सिरहामा कुटपिटबाट एक महिलाको मृत्यु

हिमाल प्रेस ११ कार्तिक २०८२ १८:५९ | Tuesday, October 28, 2025
सिरहामा कुटपिटबाट एक महिलाको मृत्यु

सिरहा- लहान नगरपालिका-५ खुट्टीखोला नजिकै पर्तीटोलमा कुटपिटका कारण एक महिलाको ज्यान गएको छ।

मंगलबार बिहान कुटपिटबाट घाइते स्थानीय मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनको मृत्यु भएको हो। कुटपिटबाट घाइते भएकी उनलाई स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। उनका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक नुरजहाँ खातुनले खुट्टी खोलाको किनारमा छठ पूजाको घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आएकी थिइन्। आज एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै उनले युवकका हजुरबालाई गुनासो गरेको र त्यसपछि ‘मेरो नातीलाई चोरको आरोप लगाउने’ भन्दै परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेको स्थानीयले जनाएका छन्।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ११ कार्तिक २०८२ १८:५९ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast