प्रतिनिधिमूलक तस्बिर।
झापा- जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुंगा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि सांघातिक आक्रमणका घटना भएका थिए । सो घटनाको सिसिटिभी फुटेज, भिडियो र फोटोको अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा विर्तामोड-५ का ४५ वर्षीय नवराज राई, सोही वडाका २२ वर्षीय राजन चौधरी, सोही वडाका २० वर्षीय आयूष धिमाल, कनकाई-१ का ४२ वर्षीय गोपाल संग्रौला, कनकाई-३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी-१० का २५ वर्षीय कुशल तिम्सिना, सोही वडाका ३१ वर्षीय सञ्जय बस्नेत, विर्तामोड-५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा-७ का २८ वर्षीय सुरज राई छन्।
यसैगरी, दमक-३ का १९ वर्षीय रियाज सिलवाल, इलामको चुलाचुली-३ का २२ वर्षीय नकुल अधिकारी र पाँचथर मिक्लाजुङ-५ घर भई हाल दमक-१ मा बसोबास गर्दै आएका २२ वर्षीय साजन ल्हागुन समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।



