निर्वाचनअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले बुझाए ज्ञापनपत्र

हिमाल प्रेस २८ कार्तिक २०८२ १४:०० | Friday, November 14, 2025
10
SHARES
निर्वाचनअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले बुझाए ज्ञापनपत्र

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षमा रहेका २५ जना केन्द्रीय सदस्यले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन गर्न माग गरेका छन्। उनीहरूले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाउँदै महाधिवेशनलाई आगामी निर्वाचनको तयारीसँग जोड्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन्।

१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहमा रहेका यी नेताहरूले फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन १५औँ महाधिवेशन मंसिर १५ भित्र नै सुरु हुनुपर्ने बताएका छन्।

ज्ञापनपत्रमा भनिएको छ,‘आसन्न २०८२ फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउन पार्टी विधानअनुसार १५औँ महाधिवेशन मंसिरभित्रै प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरी लागू गर्नुपर्छ।’

नेताहरूले महाधिवेशनको पहिलो चरणका रूपमा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम समय सीमा तोकेर छिटो टुंग्याउनुपर्ने माग गरेका छन्।

यससँगै युवाको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित हुने गरी पार्टी विधान संशोधन गर्नुपर्ने, आन्तरिम निर्वाचन समितिलाई तत्काल पूर्णता दिनुपर्ने र १५औँ महाधिवेशनमा युवा, महिला, दलित, आदिवासी जनजाति, थारू, मधेशी, मुस्लिम, पिछडिएका क्षेत्रका नागरिक तथा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने जस्ता विषयहरू पनि समावेश छन्।

ज्ञापनपत्रमा स्थानीयदेखि संघीय तहसम्मका निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार युवालाई पनि उम्मेदवार बनाउनुपर्ने माग गरिएको छ। त्यसैगरी संविधान संशोधनका विषयमा पार्टीभित्र वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई धारणा निर्माण गर्न नेतृत्वलाई सुझाव दिइएको छ।

प्रकाशित: २८ कार्तिक २०८२ १४:०० | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast