वीरगञ्ज भन्सारमा ६ वर्षदेखि अलपत्र छन् १८५ मालवाहक कन्टेनर

हिमाल प्रेस २८ कार्तिक २०८२ १५:३७ | Friday, November 14, 2025
10
SHARES
वीरगञ्ज भन्सारमा ६ वर्षदेखि अलपत्र छन् १८५ मालवाहक कन्टेनर

वीरगञ्ज (पर्सा)- वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन्।

कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका ती मालवाहक कन्टेनर अहिले पनि वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा बेवारिसे अवस्थामा रहेका छन्। आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेर सुक्खा बन्दरगाहमा मालवाहक कन्टेनर भित्र्याए पनि भन्सार जाँचपासको प्रक्रिया अघि नबढाउँदा ती मालवस्तुसहितका कन्टेनर अहिले पनि बन्दरगाहमा थुप्रिरहेका छन्।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले २०७६ सालमा आयात गरिएका मालवाहक कन्टेनरमध्ये अहिले पनि १८५ वटा अलपत्र हुँदै आइरहेको जानकारी दिए। ‘त्यो बेला २२० कन्टेनर आएका थिए, जसमध्ये तीनवटा कन्टेनरको आवश्यक कानुनी प्रक्रिया पूरा गरी फिर्ता भइसकेका छन्,’ उनले भने, ‘तीमध्ये थप १४ कन्टेनर खाली भएर कानुनी प्रक्रिया पूरा हुने चरणमा पुगेको छ भने बाँकी रहेका कन्टेनर कसरी व्यवस्थापन गर्ने विषयमा आवश्यक परामर्श गरिरहेका छौँ।’

ज्ञवालीले ती मालवाहक कन्टेनर ल्याउने व्यक्ति वा आयातकर्ताको पहिचान गर्न नसक्दा पनि सुक्खा बन्दरगाहमा अलपत्र हुँदै आइरहेको बताए। ‘अहिले पनि १८५ मालवाहक कन्टेनर मुचुल्का उठाएर सिलबन्दी गरेर राखेका छौँ’, उनले भने, ‘यो कन्टेनर खाली गरेर व्यवस्थापन गर्नका लामो कानुनी प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले पनि धेरै समय लागिरहेको छ।’

सिलबन्दी गरिएका कन्टेनरमध्ये ९० वटामा केराउ, ६१ वटामा छोकडा, १० वटामा पोस्ता दाना, नौ वटामा सुपारी, सात वटामा फुड सप्लिमेन्ट (आहार पूरक) र दुई कन्टेनरमा मसुरो दाल रहेको छ। भन्सार कार्यालयका अनुसार सिलबन्दी कन्टेनरमध्ये केहीमा चना, ओखर, उडन टुथब्रस, बफेल्लो हर्न, मुंग दाल र डियो स्प्रेलगायत राखिएका कन्टेनर पनि रहेका छन्।

प्रमुख भन्सार प्रशासक ज्ञवालीले सुक्खा बन्दरगाहमा रहेका नष्ट गर्नुपर्ने मालवाहक कन्टेनरको विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग लगायतका निकायसँग समन्वय भइरहेको पनि बताए। ‘विगतमा कन्टेनरको मालवस्तु हेरेर ल्याब ‘टेष्ट’ गर्नका लागि पठाइएको थियो’, उनले भने, ‘छ वर्षअघि ल्याब टेष्ट गर्दा राम्रो देखिएको वस्तु तथा सामान अहिले बिग्रिएको पनि हुन सक्छन्, त्यसैले पनि नष्ट गर्नुपर्ने सामानको विषयमा फेरि ल्याब टेष्ट गर्नुपर्ने वा नपर्ने विषयमा पनि आवश्यक समन्वय भइरहेको छ।’ रासस

प्रकाशित: २८ कार्तिक २०८२ १५:३७ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast