख गर्दै भैरवी गाउँपालिकामा आवश्यकता परे ‘ताला बन्दी’ जस्ता कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्।
उनका अनुसार यस्तो आन्दोलनमा देशभरका कर्मचारीहरूले ऐक्यबद्धता जनाउनेछन्। गाउँपालिकाको यस निर्णयले दैलेखका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षक तथा कर्मचारीहरू तलबभत्ताबाट वञ्चित हुँदैछन्।


