प्रजातान्त्रिक पद्धतिबाट अलग हुँदैनौँ, यथास्थितिमा निर्वाचनले समाधान दिँदैन : राप्रपा

हिमाल प्रेस १३ कार्तिक २०८२ ७:३५
प्रजातान्त्रिक पद्धतिबाट अलग हुँदैनौँ, यथास्थितिमा निर्वाचनले समाधान दिँदैन : राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधन र सुशासनसंग सम्बन्धित विषयहरूलाई सम्बोधन गरेर मात्र निर्वाचन जान सुझाव दिएको छ। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको जेनजीसहितको छलफलमा राप्रपाले दलको तर्फबाट विद्रोह अधुरो रहँदा पूर्ण विद्रोहको सम्भावना जीवित रहने सम्भावना देखाएको हो।

बैठकमा राप्रपाको तर्फबाट महामन्त्री राजेन्द्र गुरूङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी थिए।

‘यही संविधान र प्रणालीबाट जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव नहुने भएकाले राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्छ,’ बैठकमा राखेको धारणा सुनाउँदै प्रवक्ता श्रेष्ठले भने।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरे बमोजिमको राजनीतिक धारणा सरकार, राजनीतिक दल र जेनजीहरू सम्मिलित बालुवाटार बैठकमा औपचारिक रूपमा प्रवेश गराइएको उनले बताए।

विगतको त्रुटिपूर्ण मार्गचित्रका कारण देशमा आजको अवस्था सिर्जना भएको राप्रपाले बताएको उनले सुनाए।

‘यो अवस्थामा सुधार नगरी पुरानो मार्गचित्रकै निरन्तरताले फेरि पनि गलत ठाउँमै पुगिने अवश्यभावी छ। इतिहासले दिएको यो अवसरलाई कोर्स करेक्सनको अवसरको रुपमा सदुपयोग गर्न सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराइएको छ,’ उनले भने।

प्रधानमन्त्री सुशीला कार्कीलाई इतिहासले दिएको ‘कोर्स करेक्सन’को यो अवसरलाई आवश्यक पहलकदमी लिन र इतिहासले सदा सम्मानपूर्वक सम्झने पात्रको रूपमा दर्ज हुन आग्रह गरिएको पनि उनले बताए।

निर्वाचन जस्तो प्रजातान्त्रिक पद्धतिबाट राप्रपा अलग नहुने तर यथास्थितिमा हुने निर्वाचनले समाधान दिँदैन भन्ने राप्रपाको धारणा रहेको उनले बताए।

‘राप्रपाले उठाउदै आएको राजनीतिक, सामाजिक र सुशासनसंग सम्बन्धित विषयलाई बुँदागत रूपमा राखिएको छ। जेनजीका कतिपय फरक फरक धारणाहरुलाई संश्लेषण गरी जेनजी विद्रोहको स्पिरिटसंग एकरुपता कायम गर्न आग्रह गरिएको छ,’ उनले भने।

प्रकाशित: १३ कार्तिक २०८२ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast