सामयिक चर्चा

विश्वसनीयतासँग गाँसिएको क्षमायाचना

ध्रुवहरि अधिकारी २७ कार्तिक २०८२ १३:३०
18
SHARES
विश्वसनीयतासँग गाँसिएको क्षमायाचना

‘क्षमायाचना सहित भूल सुधार’ भन्ने शीर्षकमुनि अनलाइन खबरले कार्तिक ९ गते प्रकाशित गरेको सूचनामुनिको दुई वाक्यको जानकारी यसरी लेखिएको रहेछः- “खगेन्द्र सुनारसँग सम्बन्धित ‘बहुविवाहमा पनि मुछिएका थिए खगेन्द्र सुनार’ शीर्षकमा कात्तिक ९ गते प्रकाशित समाचारमा उल्लेखित तथ्य त्रुटिपूर्ण रहेको पाइएकोले क्षमायाचनासहित सम्बन्धित समाचार हटाइएको छ। यसबाट सम्बन्धित व्यक्तिलाई परेको असरप्रति माफी चाहन्छौं।–सम्पादक।”

यसबारे सम्पादक वसन्त बस्नेतबाट “यति चाहिँ भन्नैपर्ने भयो” भनेर थप जानकारी पनि आयो जसमा एउटै पालिकामा बसोबास भएका एकै नाम थरका व्यक्ति परेकोले पनि हामीबाट मानवीय त्रुटि हुन गएको हो भनिएको छ। नियतवश गलत सूचना प्रवाह गरिएको थिएन भनेर स्पष्ट पारिएको भेटिन्छ। साथमा प्रतिबद्धता पनि छः– भ्रम र भयबाट त्रसित हुँदैनौं।

‘घोडा चढ्ने लड्छ’ भन्ने लोकोक्ति छ। काम गर्नेबाट गल्ती हुन्छ भन्ने पनि शाश्वत सत्य हो। पत्रकारितालाई हतारमा लेखिने साहित्य भन्ने चलन छ। हतारमा यदाकदा त्रुटि हुन्छन् नै। ‘समाचार’ भनिने सेवालाई सदेैव ताजा राख्नुपर्ने हुनाले यदाकदा तथ्य तल-माथि हुनजान्छ। मुख्य कुरो,प्रकाशित/प्रसारित समाचारमा तथ्यगत त्रुटि भएको देखिनासाथ त्यसलाई सच्याएर प्रस्तुत गर्नुपर्छ,सच्याउनै नमिल्ने गरी त्रुटि भएको रहेछ भने अनलाइनखबरले जस्तै सम्बन्धित समाचार ‘हटाइएको’ जानकारी प्रेक्षासमाज (अ’डियन्स) अर्थात् पाठक-श्रोता-दर्शक मिलेर बनेको समुदायलाई दिनुपर्छ। यथोचित क्षमायाचना गर्नुपर्छ।

जसले गल्ती स्वीकार गरी तुरुन्त सुधार गर्छ उसले सञ्चालन गरेको माध्यमको विश्वसनीयता कायम रहन्छ। भन्नै परेन, जसले आनाकानी गर्छ ऊ घाटामा पर्छ। सभ्य लोकतान्त्रिक समाजको स्वीकृत मान्यता यही हो। यस मान्यतालाई कुनै देशमा कानूनद्वारा व्यवस्थित गरिएको हुन्छ त कतिपय ठाउँमा आचार संहिता बनाई त्यसको परिपालना गराउने अभ्यास गरिन्छ। लोकतन्त्रमा पत्रकारिता पढालेखा नागरिकबाट जिम्मेवार ढङ्‌गले चलाउने सेवामा आधारित पेशा भएकोले यस क्षेत्रलाई कानूनको नत्थी लगाएर हिंडाउनु आवश्यक हुँदैन। साम्यवादी शासनप्रणाली भएका देशको कुरो बेग्लै हो, तिनमा राज्यसंयन्त्रले सञ्चारमाध्यमहरूउपर कडा निगरानी गर्छन् र नियन्त्रणमा राखेका हुन्छन्। नेपालमा कम्युनिष्ट नाम जोडेर खोलिएका पार्टीका नेतागणहरू त्यस्तो व्यवस्थाबारे भलीभाँती परिचित होलान्। त्यसैले यसबारे यहाँ थप व्याख्या गर्नतिर लागिएन।

माफी कोसँग माग्ने ?

फर्कौं क्षमायाचनाको विषयमा। प्रश्न उठ्छ-क्षमाको याचना कोसित गर्ने-समाचारमा चर्चित पात्रसँग कि त्यो समाचार पढ्ने पाठकहरूको ठूलो समूहसँग? अर्को शब्दमा, सम्पादक कसप्रति जिम्मेवार-पाठकहरूप्रति कि एक (वा दुई) व्यक्ति विशेषप्रति?

माथि उल्लेख गरिएको अन्लाइनखबरमा ‘यसबाट सम्बन्धित व्यक्तिलाई परेको असरप्रति माफी चाहन्छौं ‘भन्ने पदावली परेको छ। यसको अर्थ सम्पादकलाई खगेन्द्र सुनारलाई मात्र असर परेको अनुभूति भएछ। अर्थात् त्यो समाचार पढ्ने हजारौं पाठक भ्रमित भएको कुरा गौण देखियो। यसो हुनु हुने होइन। मेरो विचारमा, यस घटनामा सम्पादकले यस्तो आशयको बेहोरा बुझिने गरी लेख्नु मनासिव हुन्थ्योः –हामीबाट प्रवाहित त्यो समाचार त्रुटियुक्त देखिएकोले हटाएका छौं, यसबाट पाठकवर्गलाई पर्नगएको भ्रम र असुविधाको लागि क्षमायाचना गर्दछौं।’ यस्तो शब्दावलीले खगेन्द्र सुनार समेत सबै पाठकहरूले राहत पाउने थिए। सबैको सद्‌भाव पाइन्थ्यो, विश्वास आर्जन गर्न सकिन्थ्यो।

अखबार, अन्लाइन, रेडियो अथवा टेलिभिजन माध्यम जे भए तापनि सबैको लागि प्रेक्षासमाजको विश्वसनीयता नै सर्वाधिक महत्वको बुँदा हो। सामाजिक सञ्जालको कुरो बेग्लै हो जसलाई ग्रामीण बस्तीतिर ओहोरदोहर गर्नेहरूले सुस्ताउन् भनेर बनाइएको चौतारोसँग तुलना गर्न सकिन्छ। त्यहाँ कृषक मात्र होइन अन्य पृष्ठभूमिका मानिसहरू सुस्ताउँदै आफूले सुनेका/जानेका पुष्ट‍-अपुष्ट कुराहरू सुन्छन्, सुनाउँछन्। तिनमा हल्ला र गाइँगुईं मात्र होइन पँधेरामा गरिने गफगाफ पनि समावेश हुन्छन्।

हालै विश्वविख्यात् प्रसारण संस्था बीबीसी यसै सन्दर्भमा चर्चामा आएको छ। भनौं, बीबीसी आफैं समाचार बनेको छ। र, केन्द्रमा रहेको कुरा नै क्षमायाचनासँग सम्बन्धित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीबीसीले आफूसँग माफी मागोस् भन्ने चाहन्छन्। उनले आफूलाई गलत रूपमा प्रस्तुत गरिएको सचित्र-समाचार पनि हटाइयोस् भनेका छन्। भोलि शुक्रवारसम्म आफ्ना माग पूरा नभए कानूनी लडाइँमा जाने धम्की समेत दिएका छन्।

उनको शिकायत बीबीसीको ‘प्यानोरमा’ वृत्तचित्रमा सन् २०२१ जनवरी ६ को आफ्नो भाषणका दुई खण्डलाई एउटैमा जोड्नको लागि सम्पादन गर्नेले नियतवश बङ्‌ग्याएको देखें भन्ने गुनासोको सेरोफेरोमा छ। यसबीच बीबीसी बोर्डका अध्यक्ष समीर शाहले गल्ती स्वीकार गरी संस्थाको तर्फबाट क्षमायाचना गरेका छन्। तर त्यो क्षमायाचना कोसँग गरिएको हो, प्रष्ट छैन। दर्शक/श्रोतासँग कि अमेरिकी राष्ट्रपति ट्रम्पसँग?

यसबीच मुद्दा हाल्ने ट्रम्पको धम्की कसरी र कहाँ कार्यान्वयन हुने हो त्यो विषय अलमलमा छ परेको देखिन्छ। यता ट्रम्प अमेरिकी राज्य फ्लोरिडाका बासिन्दा, उता बीबीसी बेलायतमा रहेको संस्था। लण्डनमा सरकार,संसद् र सडक सबै तातेको अवस्था छ। बुधवार संसद् (हाउस अफ कमन्स) मा प्रधानमन्त्री किएर स्टारमर नै बीबीसीको बचाउमा उत्रेका थिए। उनलाई ‘बलियो र स्वतन्त्र बीबीसी’ प्रति समर्थन जनाएर ट्रम्पलाई प्रत्युत्तर दिनु उपयुक्त लागेको देखियो।

लण्डनका मिडिया-विज्ञ र विश्लेषकहरू भन्छन्ः–जुन बेला प्यानोरमा कार्यक्रमको गल्ती पत्ता लागेको थियो त्यसै बखत क्षमायाचना सहित भूलसुधार गरेको भए बीबीसीले यो भुमरीमा पर्नुपर्ने नै थिएन। उतिखेर निच मारेर बस्दाको फल अहिले भोग्नुपर्ने भएको छ। अब पनि बेलैमा नसुध्रिए १०३ वर्षको इतिहास भएको बीबीसीको अस्तित्व नै संकटमा पर्नसक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast