सचिवालय विस्तार होइन, पार्टी पुनर्गठन चाहिएको हो : डा.तोसिमा कार्की

हिमाल प्रेस २ कार्तिक २०८२ १०:१३ | Sunday, October 19, 2025
सचिवालय विस्तार होइन, पार्टी पुनर्गठन चाहिएको हो : डा.तोसिमा कार्की

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ डा.तोसिमा कार्कीले पार्टीभित्र देखिएको निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाएकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टीमा उठिरहेको रिफर्मेसन (सुधार) एजेन्डा कार्यकारी नेतृत्वको पुनर्गठन र शैली सुधारमा केन्द्रित हुनुपर्ने बताएकी छन्।

उनका अनुसार पार्टीले महाअधिवेशनबारे निर्णय गर्न दुई साताभित्र विस्तारित बैठक बोलाए पनि त्यसअघि नै सचिवालय विस्तार गरिएको कदम रिफर्मेसनको मर्म विपरीत छ। ‘पार्टीमा रिफर्मेसनको एजेन्डा उठिरहेको थियो। त्यसैका लागि विस्तारित बैठक तोकिएको थियो। तर महाअधिवेशन कहिले गर्ने भन्ने निर्णयको लागी दुई हप्तामा हुने बैठक नकुरी सचिवालय विस्तार गरियो,’ उनले लेखेकी छन्।

डा.कार्कीले भनिन्, ‘हामीले खोजेको रिफर्मेसन यो होइन कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो।’  उनले पार्टीमा अझ बढी लोकतान्त्रिक अभ्यासको आवश्यकता औंल्याउँदै कार्यशैली सुधार र संगठनका सबै तहमा अपनत्वको भावना बढाउनुपर्ने बताइन्। ‘हामी थप लोकतान्त्रिक हुन जरुरी छ, कार्यशैली सच्याउन जरुरी छ,’ उनले लेखिन्।

विस्तारित बैठकमा संगठनको बृहत् सहभागिता र मताधिकार सुनिश्चित गर्न माग गर्दै उनले भनिन्, ‘देशभरिबाट चितवनसम्म बोलाएर, समय, पैसा र श्रम खर्च गरेर पनि निर्णयको अधिकार नदिने हो भने त्यस बैठकको औचित्य रहँदैन।’

प्रकाशित: २ कार्तिक २०८२ १०:१३ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast