कैलाली- आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको छ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले गत असोज १० गतेदेखि आजसम्म एक हजार ८४४ नयाँ मतदाता थपिएको जानकारी दिए। यही असोज १० गतेदेखि कार्यालयले मतदाता नामावली संकलन सुरु गरेको हो।
उनले भने, ‘दैनिक एक सयदेखि १२० जनासम्मले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराइरहेका छन्, नाम समावेश गराउनेमध्ये झण्डै ६५ प्रतिशत किशोर एवं युवा छन्।’
यस अवधिमा ३३० मतदाताले ठाउँ सारीका लागि निवेदन दिएको कार्यालयले जनाएको छ। प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा पछिल्लो निर्वाचनमा क्षेत्र नं १, २ र ३ बाट नागरिक उन्मुक्ति पार्टीका र क्षेत्र नं ४ र ५ बाट नेपाली कांग्रेसका उम्मेवार विजयी भएका थिए।
उक्त निर्वाचनमा जिल्लाभरि पाँच लाख ३४ हजार ८६४ मतदाता थिए। सरकारले अध्यादेशमार्फत मतदाता नामावली ऐन संशोधन गरेपछि मतदाता नामावली संकलन सुरु गरिएको हो। यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन अवधि तोकिएको छ।



