काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले संसद् पुनः स्थापनाका लागि हस्ताक्षर थालेपछि महामन्त्री गगन थापाले भने आगामी फागुन २१ मा निर्वाचन हुने र निर्वाचन सफल बनाउन लाग्नुपर्ने भएका छन्।
‘नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ । यसमा कसैले पनि द्विविधा नराखौँ,’ उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
उक्त निर्वाचनबाटै नयाँ संसद् आउने उनले बताएका छन् । ‘संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,’ उनले भनेका छन् ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि आफूहरूले पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको उनले जानकारी गराए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो,’ उनले लेखेका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा हाल भइरहेको अलमल यो विषयमा नभएको उनले स्पष्ट पारेका छन् । निर्वाचनअघि कांग्रेसको महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो,’ उनले भनेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन ।’



