फुट्यो अशोक राई नेतृत्वको जसपा

हिमाल प्रेस ७ मंसिर २०८२ १८:५१
88
SHARES
फुट्यो अशोक राई नेतृत्वको जसपा

काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट टुक्रिएर राईको नेतृत्वमो बनेको जसपा विभाजित भएको हो।

संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएपछि राई नेतृत्वको जसपा विभाजित हुने निश्चित भएको हो।

जसपा संघीय परिषद अध्यक्ष श्रेष्ठसहित केन्द्रीय उपाध्यक्षद्वय रणध्वज लिम्बू (कन्दङ्वा) र परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणी देवान, केन्द्रीय विज्ञ परिषद अध्यक्ष डा.पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर धजु नेकपामा समाहित हुने भएका छन्।

जसपा अध्यक्ष राईलगायतका नेताहरू पछिल्लो समय नेकपासँग एकता गर्नेगरी निरन्तर संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवादमा थिए। राई नेतृत्वको जसपा र नेकपाबीच मंसिर १० गते एकताको घोषणा गने तयारीसमेत गरिएको थियो। नेता श्रेष्ठले मंसिर १० गते प्रज्ञा प्रतिष्ठानमा पार्टी प्रवेशको कार्यक्रम राखिएको जानकारी दिए।

तर, शनिबार राति जसपा नेता प्रदीप यादव, इस्तियाक राईलगायतका नेताहरू प्रचण्ड नेतृत्वको पार्टीसँग एकता नगर्ने अडान लिएका थिए। यादव तथा राईलगायतका नेताहरूले अडान राखेपछि जसपा अध्यक्ष राई पनि आफ्नो निर्णयबाट पछि हट्दै बाबुराम भट्टराईआवद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीमा जाने निर्णयमा पुगेको बताइएको छ।

अध्यक्ष राईलगायतका नेताहरू प्रगतिशील लोकतान्त्रिक पार्टीसँग एकता गर्ने निधो गरेको जानकारी पाएपछि संघीय परिषद अध्यक्षसहित जसपाका ६ जना नेताहरू मंसिर १० गते नेकपा प्रवेश गर्ने निर्णय गरेका छन्।

‘हामी तपसिलका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ–आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ ६ जना नेताले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ।

जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२÷६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूसमेत खतरामा पर्नसक्ने भएकाले विचारमा सामिप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर /राजनीतिक शक्तिसँग मिलेर प्राप्त उपलब्धिहरूको रक्षा र थप उपलब्धि प्राप्तिका लागि संघर्ष गर्नुपर्ने आफूहरूको धाराणा रहेको वक्तव्यमा उल्लेख छ।

प्रकाशित: ७ मंसिर २०८२ १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast