काठमाडौँ– पूर्वमहिला क्रिकेट कप्तान जहाँआरा आलमले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का पूर्व र कार्यरत अधिकारीहरूविरुद्ध यौन उत्पीडनको गम्भीर आरोप लगाएकी छन्। जहाँआराले यौन उत्पीडनको आरोप लगाएपछि बीसीले अनुसन्धान सुरु गरेको छ।
३२ वर्षीया दायाँ हाते यी तेज बलरले हालै युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा सन् २०२२ मा दक्षिण अफ्रिकामा सम्पन्न महिला क्रिकेट विश्वकपका क्रममा तत्कालीन टोली चयनकर्ता तथा प्रबन्धक मन्जुरुल इस्लामसहितका केही अधिकारीहरूले आफूलाई र अन्य खेलाडीलाई यौन दुव्र्यवहार गरेको बताएकी थिइन्।
हाल चीनमा कार्यरत मन्जुरुल इस्लामले भने ती सबै आरोप ‘पूर्ण रूपमा आधारहीन’ रहेको दाबी गर्दै अस्वीकार गरेका छन्। उनले सन् १९९९ देखि २००४ सम्म बंगलादेशका लागि १२ टेस्ट र ३४ एकदिवसीय खेलेका थिए।
जहाँआराले सन् २०२२ को विश्वकपका क्रममा घटेको एक घटनाको स्मरण गर्दै मन्जुरुलले ‘अनुचित शारीरिक सम्पर्क गरेको’ आरोप लगाएकी छन्। उनका अनुसार मन्जुरुलले प्रोत्साहनका नाममा ‘महिला खेलाडीहरूलाई बारम्बार अँगालो हाल्ने वा छातीमा हात राख्ने’ जस्ता कार्यहरू गर्ने गर्दथे।
मन्जुरुलले त्यस आरोपलाई अस्वीकार गर्दै भने, ‘तपाईँ टोलीका अरु खेलाडीहरूलाई सोध्न सक्नुहुन्छ, ती सबै कुरा झुटो हुन्।’
जहाँआराले बंगलादेशका लागि टी–२० र एकदिवसीय गरी १३५ अन्तर्राष्ट्रिय खेल खेलेकी छन्, जसमा उनले एकदिवसीय क्रिकेटमा ४८ विकेट र टी–२० मा ६० विकेट लिएकी छन्। उनले बीसीबीका अन्य अधिकारीहरूको नाम पनि सार्वजनिक गर्दै यसअघि बोर्डलाई औपचारिक पत्रमार्फत जानकारी गराएको तर कुनै कारबाही नभएको खुलासा गरेकी छन्।
बंगलादेश क्रिकेट बोर्डले यस विषयमा छानबिन गर्न विशेष समिति गठन गरेको छ। समितिले १५ कार्य दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्ने बताइएको छ।
बीसीबीले सार्वजनिक गरेको विज्ञप्तिमा ‘सुरक्षित, सम्मानजनक र व्यावसायिक कार्य वातावरण सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता’ दोहोर्याएको छ।
‘हामीले यो विषय गम्भीरताका साथ अनुसन्धान गर्नैपर्छ, किनकि यसले खेल क्षेत्रमा नकारात्मक सन्देश दिन सक्छ,’ बीसीबीका उपाध्यक्ष शाखावत हुसेनले भने।
यस घटनाले बंगलादेश क्रिकेटमा लैङ्गिक सुरक्षा र पेशागत आचारसंहिताबारे गम्भीर प्रश्नहरू उठाएको छ।-रासस/एएफपी



