फाइल तस्बिर : एफपी
काठमाडौँ- फिलिपिन्समा ‘कालमेगी’ चक्रवातपछि अब ‘फंग वोंग’ चक्रवातको खतरा मडारिएको छ। यो नयाँ चक्रावात त्यहाँको सबैभन्दा ठूलो टापु लुजोनतर्फ बढिरहेको छ।
पहिले नै अत्यन्तै खराब अवस्थाको सामना गरिरहेका फिलिपिन्सका बासिन्दा अब अर्को प्राकृतिक विपत्ति कुरेर बस्नुपर्ने बाध्यता उत्पन्न भएको छ।
फिलिपिन्सको पूर्वी बिकोल क्षेत्र आइतबार बिहान नै यो शक्तिशाली चक्रवातको पहिलो प्रहारमा पर्यो।
फिलिपिन्सको मौसम विभाग पगासाका अनुसार आइतबार रातिसम्म यो चक्रवात लुजोन टापुमा प्रवेश गर्ने अनुमान गरिएको छ। यो क्षेत्र फिलिपिन्सको मुख्य जनसंख्या बसोबास गर्ने क्षेत्र हो।
पगासाका अनुसार ‘फंग वोंग’ को समयमा हावा प्रतिघन्टा १८५ किलोमिटरको वेगले चल्ने र भीषण वर्षा हुने आशंका छ। यो तुफानलाई आधिकारिक रूपमा ‘सुपर टाइफून’ को दर्जा दिइएको छ, जसलाई स्थानीय रुपमा ‘उवान’ नामले चिनिन्छ।
केही दिनअघि मात्रै फिलिपिन्सले शक्तिशाली चक्रवात ‘कागलमेगी’ का कहर भोगिसकेको थियो, जसमा करिब दुई सय जनाको मृत्यु भएको थियो।



