पौवादुङमाका ५२५ परिवारले पाए जस्तापाताको छानो

हिमाल प्रेस ३ मंसिर २०८२ ७:४३ | Wednesday, November 19, 2025
4
SHARES
पौवादुङमाका ५२५ परिवारले पाए जस्तापाताको छानो

भोजपुर- नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ। गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो ।

गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । गाउँपालिकामा आवेदन दिएका ६९९ घरमध्ये हालसम्म ५२५ परिवारको छानो फेरिसकेको उनले जानकारी दिए।

यस वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उनले जानकारी दिए । यस वर्षका लागि रु एक करोड २० लाख बराबरको बोलपत्र आह्वान भइसकेको छ। हालसम्म छानो फेर्नको लागि गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी रु दुई करोड ५० लाख खर्च गरिसकेको उनले बताए । गाउँपालिकाभित्रका मापदण्डमा परेका मध्येबाट छ वटै वडाका गरिब, विपन्न, ज्येष्ठ, एकल महिला तथा दलित परिवारलाई प्राथमिकतामा राखेर छानो हटाउने काम भइरहेको उनको भनाइ छ।

नागरिकको सबैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरूलाई सहज र सुरक्षित रूपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । केन्द्र सरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटौती भएकाले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

‘नागरिकको सबैभन्दा सुरक्षित स्थान आफ्नो घर हो”, अध्यक्ष राईले भने, ‘आर्थिक अवस्था कमजोर हुँदा कतिपय परिवार वर्षौँबाट चुहिने घरमा बस्दै आएका थिए । ती नागरिकहरूलाई स्थानीय सरकारको अभिभावकत्व प्रदान गर्न निःशुल्क जस्तापाताको छानो दिएका हौँ । नागरिकलाई सुरक्षित आवासको अनुभूति दिलाउने हाम्रो लक्ष्य हो ।”

आगलागीको जोखिम, मनसुनमा हुने चुहावटको समस्या र आगालागिका कारण बर्सेनि हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । यसले नागरिकमा एकरूपतासँगै फुसको छानोको कारण वनमा लागेको आगो बस्तीमा पस्दा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

अभियानअन्तर्गत वडा न १ श्याशिलाका १३१, वडा नं २ तिवारी भञ्याङका ७१, वडा नं ३ च्याङ्ग्रेका १०६, वडा नं ४ बास्तिमका १०४, वडा नं ५ सोनादुम्का १३२ र वडा नं ६ ठूलोदुम्माका १५५ परिवार गरी, ६९९ परिवारले जस्तापाताको छानो पाउनेछन् ।

प्रकाशित: ३ मंसिर २०८२ ७:४३ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast