रास्वपामा ‘रविको ठाउँमा कुलमान’ र बालेनको ‘समर्थन’ को वास्तविकता के हो?

हिमाल प्रेस २४ असोज २०८२ ५:५७ | Friday, October 10, 2025
रास्वपामा ‘रविको ठाउँमा कुलमान’ र बालेनको ‘समर्थन’ को वास्तविकता के हो?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपक बोहराले पार्टी नेतृत्व परिवर्तनबारे सामाजिक सञ्जालमा चलेको चर्चाको खण्डन गर्दै पार्टीभित्र र बाहिरबाट झेल्ली नगर्न आग्रह गरेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा ‘काठमाडौँका मेयर बालेन शाहको समर्थन रास्वपालाई’ र ‘रवि लामिछानेको ठाउँमा कुलमान घिसिङलाई सभापति बनाउने तयारी’ भन्दै भाइरल भएका पोस्टहरूप्रति लक्षित गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत बोहराले पार्टीमा आधिकारिक प्रवक्ता र पदाधिकारी हुँदाहुँदै कसैलाई जानकारी नदिई ‘मिडिया ट्रायल’ गरिएकोमा आपत्ति जनाएका हुन्।

‘पार्टीमा पदाधिकारी छन्। प्रवक्ता र सहप्रवक्ता छन्। कसैलाई एक वचन नसोधी सीधै मिडिया ट्रायल गर्दिने ?’ उनले प्रश्न गरे।

नेता बोहराले नयाँ राजनीतिक शक्तिहरूसँग संवाद भइरहेको स्वीकार गरे पनि कुनै पद वा भूमिकाबारे छलफल नभएको स्पष्ट पारे।

‘निकै अघिदेखि नै सीके राउतदेखि गोपी हमाललगायत विभिन्न नयाँ राजनीतिक शक्ति, समूह, व्यक्तिहरूसँग छलफल भइरहेको छ। बालेन र कुलमानहरूसँग त पार्टी खोल्नु अगाडिदेखि नै संवादमा छौं,’ उनले लेखेका छन्, ‘तर, कुनै व्यक्ति या दलसँग कुनै पद वा भूमिकाबारे संवाद भएको छैन। समाचार बन्ने भए तथ्य यही हो। बाँकी कथा-कहानी जोड्नु पर्दैन।’

उनले जेनजी आन्दोलनपछि नयाँ शक्तिहरूसँग छलफल गर्न पार्टीले कार्यदल नै बनाएर काम अघि बढाएको समेत बताए।

पार्टी सभापति रवि लामिछानेले विभिन्न मुद्दा खेपिरहेको र एक्लै संघर्ष गरिरहेको बताउँदै यस्ता हल्ला चलाएर समस्या सिर्जना नगर्न उनले आग्रह गरे।

‘सभापति झुठो मुद्दा खेपेर एक्लै पुरानादेखि नयाँसम्मका सँग लडिरहेका बेलामा भित्र र बाहिरबाट झेल्ली नगरौं ल !’ बोहराले भनेका छन्।

प्रकाशित: २४ असोज २०८२ ५:५७ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast