विवाहपञ्चमीको अवसरमा सेनाले गर्‍यो जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर

हिमाल प्रेस ८ मंसिर २०८२ १७:०५ | Monday, November 24, 2025
10
SHARES
विवाहपञ्चमीको अवसरमा सेनाले गर्‍यो जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर

जनकपुरधाम- जनकपुरधामको धार्मिक, सांस्कृतिक पहिचानको रूपमा रहेका श्रीसीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। मधेश प्रदेशको बर्दिवासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना र सो अन्तर्गतका युनिटहरूको संयोजनमा सोमबारदेखि बुधबारसम्मका लागि बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने साधुसन्तसहित श्रद्धालु र स्थानीयवासीलाई लक्षित गरी जनकपुरधामको ऐतिहासिक बाह्र बिघा रंगभूमि मैदानमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा विभिन्नखाले स्वास्थ्य उपचार र औषधि वितरणसँगै आँखाको मोतीया बिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ।

शिविरमा नेपाली सेनाका चिकित्सक र स्वास्थ्यकर्मीका साथै स्थानीय सरकारी तथा निजी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पनि सहभागिता रहेको छ। नागरिक र सैनिकबीचको सम्बन्ध थप सुधार हुने उद्देश्यसहित सञ्चालित सो निःशुल्क स्वास्थ्य शिविरमा सामाजिक उत्तरदायित्व, जनतेतनामूलक र सेनासँग सम्बन्धित जानकारीमूलक गतिविधिबारे फोटो प्रदर्शनीसहितका स्टलहरू राखिएको छ।

स्वास्थ्य शिविरको मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले उद्घाटन गरे। प्रदेशका मुख्यमन्त्री सरोज यादव समेतले सो शिविरको अवलोकन गरेका छन्।

प्राचीन मिथिलाको पौराणिक, धार्मिक र सांस्कृतिक विरासत साताव्यापी विवाहपञ्चमीको मुख्य आकर्षण मंगलबार आयोजना गरिने स्वयम्वरको अवसरमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने तयारी छ। साथै सैनिक ब्यान्डको विशेष प्रस्तुति प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आयोजना गर्नेछ।

प्रकाशित: ८ मंसिर २०८२ १७:०५ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast