काठमाडौँ- नेकपा एमाले फर्केर्की नेतृ रामकुमारी झाँक्रीले नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपाललाई खुलापत्र लेखेकी छन्। पत्रमा उनले नेपाल सधैँ आफूहरूको अभिभावक रहेको बताएकी छन्।
साथै आफूहरूमाथि गरिएको कारबाहीको कुनै अर्थ नभएको पनि उनको भनाइ छ। उनले लेखेकी छिन्, ‘आफ्नै बेइज्जत हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र?’
सहसंयोजक नेपालले बुधबार ६ जना नेतालाई कारबाही गरेका थिए। बुधबार नै एकीकृत समाजवादीसहितका १० वाम दलले पार्टी एकता गरेका थिए।
एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने पार्टीसँग एकता गर्ने भन्ने निर्णयको उल्लघंन गरी भेला तथा पत्रकार सम्मेलन गरेको भन्दै बुधबार घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला, कृष्ण कुमार श्रेष्ठ (किसान) लाई पार्टी सदस्य पनि नरहने गरी कारबाही गरेका थिए।
यसअघि झाँक्री, किसानलगायतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार ओली निवास भक्तपुरको गुन्डु पुगेर भेटेका छन्। झाँक्री, किसानलगायतलाई पार्टीमा स्वागतका लागि आगामी मंसिर २४ गते राष्ट्रिय सभागृह काठमाडौँमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गर्ने एमालेले जनाएको छ।
यस्तो छ झाँक्रीको पत्र
प्रिय कमरेड माधव
अभिवादन!
आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कामरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो । बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।
जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्ति । लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि।
बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना। तपाईं जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैं सम्झने छु।



