मन्दिर प्रवर्द्धन र पूर्वाधार विकासका निम्ति साढे दुई करोड सङ्कलन

हिमाल प्रेस २० कार्तिक २०८२ ७:२४
4
SHARES
मन्दिर प्रवर्द्धन र पूर्वाधार विकासका निम्ति साढे दुई करोड सङ्कलन

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान संकलन भएको छ ।

महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले मन्दिरको विकास, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको महायज्ञबाट रु दुई करोड ५० लाख संकलन गरिएको जानकारी दिए। यही कात्तिक ८ देखि १५ गतेसम्म भएको महायज्ञ अवधिभर तीन परिवार र एक संस्थाले पाँच लाखभन्दा धेरै दान दिएका उनले बताए ।

छिम्केश्वरी पर्यटन विकास समितिले संकलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार र बाटो तथा पार्किङ निर्माणमा प्रयोग गर्ने जनाएको छ । समितिले मन्दिर क्षेत्र संरक्षण, फूल तालिम केन्द्र स्थापना, भक्तजन आवागमन सहज बनाउने, विश्रामगृह निर्माण र सरसफाइ सुदृढीकरणलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ ।

महायज्ञमा प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन दिएका थिए । समुद्र सतहदेखि दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

धार्मिक विश्वासअनुसार गोरखाको मनकामना माईकी दिदीका रूपमा यहाँको छिम्केश्वरी र बूढीमाईलाई चिन्ने गरिएको छ । यहाँ गरिने पूजा तथा दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । महायज्ञ आँबुखैरेनी गाउँपालिका–३ अमिलीबोटे (हाटबजार) मा आयोजना गरिएको थियो ।

प्रकाशित: २० कार्तिक २०८२ ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast