बिमामा बढ्यो एआई जोखिम

हिमाल प्रेस ७ मंसिर २०८२ १५:२५
6
SHARES
बिमामा बढ्यो एआई जोखिम

तीव्र गतिमा विकास भइरहेको एआई (कृत्रिम बौद्धिकता) प्रविधिका कारण कम्पनीहरूले अर्बौं डलरको दाबी बेहोर्नुपर्ने जोखिम बढेको छ। त्यसैले ठूला बिमा कम्पनीहरूले आफ्नो कर्पोरेट पोलिसीबाट एआई सम्बन्धी जोखिम हटाउन चाहिरहेका छन्।

च्याटबोट, एजेन्टजस्ता एआई टुल प्रयोग गर्ने व्यवसायमा आउन सक्ने जोखिम वा दायित्वलाई आफ्नो बिमा पोलिसीले नसमेट्ने बनाउन एआईजी, ग्रेट अमेरिकन र डब्ल्यूआर बेर्क्लीलगायतका कम्पनीहरूले हालै अमेरिकी नियामकहरूसँग अनुमति मागेका छन्।

कम्पनीहरूले नयाँ प्रविधि छिटोछिटो प्रयोग गर्न थालेका छन्। बिमा कम्पनीहरूले भने यसको जोखिम लिन मानिरहेका छैनन्। एआईले कहिलेकाहीँ नभएको कुरा देखाउने वा आफैँ कुरा बनाउने गर्दा कम्पनीहरूले ठूलो खर्च र बेइज्जती सहनुपरेको उदाहरणहरू देखिएका छन्।

डब्ल्यूआर बेर्क्लीले एआईको ‘साँच्चिकै भएको वा शंका गरिएको प्रयोग’ सँग सम्बन्धित बिमा दाबी गर्न नपाइने नियम प्रस्ताव गरेको छ। यसमा एआई जडान गरिएका वा प्रयोग गरिएका कुनै पनि सामान वा सेवा पर्न सक्छन्। एआईजीले जेनेरेटिभ एआई धेरै क्षेत्रमा फैलिएको प्रविधि भएकाले भविष्यमा यसका कारण समस्या आउने र बिमा दाबी बढ्ने सम्भावना उच्च रहेको जनाएको छ।

एआईजीले एआईसम्बन्धी जोखिम नसमेट्ने प्रस्ताव दर्ता त गरेको छ तर अहिल्यै त्यो लागू गर्ने योजना भने छैन। अनुमति लिइराख्दा आवश्यक परेका बेला लागू गर्न कम्पनीलाई बाटो खुल्ने एआईजीको विश्वास छ। यसबारेमा डब्ल्यू बेर्क्ली र ग्रेट अमेरिकले भने प्रतिक्रिया दिन मानेका छैनन्।

मोसाइकका युरोपका लागि साइबर बिमा प्रमुख डेनिस बर्ट्रामका अनुसार बिमा कम्पनीहरूले एआई मोडलका नतिजाहरूलाई बिमा गर्न अप्रत्यासित र अस्पष्ट मान्न थालेका छन्। उनले फाइनान्सियल टाइम्ससँग भने, ‘यो नबुझिने कालो बाकसजस्तो छ।’

एआई बिमा र लेखापरीक्षण गर्ने स्टार्ट-अप कम्पनीका सहसंस्थापक राजीव दत्तानी भन्छन्, ‘काम बिग्रियो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने बारेमा कसैलाई जानकारी छैन।’

एआईले गरेका ठूलाठूला गल्ती बढिरहेका बेला यी नयाँ कदम चालिएका हुन्। उदाहरणका लागि, सौर्य ऊर्जा कम्पनी वुल्फ रिभर इलेक्ट्रिकले गुगलमाथि मानहानिको मुद्दा दायर गरी ११० मिलियन डलर क्षतिपूर्ति माग्यो। कम्पनीका अनुसार गुगलको एआई ओभरभ्यु फिचरले मिनेसोटाका महान्यायाधिवक्ताले कम्पनीमाथि मुद्दा हालेको भनेर गलत जानकारी दिएको थियो।

गत वर्ष एउटा कानुनी निकायले एयर क्यानाडालाई त्यसको च्याटबोटले गलत तरिकाले घोषणा गरेको छुट लागू गर्न निर्देशन दिएको थियो।

गत वर्ष ठगी गर्नेहरूले एक वरिष्ठ प्रबन्धकको डिजिटल नक्कली प्रतिरूप प्रयोग गरेर भिडियो कन्फ्रेन्सका बेला पैसा ट्रान्सफर गर्न लगाएपछि बेलायतको इन्जिनियरिङ कम्पनी आरुपले २५ मिलियन डलर घाटा बेहोरेको थियो।
एनका साइबर प्रमुख केभिन कालिनिचका अनुसार कुनै कम्पनीले एजेन्टिक एआई प्रयोग गर्‍यो र त्यसले गलत मूल्य वा गलत रिपोर्ट दियो भने बिमा क्षेत्रले एउटा कम्पनीलाई ४०० मिलियनदेखि ५०० मिलियन ‍डलरसम्मको क्षतिपूर्ति दिन सक्छ।
उनले भने, ‘एउटा एआई कम्पनीको गल्तीले १ हजार वा १० हजार ठाउँमा क्षति पुग्यो भने त्यो पैसा बिमा कम्पनीहरूले तिर्न सक्दैनन्। किनभने यो धेरै ठाउँमा एकैपटक फैलिएको ठूलो (प्रणालीगत) जोखिम हो।’

एआईले दिने गलत जानकारी सामान्यतया साइबर बिमाले समेट्न सक्दैन, किनभने साइबर बिमा सुरक्षा उल्लंघनमा मात्र सक्रिय हुन्छ।

ज्युरिख इन्स्योरेन्सका प्रमुख सूचना अधिकारी एरिकसन चानका अनुसार पुरानो प्रविधिमा भएको गल्ती सजिलै पत्ता लाग्थ्यो। उनले भने, ‘एआईको जोखिममा विकासकर्ता, मोडल बनाउने कम्पनी र प्रयोगकर्ता गरी धेरै पक्षहरू जोडिएका हुन्छन्। त्यसैले एआईबाट सिर्जना हुने जोखिमको सम्भावित बजार असर द्रूत गतिमा बढ्न सक्छ।’

कानुनी अस्पष्टता हटाउन केही बिमा कम्पनीहरूले एआई जोखिमसम्बन्धी नियम परिवर्तन गरेका छन्। तर बिमा दलालहरूले ध्यान दिएर रुजु गर्न चेतावनी दिएका छन्। यस्तो परिवर्तनले कतिपय अवस्थामा पहिलेको भन्दा कम बिमा सुरक्षा प्रदान गरेको पाइएको छ।

बिमा कम्पनी क्यूबीईले आफ्नो पोलिसी संशोधनमार्फत युरोपेली संघको एआई ऐन (जुन संसारकै कडा नियम हो) अन्तर्गत लाग्ने जरिबाना र सजायका लागि पनि केही हदसम्म समेट्न सफल भएको छ।

कानुन व्यवसायीहरूले भने एआईका कारण हुने क्षति उल्लेख्य रूपमा बढेपछि बिमाकर्ताहरू दाबी अस्वीकार गर्न अदालतसम्म जाने चिन्ता व्यक्त गरेका छन्। स्ट्युर्ट्स नामक कानुनी फर्मको बिमा विवाद समूहका प्रमुख आरोन मार्करले भने, ‘बिमाकर्ताहरूलाई हामीले यस्तो घटना सम्बोधन गर्नुपर्ने कुरा त कहिल्यै सोचेकै थिएन भन्न बाध्य बनाउने ठूलो प्रणालीगत घटना पर्खनैपर्ला।’

प्रकाशित: ७ मंसिर २०८२ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast