सहिद स्मारक ‘ए’ डिभिजन लिग १२० दिनभित्रमा सुरु गर्ने सहमति

हिमाल प्रेस २६ कार्तिक २०८२ ७:१९
2
SHARE
सहिद स्मारक ‘ए’ डिभिजन लिग १२० दिनभित्रमा सुरु गर्ने सहमति

काठमाडौँ-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मङ्गलबार एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी संघबीच भएको बैठकपछि सहिद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो।

जस अनुसार यसै वर्ष चैतमा ‘ए’ डिभिजन लिग हुने छ। सो छलफलमा एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राई, तीन विभागीय टोली, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र मछिन्द्रका अध्यक्ष अनिल श्रेष्ठ, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोली सहभागी थियो।

मन्त्री बब्लु गुप्ताले एन्फा, खेलाडी र क्लबका प्रतिनिधिको कुरा सुनेपछि ‘ए’ डिभिजन लिग गर्नका लागि मिति प्रस्ताव गर्न एन्फालाई आग्रह गरेका हुन्। उनले भने, ‘अहिले एन्फाले ‘ए’ डिभिजन लिगको मिति प्रस्ताव गर्नुस्। म त्यही मितिमा क्बलसँग प्रस्ताव गर्छु। यसका लागि क्लबसँग बैठक पनि बस्छु।’

त्यसपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले १२० दिनको समयमा ‘ए’ डिभिजन लिग गराउन सकिने बताएका थिए। एन्फाका महासचिव राईले क्लब खेल्न चाहन्छ भने राष्ट्रिय लिग होल्ड गरेर भए पनि ‘ए’ डिभिजन गराउने प्रतिबद्धता व्यक्त गरे।

फुटबल खेलाडी संघका अध्यक्ष लामाले लिग फागुन २१ अघि नै सुरु गर्न उपयुक्त हुने बताए। निर्वाचनअघि नै लिग सुरु गर्‍यो भने खेलाडीको मनोबल उच्च हुन्छ, उनले भने, “त्यसपछि निर्वाचनमा स्थगित गरेर सुचारु गरे पनि खासै फरक पर्दैन।’

अहिलेको लिग होम एन्ड अवेका आधारमा हुने छैन तर एकभन्दा बढी मैदानमा भने खेल गराउने प्रस्ताव छ। प्रस्ताव गरिएको मितिमा लिग गराउनका लागि मन्त्रालयले अब १४ ‘ए’ डिभिजन क्लबसँग छलफल गर्ने छ।

यसअघि एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबिच राष्ट्रिय लिग पुस पहिलो सातादेखि गर्ने सहमति भएको थियो। राष्ट्रिय लिगमा अघिल्लो संस्करणका शीर्ष छ क्लब र जारी एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली गरी १० टोलीबिच प्रतिस्पर्धा गराउने तयारी थियो।

तर यो सहमतिपछि नेपाल फुटबल खेलाडी संघ सडक आन्दोलनमा उत्रिएको थियो। खेलाडी संघले एन्फा मुख्यालयमा धर्ना दिएको थियो भने ‘ए’ डिभिजन लिग गराउनुपर्ने मुख्य माग अघि सारेको थियो। ‘ए’ डिभिजन लिग गर्ने सहमति भएपछि राष्ट्रिय लिग भने पछि गरिने भएको छ।

प्रकाशित: २६ कार्तिक २०८२ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast