भारतको बिहारमा विधानसभा निर्वाचन, कोशी प्रदेशका सीमानाका तीन दिन बन्द

विवेक विवश रेग्मी २२ कार्तिक २०८२ १८:४४
2
SHARE
भारतको बिहारमा विधानसभा निर्वाचन, कोशी प्रदेशका सीमानाका तीन दिन बन्द

इटहरी – नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा विधानसभा निर्वाचनका कारण कोशी प्रदेशका विभिन्न सीमा नाका बन्द गरिएको छ।

भारतको बिहारमा विधानसभा निर्वाचन–२०२५ को दोस्रो चरणको मतदान नजिकिएसँगै नेपाल–भारत सीमाको सुरक्षा कडाइ गरिएको हो। यसअन्तर्गत सुनसरी र मोरङ जिल्लाभित्र पर्ने नेपाल–भारतका सीमाना नाकाहरू तीन दिनका लागि बन्द गरिने भएको हो।

विराटनगरको जोगवनी नाका, सुनसरीको भण्टाबारी नाकालगायतका सीमा क्षेत्र तीन दिन बन्द गरिने भएको हो।

सुनसरी र मोरङ प्रशासनले अलग–अलग सूचना जारी गर्दै शनिबार साँझ ६ बजेदेखि कात्तिक २५ गते मंगलबारसम्म सीमा नाकामा आवागमन पूर्ण रूपमा रोक लगाइने जनाएको छ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार भारतीय पक्षको अनुरोधअनुसार निर्वाचन अवधिमा शान्ति–सुरक्षा सुदृढ गर्न ७२ घण्टाका लागि सीमा नाका बन्द गर्ने निर्णय भएको हो।

‘मतदान शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्यले नेपाल–भारत दुवै देशका स्थानीय प्रशासनबीच सहमति भएको छ,’ उनले भने।

यता, सुनसरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा सुनसरीको भण्टाबारी नाकालगायतका नाकाहरू तीन दिनका लागि बन्द रहने उल्लेख छ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठका अनुसार मंगलबार मतदान सकिएर परिस्थिति सामान्य भएपश्चात् मात्र सीमा नाका पुनः खुलाइनेछ। आपतकालीन अवस्थामा आवश्यक सेवा लिएर आवतजावत गर्न प्रहरी प्रशासनसँग समन्वय गर्न सकिने उनले जनाए।

यस अवधिमा सामान्य यात्रा, व्यापारिक गतिविधि तथा मानिसको ओहोर–दोहोर पूर्ण रूपमा रोकिएको हुँदा स्थानीय बासिन्दा तथा व्यवसायीहरूलाई आवश्यक योजना मिलाइसक्न प्रशासनले आग्रह गरेको श्रेष्ठले बताए।

भारतको बिहारमा दोस्रो चरणको मतदान कात्तिक २५ गतेसम्म हुनेछ। सीमा क्षेत्रमा मतदाता, सुरक्षा संयन्त्र तथा निर्वाचन सामग्री आवागमन सहज बनाउने उद्देश्यले सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको बताइन्छ।

बिहारका २० जिल्लाका १२२ विधानसभा क्षेत्रमा दोस्रो चरणमा मतदान हुनेछ। दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचनको नतिजा १४ नोभेम्बरमा चुनावको घोषणा गर्ने आयोगको तयारी गरेको छ।

बिहारलाई लामो समयदेखि भारतको राजनीतिक ‘अग्रदूत’का रूपमा हेरिने गरिएको छ। सन् २०२९ को आम निर्वाचन र त्यसअघि हुने उत्तर प्रदेश, पश्चिम बंगाल तथा असमका राज्य चुनावहरूलाई ध्यानमा राख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा आफ्नो राजनीतिक गति कायम राख्ने प्रयास गरिरहेका छन्। त्यसकारण पनि यो निर्वाचनलाई विशेष रुपमा हेरिएको छ।

प्रकाशित: २२ कार्तिक २०८२ १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast