शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

हिमाल प्रेस ३० कार्तिक २०८२ १६:२९ | Sunday, November 16, 2025
10
SHARES
शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर)- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ। निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको हो। साथै नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्ज क्षेत्र अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ।

अतिक्रमित क्षेत्रमा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापितहरू बसिरहेका छन्। निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले ढक्कामा ६०४, तारापुरमा १५५ र लल्लेरीमा १३ परिवारले अतिक्रमण गरेर बसिरहेको जानकारी दिए। उनका अनुसार नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा भारतीय नागरिकले करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्जको क्षेत्र अतिक्रमण गरेर खेती गर्दै आएका छन्।

सूचना अधिकारी वाग्लेले निकुञ्जको मध्यवर्ती क्षेत्र (कोर एरिया)मा मानवबस्ती बसेकाले वन्यजन्तुको बासस्थानमा असर पुग्ने बताए। ‘कोर एरियामा निकुञ्जबाट विस्थापित भएकाहरू बस्दै आएका छन्, यसले वन्यजन्तुको बासस्थानमा समस्या हुन्छ,’ उनले भने, ‘यहाँ बस्नेहरूले पनि न्यूनतम सेवासुविधा पाउन सक्दैनन्। सोहीकारणले कोर एरियामा बस्ती हुँदा दुवै पक्षलाई असर परेको छ।’

निकुञ्जबाट विस्थापितको समस्या समाधान हुन नसक्दा निकुञ्जको कोर एरिया अतिक्रमणमा परेको वाग्लेको भनाइ छ। हालसम्म ३३ वटा आयोग बने पनि आरक्ष विस्थापितको समस्या समाधान हुन नसकेको उनले बताए।

नेपाल–भारत सिमानाको पिल्लर नं २८ र २७ बीचको निकुञ्ज क्षेत्रमासमेत अतिक्रमण भएको छ। सिमानामा मुख्य पिल्लरको बीचमा सबपिल्लर नभएकाले उक्त क्षेत्र विवादित बनेको सूचना अधिकारी वाग्लेले उल्लेख गरे।

‘उक्त क्षेत्रमा भारतीय नागरिकले खेतीपाती गर्दै आएका छन्, त्यो क्षेत्रमा हाम्रो पनि दाबी छ,’ उनले भने, ‘गत जेठमा पिल्लर नं २८ नजिक नेपाली सेना र निकुञ्ज कार्यालयले संयुक्त रूपमा पोष्ट स्थापना गरेका छौँ।’ भारतीय पक्षले अतिक्रमण गरेर खेतीपाती गरिरहेका क्षेत्रमा सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको उनले जानकारी दिए।

सूचना अधिकारी वाग्लेका अनुसार अहिले निकुञ्जको सुरक्षामा राष्ट्रिय निकुञ्जका विभिन्न स्थानमा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका १५ वटा संयुक्त सुरक्षा पोष्ट छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट सेना खटिएका छन्।

२०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) को पूर्वी क्षेत्र विस्तार गर्ने क्रममा विस्थापित भएकाहरू निकुञ्जको विभिन्न स्थानमा अतिक्रमण गरेर बसेकाले मानव–वन्यजन्तु द्वन्द्वसमेत बढ्दै गएको छ। यहाँ एक दशकमा जंगली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ। रासस

प्रकाशित: ३० कार्तिक २०८२ १६:२९ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast